© 2026
नेपालमा हामी नेपालीहरूले बैशाख १ गतेदेखि नयाँ वर्षलाई पर्वको रूपमा मनाउँछौं । यसै दिनबाट हाम्रा चाडपर्वहरू मनाउन आरम्भ हुन्छ । प्रायः गरेर हरेक महिनाजसो कुनै न कुनै पर्व पर्ने गर्दछन् ।
नेपाल वहुजातीय, वहु भाषिय र वहु धार्मिक परम्परा रहेको मुलुकको रूपमा चिनिन्छ । कतिपय हाम्रा पर्वहरू साझा हुने गर्छन् भने कतिपय पर्वहरू आफ्नो धर्मको आस्थाका आधारमा मनाउने खालका हुन्छन् । हाम्रा साझा पर्वमा हामी साझा ढंगबाट प्रस्तुत हुन्छौं भने धर्मको आधारमा मनाइने पर्वहरूमा सहिष्णु भएर मनाउने गर्दछौं । यो हाम्रो पर्व मनाउने भित्रको परम्परा नै हो ।
जसरी विगतका दिनहरूमा पर्व मनाइयो भोलीका दिनमा पनि यसैगरि मनाउँदै जानुपर्दछ । नेपालमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । यो पर्व आम नेपालीको साझा पर्व हो । यसैगरेर बैशाख कृष्ण आमावश्य तिथिका दिन मातृदिवस मनाइन्छ । यस दिनलाई मातातीर्थ औंशी समेत भन्ने गरिन्छ । बैशाखे पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
बुद्ध जयन्ती स्वदेशमा मात्र नभएर विदेशमा समेत यसै दिन मनाउने गरिन्छ । ज्येष्ठ शुक्ल षष्ठी तिथिको दिनमा सिठी पर्व मनाइन्छ । कसै कसैले यसैदिन कुलपूजा समेत गर्ने गर्दछन् । ज्येष्ठ शुक्ल पक्षको दशमी तिथिका दिनमा गंगा दशहरा पर्व मनाउने गरिन्छ । आषाढ शुक्ल पूर्णिमा तिथिका दिनमा गुरुm पूर्णिमा मनाइन्छ ।
यस दिनलाई आचार्य दिवस र व्यास जयन्तीको रूपमा मनाइन्छ । यस पर्वमा हरेक धर्मावलम्वीहरूले आफ्नो गुरुको सम्मान गर्ने दिन भएकाले जसले जहाँ जसरी मनाउँदा पनि सुहाउने हुन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन नागको पूजागर्ने गरिन्छ । यसै दिनलाई नागपञ्चमी समेत भनिन्छ । यसैगरी श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ ।
यस दिनलाई कर्म, ज्ञान, स्नेहको समन्वयको पर्वको रूपमा लिने गरिन्छ । यस दिनमा तागाधारीहरूले नयाँ यज्ञोपवित धारणगर्ने गर्दछन् । अरूहरूले राखी बाँध्ने समेत गर्दछन् । यसकारणले होला– यस दिनलाई रक्षावन्धन समेत भन्ने गर्छन् ।
यसको अर्को नाम भनेको ऋषितपर्णी हो । यसदिनलाई क्वाँटी खाने दिनको रूपमा लिइन्छ । जनै पूर्णिमाको दोस्रो दिन अर्थात श्रावण शुक्ल प्रतिपदाका दिन गाइजात्रा पर्व मनाउने गरिन्छ । यस दिनलाई हास्य व्यंग्य पर्व पनि भन्ने गरिन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन कृष्णजन्माष्टमी पर्व मनाइन्छ ।
यस दिन कृष्णको महान कार्यको स्मरण गरिन्छ र कृष्णको पूजाआजा गर्ने गरिन्छ । यसदिनलाई कृष्णाष्टमी साथै कृण जन्माष्टमी पनि भनिन्छ । जसरी पुकारे पनि यो एउटै पर्व हो । भाद्र कृष्णऔंशी तिथिका दिन कुशेऔंशी पर्व पर्दछ । यस दिनलाई गोकर्ण औशी र पितृसम्मान दिवसरुको रूपमा लिइन्छ । कृष्णऔशीको दिनमा कुश छेदन गरेर घर घरमा राख्ने गरिन्छ ।
जसलाई विभिन्न कार्यका निम्ति वर्षभरी प्रयोग गर्न सकिन्छ भन्ने भनाइ रहेको छ । हिन्दू धर्मावलम्वीहरूले यसै दिन आफ्ना दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्ने गर्दछन् । यसदिन काठमाडौको गोकर्णमा ठूलो मेला लाग्ने र यसै स्थानमा पितृश्राद्ध गर्ने भएकाले कसैकसैले गोकर्णे औशी समेत भन्ने गर्दछन् । भाद्रशुक्ल तृतीय तिथिका दिनमा तीज अर्थात हरितालिका पर्व मनाउने गरिन्छ ।
यसको अघिल्लो दिन दर खाने प्रचलन छ । यो पर्व विशेष गरेर महिलाहरूले मनाउने गर्नुहुन्छ । यसै दिनमा नाचगान तथा पूजाआजा गरेर मनाउने गरिन्छ । यसै पक्षको पञ्चमी तिथिका दिन विवाहित महिलाहरूले पञ्चमी पर्व मनाउने गर्नुहुन्छ । यस दिनलाई ऋषिपञ्चमी समेत भन्ने गरिन्छ । यसै दिनमा पञ्चमी पूजा गर्नुको साथै नाचगान समेत गर्ने गरिन्छ । यसै भाद्र महिनामा नेपालको पश्चिम भागमा गौरापर्व मनाउने गरिन्छ ।
असोज महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिनबाट दशैं पर्व आरम्भ हुन्छ आरम्भको दिनलाई घटस्थापना भन्ने गरिन्छ । यसै पक्षको दशमी तिथिका दिन दशैंको मुख्य दिन मानिन्छ । यसै दिनमा मान्यजनबाट टीका थाप्ने गरिन्छ । यो पर्व कोजाग्रग पूर्णिमा तिथिसम्म रहन्छ । हिन्दू धर्मावलम्विहरूको सबै भन्दा ठूलो चाडको रूपमा दशैंलाई मान्ने गरिन्छ ।
यस पर्वमा विभिन्न शक्ति पीठहरूमा पूजा अर्चना गर्ने परम्परा रहेको छ । कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिका दिनबाट आरम्भ भएर शुक्ल पक्षको प्रतिपदा र द्वितीया तिथिसम्म रहने पर्वको नाम हो तिहार । यस पर्वमा जताकतै झिलिमिली पारिने हुनाले उज्यालो पर्व अर्थाथ दीपावली समेत भन्ने गरिन्छ ।
यसै पर्वमा दाजु भाइले आफ्ना दिदी बहिनीहरूबाट टीका प्रसाद ग्रहण गर्ने र आफूले पनि दिदी बहिनीहरूलाई टीका प्रदान गर्ने गर्दछन् । यस पर्वमा द्यौंसी तथा भैलो समेत खेल्ने गरिन्छ । कार्तिक शुक्लपक्षको प्रतिपदा तिथिका दिन म्हपूजागर्ने गरिन्छ । यो पर्व विशेष गरेर काठमाडौ उपत्यकामा नेवार समुदायमा अन्यको तुलनामा बढता मनाउने गरेको पाइन्छ ।
म्हपूजाको अर्थ हो आत्मपूजा आफ्नो पूजा । हामीले अन्य पर्वहरूमा अरूहरूको पूजागर्ने गर्दछौं तर म्हपूजाको अवसरमा आफ्नो पूजागर्नेपरंपरा पाइन्छ । कातर््िाक शुक्लपक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ । यस पर्वमा निराहार वर्त बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर नाचगान गरेर मनाउने गरिन्छ ।
पहिलेका दिनहरूमा यो पर्व नेपालको तराइ क्षेत्रमा मनाउने गरिए पनि आजभोली यसको व्यापकता बढेर आएको छ । नेपालका विभिन्न भागमा मनाउने गरेका समाचारहरू आउने गर्दछन् । इस्लाम धर्मावलम्विहरूको महान चाड इद हो । यो पर्व सद्भाव, परोपकार र सद्भावको रूपमा लिने गरिन्छ । इदको पुरा नाम इद– उल– फितर हो ।
यसलाई संक्षेपमा इदुलफितर पनि भन्ने गरिन्छ । इद पर्व कहिले जाडो महिनामा पर्छ भने कहिले गर्मी महिनामा पर्नसक्छ । हिन्दूहरूले मनाउने चाड प्रायः तोकिएको तिथिमा हुने गर्दछन् भने इस्लाम धर्मामा मनाइने इद पर्व त्यसरी तोकिएको तिथिमा पर्ने गरको पाइदैन । यसैगरेर इस्लाम धर्मावलम्वीहरूको अर्को महान पर्व हो बकरिद ।
यस पर्वलाई इदल जुहा पनि भन्ने गरिन्छ । कार्तिक महिनाको पूर्णिमा तिथिका दिन शिख धर्मावलम्वीहरूको महान पर्व पर्दछ । यस दिनलाई गुरु नानक जयन्ति भन्ने गरिन्छ । यस दिनलाई शिख धर्मावलम्विहर गुरुपूर्णिमा समेत भन्ने गर्छन ।
किराँत समुदायले मनाउने महान चाड न्वागी अर्थात उँधौली पर्व हो । यो पर्व मंसिर पूर्णिमाको दिनमा मनाइन्छ । यस अवसरमा विभिन्न जात जाति तथा हिन्दु धर्मावलम्विहरूले कुलपूजा समेत गर्ने गर्दछन् । यसैदिन नयाँ अन्न देवतालाई अर्पण गर्ने गरिन्छ । सद्भाव र सेवाभावको प्रेरणादायी उत्सव हो क्रिसमस डे ।
यो पर्व इस्वी सम्वतको डिसेम्वर महिनाको २५ तारेखका दिन पर्दछ । नेपालको हिमाली भेगमा बस्ने विभिन्न जात जातिहरूले मनाउने पर्वको नाम हो ल्होसार । यस पर्वलाई नयाँ वर्षको रूपमा लिने गरिन्छ । माघ १ गतेका दिन नेपालका खासगरी थारु जातिहरूले माघी पर्व मनाउने गर्छन । उनीहरूको लागि माघीपर्व नयाँ वर्ष नै हो ।
माघ महिनामा पर्ने सहिद दिवस नेपालीहरूका लागि प्रेरणाको स्रोतको रूपमा रहेको छ । माघमा पर्ने बसन्त पञ्चमी, शिवारात्री, चैते दशैं (रामनवमी) लगायतका पर्वहरूले हामीलाई वर्षभरी उल्लास थप्ने गरेको पाइन्छ । यसरी हेर्दा हाम्रा सबै पर्वले हामी नेपालीको मनलाई जोडने अवसर दिएका छन् सहजै भन्न सकिन्छ । भविष्यमा पनि हाम्रा पर्वले हाम्रा मनहरू जोडिरहुन ।