Butwal Today

कलङ्कित श्रृंंखला कहिलेसम्म ?  

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

सूचनाको क्षेत्रमा भएको अद्भुत विकास र त्यसले ल्याएको परिवर्तनले मानव बेचबिखनको आयामहरू फेरिँदै गइरहेको छ । विगतमा भारतका दिल्ली र मुम्बईका कोठीहरूमा मात्र हुने बेचबिखन अहिले संसारका विभिन्न मुलुकसम्म फैलिन पुगेको छ ।

भारतको बाटो हुँदै अफ्रिका र कतिपय युरोपियन देशहरूमा समेत नेपाली महिलाहरूको बेचबिखन हुने गरेको र कतिपय नेपाली पुरुषहरू पनि विभिन्न बहानामा बेचबिखनमा पर्ने गरेको देखिएको छ । प्रसङ्ग आजको २० औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसको हो ।

यो दिवस मनाउन थालेको २० वर्ष पूरा भएको छ तर यतिका वर्ष बितिसक्दा पनि नेपालमा मानव बेचबिखनको अवस्था अझै पनि कहालीलाग्दो छ । मानव ओसारपसार तथा बेचबिखनको समस्या घट्नुको साटो हरेक वर्ष बढ्दै जानु चिन्ताको विषय हो । अझै मानव बेचबिखनका घटनामा नयाँ नयाँ पात्र र प्रवृत्तिहरूको जन्म हुँदै गएको छ ।

एक प्रकारले भन्दा मानव बेचबिखनको अवस्था अत्यन्तै गम्भीर र कहालीलाग्दो मोडमा पुगेको छ । पछिल्लोसमय मानवलाई मानवले बेच्ने कुरा त सामान्य जस्तै भैसकेको छ । मानवका लागि अहिले मानवीयता भन्ने कुरा गौण भएको छ ।

पछिल्लोसमय त नेपालीले नै नेपालीलाई ठगी गर्ने, बिक्री गर्ने गरेको बिडम्वनाजन्य खबर सुन्नु परिरहेको छ । यो गम्भीर चिन्ताको कुरा हो । केही वर्ष पहिलेसम्म काठमाडौँ वरिपरिका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर लगायतका ठाउँबाट अत्यन्त सिमान्तकृत गरिव समुदायका चेलीबेटी मात्रै बेचबिखनमा पर्ने गरेकोमा अहिले नेपालका प्रायः सबै जिल्लाबाट मानव बेचबिखनका घटना हुनु चिन्ताको कुरा हो ।

पहिले देह व्यापारका लागि मात्र बेचबिखन हुन्छ भन्ने थियो तर हाल आएर मानव अङ्गहरू मिर्गौला, कलेजोको बेचबिखन तथा भाडामा बच्चा जन्माउने आमा तथा श्रम बजारमा ठगी र हिंसाको शिकार हुने क्रम बढिरहेको छ ।

हरेक प्रकारको मानव वेचविखन अझ विशेषगरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्न सरकारले पहल गर्दै आएको छ तर समस्या ज्यूँका त्यूँ छ । सरकारले यस प्रकारका घटना नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ तर समाधानमा टसमसको अवस्था देखिएको छैन ।

नेपालमा आजको दिन विभिन्न कार्यक्रम, जनचेतनामूलक ¥याली र सभाहरूमार्फत मानव वेचविखन नियन्त्रणको पहल गरिदै आएको छ । तर, यो केवल औपचारिक मात्रै हो कि भन्ने भान भैरहेको छ ।

अहिलेमात्रै होइन, धेरै पहिलेदेखि नै महिलाहरू बेचबिखन तथा ओसारपसारका विभिन्न घटनामा धेरै पीडित बन्दै आएको कारुणिक पीडाको अवस्था छ । खासगरी विदेश लैजाने, राम्रो काम लगाईदिने भन्दै ओसारपसारका घटना बढेका छन् । नेपालका विभिन्न शहरवाट राम्रो तलब तथा काम लगाईदिने नाममा बेचिने घटना बढ्दै गएको देखिएको छ ।

यो दिवसकै सन्दर्भमा यसतर्फको सचेतना अवको आवश्यकता हो । मानव बेचबिखनको जोखिम, न्यूनीकरणका लागि गरिएका पहल, बेचबिखनमा पर्ने कारणहरू, उद्धार, पुनस्र्थापना, पैरवी, कानुनी ब्यवस्था कस्तो छ भन्ने विषयमा अब बहस जरुरी छ । यो दिवस त्यसैपनि औपचारिकतामै सीमित हुने गरेकोले अव मानव ओसारपसारको डरलाग्दो अवस्थालाई नियन्त्रण गर्नैपर्दछ । जसको लागि सरकारको ठोस र प्रभावकारी कामले मात्रै संभव छ ।

दिवसको अवसरमा खासगरी महिला अधिकारवादी नेतृहरूले मानव वेचविखन तथा ओसारपसार विरुद्ध सवै जनसमुदायलाई एकजुट बनाउन आह्वान गरेका छन । अतः जघन्य अपराध समेत मानिएको मानव बेचविखन तथा ओसारपसारलाई जराबाटै अन्त्य गर्ने पहल गरौं । आजको २१ औँ शताब्दीमा पनि यस्ता अपराध हुनु मानवजातिको लागि एक कलंक हो । तसर्थ यस प्रकारको कलंक अन्त्य गर्नेतर्फ हामी सवैको पहल आवश्यक छ । यो विषयमा सरकार र सम्बद्ध अधिकारबादीहरूको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?