Butwal Today

चुनौती बन्दै प्रतिशोधजन्य घटना

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

प्रतिशोध अपराधको मुख्य कारकका रूपमा देखिएको छ । कुनै पनि नाममा प्रतिशोध साँध्ने प्रवृत्तिले अपराधीकरणलाई मलजल गरिरहेको छ । समाजमा असहमति, विवाद र द्वन्द्व हुनु अस्वाभाविक होइन तर असहमतिको जवाफ प्रतिशोधबाट दिन थालियो भने त्यसले व्यक्ति मात्र होइन, सिंगो समाजको शान्ति, कानुनी शासन र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने कुरामा दुई मत छैन ।

पछिल्लो समय प्रतिशोधजन्य घटना बढिरहेको छ र त्यो गम्भीर चिन्ताको विषय बनेको छ । कुनै व्यक्ति, समूह वा संस्थामाथि भएको अन्यायको समाधान कानुन र स्थापित प्रक्रियाबाटै खोजिनुपर्छ ।

आफूलाई अन्याय परेको भन्दै आफैँ फैसला गर्ने, आक्रमण गर्ने, तोडफोड गर्ने वा बदला लिने प्रवृत्तिले न्याय स्थापित गर्दैन; बरु अर्को अन्याय जन्माउँछ । राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु हो । प्रतिशोधका नाममा हुने हिंसा, धम्की, आगजनी, तोडफोड तथा व्यक्तिगत वा सामूहिक आक्रमणलाई कुनै पनि बहानामा छुट दिनु हुँदैन ।

यसका लागि सुरक्षा निकायले घटनापछि मात्र प्रतिक्रिया दिने होइन, सम्भावित द्वन्द्व र प्रतिशोधका सङ्केतलाई समयमै पहिचान गरी रोकथाममा जोड दिनुपर्छ । अहिले सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, घृणात्मक अभिव्यक्ति र उत्तेजक सामाग्रीले प्रतिशोधलाई थप भड्काउन सक्ने भएकाले नागरिक पनि सचेत हुन जरुरी छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले त्यही अवस्था देखा परेको छ । बदलाको भावना वा रिस फेर्ने नाममा बढ्दो अपराधजन्य घटनाले चुनौती सिर्जना गरिदिएको छ । पछिल्ला केही उदाहरणले के संकेत गर्छन भने मानिस रिसको नाममा वा बदलाको भावनाले हत्यासम्म गर्न पछि पर्दैनन् ।

नेपाल प्रहरीको तथ्याँक अनुसार गत एक बर्षमा करिव ७० हजार घटना अपराधसंग जोडिएका छन् । अपराधजन्य ती घटनामा प्रतिशोध पनि मुख्य कारणका रूपमा देखिएको छ । ७७ वटै जिल्लामा एक बर्षमा हुने अपराधका घटनाको मुख्य कारणमा प्रतिशोध पनि देखिनु गंभीर चिन्ताको बिषय हो । गत बर्षमात्रै स्याङजामा भएको अपराधमा आफूले मन पराएको युवतीले अर्कैलाई मन पराउन थालेको नाममा युवतीको हत्या गरेको घटना भएको थियो ।

पछिल्लो समय मानिसमा अपराधको मानसिकता नै तयार भएको देखिन्छ । खासगरी तराईका जिल्लामा अहिले अपराधका घटनाले जनजीवनमा सन्त्रासको अवस्था उत्पन्न भएको छ । पछिल्लो समय जुन अपराधजन्य घटनाको त्रास देखिएको छ, यो अवस्था तत्काल निराकरणका लागि प्रशासन गंभीर हुनु जरुरी छ ।

नेपाल सरकारले सुरक्षाको व्यवस्था प्रभावकारी वनाएको वताईरहेपनि मुलुकका विभिन्न स्थानमा भैरहेका आपराधिक प्रकृतिका घटनाले आम जनमानसलाई चिन्तित वनाउने गरेको छ । अव अपराधजन्य घटना नियन्त्रण नगर्ने हो भने नेपाल भारतजस्तै अपराधीकरणको अर्को देश बन्ने खतरा छ । पछिल्लो समय अपराधजन्य घटना न्यूनिकरणका लागि धेरै प्रयास भएका छन तर ती परिणाममा शून्यको अवस्था छ । अहिलेपनि सुन्दा पनि पत्याउनै नसकिने अपराधका घटना रोकिएको छैन् ।

अव यसका लागि फेरी पनि सरकार, नागरिक समाज र सिंगो नेपाली समाजले नियन्त्रणको प्रयासमा प्रतिवद्धता जनाउन ढिलाई गर्नु हुँदैन । यस प्रकारका प्रतिशोधका घटनाले अहिले नेपाली समाजलाई नै बिद्रुप वनाउने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । हिंसाजन्य घटनामा बृद्धि हुनु गंभीर चिन्ताको बिषय हो ।

यसले नेपाली समाज आपराधीक मनोबृत्तितर्फ उन्मुख भैरहेको हो कि भन्ने आशंका जन्माएको छ । सामान्य निहुँमा प्रेमीकाले प्रेमीको हत्या गरेको घटना सुन्न र पढ्नु परिरहेको मात्रै छैन, अरू धेरै घटनाहरू यस्ता छन् जुन मानव समाजलाई नै कलंकित वनाउने प्रकृतिका छन र ती प्रतिशोधजन्य रहेको कुरा कतै छिपेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?