Butwal Today

हाम्रो अविवेकको “परिक्षण”

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

भोटेकोशी/त्रिशुली नदीमा आएको प्रलयकारी बाढीले अनुमान नै गर्न नसकिने गरि भौतिक, पर्यावरणीय र मानवीय क्षति भएको छ । यो लेख तयार गर्दासम्म करिब १३ सय मृतकको शव संकलन गरिएको छ भने करिब ५ हजार जना अझै बेपत्ता रहेको प्रारम्भिक अनुमान छ ।

यो अकल्पनीय विपदको वास्तविक क्षतिको अनुमान मात्र गर्न सकिएला तर त्यसले दिएको मानवीय–सामाजिक पीडाको अनुमान र क्षतिपूर्ति कहिल्यै हुनेछैन् । अहिलेसम्म प्राप्त सूचना र विज्ञहरूका कुरा विश्लेषण गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित विपत्ति भएको निस्कर्ष निकाल्न सकिन्छ ।

जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रको तापक्रम वृद्धि भएर हिमनदीको निर्माण, हिमतालको वृद्धि भैरहेको अवस्थामा हिमनदीको एउटा सिंगै भाग ठूलो उचाइबाट खस्दा ठूलो ऊर्जासहित खसेकोले उचाईबाट नेपालतर्फको ओरालो भूभागमा आउँदा बाढीको गति र शक्ति दुवै उच्च भएकोले त्रिशुली किनारका वस्तीमा ठूलो क्षति पुगेको कुरामा विज्ञहरू सहमत छन् ।

आम मानिसहरू पनि जलवायु परिवर्तनको कारण यो समस्या आएको भन्दै जलवायु परिवर्तन गर्न मुख्य भूमिका खेलेका देशहरूले यसको जिम्मा लिएर नेपाललाई क्षतिपूर्ति दिनुपर्ने कुरा उठाइरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले समेत आफ्नो फेसबुक पोस्टमा जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका नरहेको तथा जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र विपद्प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी रहन्छ भन्दै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको र हिउँ चट्टान किन खस्यो ?

यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ भने कुरामा जोड दिएका छन् । यहि कुरा प्रधानमन्त्रीले संसदमा पनि दोहो¥याएका छन् र विश्वलाई यहि कुरा सुनाउनको लागि उनी संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न समेत जाने भएका छन् ।

जलवायु परिवर्तनका प्रभाव विशेषगरेर नेपाल जस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूमा बढी देखिएको छ । विश्व जनसङ्ख्याको करिव ०.३५ प्रतिशत मानिस मात्र नेपालमा बसोवास गर्छन र नेपालले उत्सर्जन गर्ने हरितगृह ग्याँसको मात्रा विश्वको कुल उत्सर्जनको करिब ०.०५ प्रतिशत रहेको छ ।

नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम बृद्धिका कारण प्रभावित हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग र जलवायु परिवर्तनसम्बन्धी अध्ययनहरूका अनुसार नेपालको औसत अधिकतम तापक्रम प्रति वर्ष ०.०५६ देखि ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा यो वृद्धिदर अझ बढी (वार्षिक ०.०८प्रतिशतसम्म) देखिएको छ । पानी पर्ने दिन, वर्षाको मात्रा र वर्षाको सघनता बदलिँदै गएको छ ।

प्रत्येक वर्ष न्यानो दिन बढ्दै गएका छन् । जलाधार सुकेकाले पानीको मुख्य स्रोत सुख्खा बन्दैछ र पानीको सतह घट्दै छ । हिन्दुकुश क्षेत्रको जलभण्डारका रूपमा रहेको हिमालयबाट हिउँ अधिक पग्लिन थालेको छ । जसले गर्दा हिमाल कालो बन्दै गएको छ । कमजोर भू–वनोट, खोला नदिहरू धेरै भएको कारणले गर्दा पनि नेपालमा जलवायु परिवर्तनको कारणले प्रतिकूल प्रभाव धेरै देखिन थालेको छ । बाढी, पहिरो र खडेरी जस्ता प्राकृतिक प्रकोपहरू वर्षेनी बढिरहेका छन् ।

यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति हुनुको साथै कृषि तथा खाद्यान्न, जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार र जीविकोपार्जनमा असर गरिरहेको अवस्थामा हिमनदी/हिमताल विस्फोटनले सिर्जना गरेको त्रिशुली प्रलय र टाउको माथिको नाङ्गो तरवार झुन्डिएजस्तै झुन्डिएर् रहेका हिमाली क्षेत्रका थप हिमनदी, हिमतालले अझ प्रलयकारी भविस्यको सुचना दिएर सारा संसारलाई भयभित पारिरहेका छन् ।

भोटेकोशी/ त्रिशुलीको प्रलयकारी बाढीको कारण बनेको जलवायु परिवर्तन र हरितगृह प्रभावको बारेमा जति चर्चा भैरहेको छ, त्यति नै चर्चा बाढीले बढी क्षति पु¥याउनुको मानविय कारणको पनि खोजी भैरहेको छ । नदी कहिले कमजोर त कहिले शक्तिशाली भएर बग्नु यसको प्राकृतिक स्वभाव हो । तर नदीको स्वभावलाई अहिलेका मानिसले बुझ्न नसक्दा र स्वभाव प्रतिकुल मानवीय व्यवहार र अभ्यासले गर्दा क्षति बढेको कुरामा अधिकांश मानिस सहमत देखिन्छन् ।

बाह्र वर्षमा खोला फर्कन्छ भन्दै कुनै समयमा नदी बगेको ठाउँमा वस्ती नबसाएर कठिन भएपनि खोला र पहिरोले नभेट्ने ठाउँमा घर बनाएर बस्न खोज्ने पुर्खाको विवेकको वास्ता नगरी नदी बगेकै ठाउँमा वस्ती बस्दा नदी किनाराको बसाई सधैँ जोखिमपूर्ण हुने गरेको देखिन्छ । सामान्य जल सतह बढ्दा पनि वस्ती डुबानमा पर्नु नेपालको लागि सामान्य भैसकेको छ ।

पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा नदीहरूले एक्कासी रौद्ररूप देखाउदा वस्तीको नामोनिशान समेत मेटिन थालेको छ । रुख विरुवा जथाभावी काट्दा विपद आउछ भनेर रामशाहले रुख नकाट्ने थिति बाँधेका थिए भने पृथ्वीनारायण शाहले पानी लाग्ने खेतीयोग्य जग्गामा घर भएपनि घर अन्यत्र सारेर कुलो काटी पानी लगेर खेत चलाउनु भनेर दिव्योपदेश दिएका थिए ।

यस्ता राजाज्ञालाई नागरिकहरूले कानूनको रूपमा स्वीकार गरेर त्यसै अनुसार भुमि,, जलश्रोत, वनजंगलको उपयोग गरे आएका थिए । सडक यातायातको विस्तार र व्यापारिक बिन्दुसम्मको पहुँचको क्रममा नदी किनाराको क्षेत्र बसोबास र व्यापारको लागि सहज मानिन थाल्यो ।

आधा शताब्दी अघिसम्म पहाडको टुप्पा र भिरालो ठाउँमा बसेका बजारहरू पनि नदि किनारको बेंसीमा सर्दै गए भने नदि करिडोर सडकले नदि किनारमा थुप्रै वस्तीहरू बस्न थाले । शुरुमा मुख्य वस्तीहरू नदीदेखि केही पर भएपनि विस्तारै सुकुम्बासीको नाममा नदी उकास जग्गामा वस्ती वस्न थाल्यो र नदी, खोलालाई खुम्चाएर नहर जस्तो बनाउन थालियो ।

राज्यले नदी किनारमा बनाएका वस्तीमा आवश्यक पूर्वाधार थपिदियो । अनि १०/२० घर बनाउन मिल्ने पहाडी क्षेत्रमा सडक किनारमा वस्ती र बजार बन्ने क्रम देशभरी चल्यो र अहिलेपनि चलिरहेको छ । राज्यले शहरी क्षेत्रमा नदी किनारको मापदण्ड बनाएर नदीलाई सुरक्षित राख्न प्रयास गरेपनि नागरिक र सरकार दुबैले त्यस्तो मापदण्डको खिल्ली उडाईरहे ।

अहिले डाँडामा रहेका पुराना वस्तीहरू उजाड र नदी किनाराका वस्तीहरू गुल्जार भैरहेका छन् । नदीको प्राकृतिक वहाव क्षेत्र खुम्चिएको छ, पुरिएको छ । यहि कारणले गर्दा नदी थोरै मात्र उग्र बन्ने बित्तिकै ठूलो धनजनको क्षति हुने गरेको देखिन्छ ।

२०५० पछि पहाडी क्षेत्रमा सडक खन्ने होडबाजी चलेको छ । दुरदराजका गाउँ वस्तीसम्म सडक पु¥याउनु राम्रो कुरा हो । यस सडक खन्दा दिगो विकासका सामान्य सिद्धान्तलाई समेत पालना गरेको देखिदैन ।

\स्थानीय अगुवा र डोजर ड्राईभरले चाहना अनुसार जथाभावी पहाड काट्ने, सडक खन्दा निस्केको ढुंगा, माटो र अन्य वस्तुहरू जथाभावी फाल्ने, खोला खोल्सा पुर्ने, रुख बिरुवा जथाभावी ढंगले काट्ने जस्ता कारणले गर्दा पहाडी क्षत्रका सडकहरू सधै धराप बनिरहेका छन् । खोला थुनेर बनाइएका अनेकौ जल विद्युत योजनाहरूले पानीको बहावलाई अवरुद्ध मात्र बनाएका छैनन्, विपदका आधार समेत तयार गरिरहेका छन् । नेपालमा बाढी र पहिरोको पछिल्ला ३० वर्षका तथ्यांक केलाउने हो भने ग्रामिण सडक वा राजमार्ग निर्माण भएका क्षेत्रमा नै बाढी र पहिरो बढी गैरहेको छ ।

विश्वब्यापी उष्णिकरणको कारण भैरहेको जलवायु परिवर्तनले नेपाललाई आक्रान्त पारिरहेको छ । धनि र विकसित भनाउँदा राष्ट्रको कारण यो समस्या बढिरहेकोले ति राष्ट्रहरूले नेपाल जस्ता पर्वतीय राष्ट्रलाई क्षतिपूर्ति दिनुपर्छ र यसको लागि नेपालले अन्तर्राष्ट्रिय मन्चमा निरन्तर दवाव समेत दिईरहनुपर्छ । तर धनि देशको कारण हामीहरूले दुख पाएका छौ भनेर रोइलो गर्दैमा हाम्रा विपदजन्य समस्याहरू कदापि समाधान हुदैनन् ।

हामी कत्तिको विवेकशील बन्छु र कत्तिको विवेकपूर्ण ढंगले जल, जमिन र जंगलको प्रयोग गछौ, त्यहि कुराले हामीहरू कत्तिको सुरक्षित रहन पाउने भन्ने कुराको निर्धारण गर्छ । विगत केहि वर्षदेखि नदिहरूले मच्चाइरहेको वितण्डा र त्यसको कारण भोग्नुपरेको क्षति हाम्रो अविवेकी व्यवहारको परिक्षण हो ।

जबसम्म हामीहरू प्रकृतिको प्रणालीलाई मिच्न छोडदैनौ, जबसम्म हाम्रा पुर्खाका अभ्यासहरूलाई “नचाहिँदो कुरा’ भन्न छोडदैनौ, जबसम्म नदीलाई मुनाफाको रूपबाट मात्र हेरिरहन्छौ, तबसम्म पानिसको विवेकको परिक्षण भैरहनेछ र मानिस सधै त्यो परिक्षणमा अनुत्तीर्ण भैरहनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?