© 2026
प्रेरणादायी व्यक्तित्व भोजप्रसाद श्रेष्ठले आप्mनो सङ्कल्प, सपना र सङ्घर्षका यात्रा समेटेर लेखेको संस्मरणात्मक कृति ‘अठोट’ बुटवलमा २०८३ बैशाख २० गते लोकार्पण भयो । किताबले एक निष्ठावान् राजनीतिज्ञ र कर्मठ समाजसेवीको जीवनका उकाली–ओरालीहरूलाई समेटेको छ ।
श्रेष्ठ यस्तो पात्र हुनुहुन्छ जसले पाल्पाको सामान्य किसान परिवारमा जन्मिएर आफ्नै मेहेनतले राज्यको उच्च तहसम्म पुग्न सफल हुनुभयो । उहाँको जीवनमा समाजसेवाको दर्शन पाईंन्छ । उहाँका लागि राजनीति भनेको सेवा हो, पेशा होइन ।
यो कुरा उहाँले शिक्षण पेशा छोडेर जनसेवामा लागेको प्रसङ्गले प्रष्ट पार्छ । पुस्तक पढ्दा पाठकले बुटवल र वरपरको क्षेत्रको विगत ५० वर्षको सामाजिक र राजनीतिक इतिहास थाहा पाउँछन् । यो कृति सार्वजनिक गर्दै गर्दा हामीले केवल एउटा पुस्तक पाएका छैनौँ, एउटा जीवन्त पाठशाला पाएका छौँ ।
पाल्पाको रामपुरमा जन्मिएर बुटवललाई आफ्नो कर्मथलो बनाउनुभएका श्रेष्ठको यो पुस्तक केवल व्यक्तिगत जीवनको कथा मात्र नभई नेपाली समाज र राजनीतिको करिब पाँच दशकको ऐना पनि हो । पुस्तक लुम्बिनी क्षेत्रको राजनीतिक र सामाजिक इतिहासको दस्तावेज हो ।
पुस्तकमा ५४ वटा विभिन्न शीर्षकहरूमा लेखकका अनुभवहरूलाई प्रस्तुत गरिएको छ । यसलाई मुख्य रूपमा तीन पक्षबाट हेर्न सकिन्छः
बाल्यकाल र शिक्षाः पाल्पाको रामपुरदेखि चितवनको शारदानगर र तानसेनको क्याम्पस जीवनसम्मका संस्मरणहरूले तत्कालीन समयको शैक्षिक र सामाजिक अवस्थालाई चित्रण गर्दछन् ।
सामाजिक रूपान्तरणः समाजमा व्याप्त विभेद, अन्धविश्वास र कुरुति विरुद्ध लेखकले गरेका प्रयासहरू, जस्तै नेवाः एकता समाजको स्थापना र सामाजिक सुधारका कार्यहरू प्रेरणादायी छन् ।
राजनीतिक यात्राः वि.सं. २०३५ देखि विद्यार्थी आन्दोलनबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पञ्चायतकालको सङ्घर्ष, बुटवलको नगरप्रमुखका रूपमा विकासको नेतृत्व र लुम्बिनी प्रदेशको मन्त्रीसम्मको जिम्मेवारीलाई पुस्तकमा इमानदारीपूर्वक उतारिएको छ ।
एक निष्ठावान् राजनीतिक र सामाजिक यात्राको नालीबेली समेटिएको छ किताबमा । पुस्तकको सुरुवाती अध्यायहरूमा लेखकले समाजमा व्याप्त अन्धविश्वास, दाइजो, र तडकभडकपूर्ण संस्कार विरुद्ध चालेका कदमहरू निकै अनुकरणीय छन् ।
नेवाः एकता समाजको स्थापनाः समाजलाई संगठित गरी शिक्षा र चेतना फैलाउन उनले गरेको प्रयासले एक जनसेवकको जग कसरी बस्छ भन्ने देखाउँछ । कुप्रथाको अन्त्यः विशेषगरी मृत्यु संस्कार (किरिया) को समयलाई घटाउने र भोजभतेरमा हुने अनावश्यक खर्च रोक्न उनले गरेको पहलले उनी केवल कुरा गर्ने मात्र नभई, व्यवहारमै परिवर्तन ल्याउने नेता हुन् भन्ने पुष्टि गर्छ ।
लेखकको सामाजिक सुधारका कार्यहरू, विशेष गरी अन्धविश्वास र कुरुति विरुद्धको अभियानलाई भारतका महान् समाज सुधारक इश्वरचन्द्र विद्यासागरसँग तुलना गर्न सकिन्छ । विद्यासागरले समाजको विरोधका बावजुद जसरी विधवा विवाह र शिक्षामा क्रान्ति ल्याए, भोजप्रसादजीले पनि ’नेवाः एकता समाज’ मार्फत र व्यक्तिगत तवरमा समाजका विकृति हटाउन जुन साहस देखाउनुभयो, त्यो एउटा सच्चा समाजसुधारकको परिचय हो ।
अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले जस्तै भोजप्रसादजीले पनि राजनीतिलाई ’शक्ति’ को रूपमा होइन, सेवा र नैतिकता को रूपमा लिनुभयो । लिङ्कनले कठिन परिस्थितिमा पनि देशलाई जोगाउन आफ्नो अठोट डगमगाउन दिएनन् ।
भोजप्रसादजीले पनि कोभिड–१९ को समयमा स्वास्थ्य मन्त्रीका रूपमा आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवा गर्नुभयो, जुन एक उच्च स्तरको नैतिक नेतृत्व को उदाहरण हो । श्रेष्ठको राजनीतिक यात्रा पदका लागि मात्र नभई, व्यवस्था परिवर्तनका लागि थियो भन्ने कुरा पुस्तकका पानाहरूले बोलेका छन् ।
मण्डेला भन्थे, “मैले सिकेँ कि साहस भनेको डरको अभाव होइन, बरु डरमाथिको विजय हो’’ । भोजप्रसादजीले प्रहरीको घेरा तोडेर र जेलको कष्ट सहेर जुन विजय प्राप्त गर्नुभयो, त्यो ठ्याक्कै मण्डेलाको साहस सँग मेल खान्छ । २०३५ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका श्रेष्ठले पञ्चायतकालमा भोगेको जेल जीवन र भूमिगत संघर्षले उहाँको लोकतन्त्रप्रतिको अगाध आस्था दर्शाउँछ ।
बुटवलको नगरप्रमुख हुँदा उहाँले कोरेको विकासको खाका र बेझाड बजारको ‘टाउन प्लानिङ’ मा उनले देखाएको सक्रियताले उहाँ एक सफल प्रशासक र विकासको दूरदृष्टि भएको नेताको प्रमाण दिन्छ ।
भोजप्रसाद श्रेष्ठ केवल आन्दोलनकारी मात्र नभई एक ’निर्माता’ पनि हुनुहुन्छ । उहाँले परिकल्पना गरेको बेझाड बजारको ’टाउन प्लानिङ’ र पूर्वाधार विकासको योजनाले आजको रामपुरलाई हेर्न लायक बनाएको छ । शिक्षण पेशामा रहँदा होस् वा नगरप्रमुख र मन्त्री हुँदा, उहाँले सरकारी विद्यालय र अस्पतालहरूको स्तरोन्नतिमा जुन ’अठोट’ देखाउनुभयो, त्यसले उहाँलाई जन–जनको नेता बनाएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुँदा महामारीको कठिन घडीमा मन्त्रीका रूपमा कोभिड–१९ को व्यवस्थापनमा उहाँले निर्वाह गरेको भूमिका र अग्निपरिक्षालाई पुस्तकमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । अक्सिजनको अभाव, छटपटिएका बिरामी र त्रसित समाजका बीचमा उहाँले अस्पतालका वार्डहरूमा पुगेर बिरामीको हौसला बढाउनुभयो । आफ्नो ज्यानको प्रवाह नगरी महामारीको फ्रन्टलाइनमा उभिएर उहाँले देखाएको त्यो ’सेवा–भाव’ नै यस पुस्तकको सबैभन्दा मार्मिक र महत्वपूर्ण खण्ड हो ।
संघर्षको भट्टीबाट निस्किएको एक जीवन–कथा हो ‘अठोट’
आजको समयमा राजनीतिलाई सत्ता र शक्तिको खेल मान्नेहरूका लागि यो पुस्तक एउटा कडा जवाफ हो । लेखकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर परिवार, समाज र राष्ट्रका लागि कसरी योगदान पु¥याउन सकिन्छ भन्ने कुरालाई ’अठोट’ मार्फत प्रमाणित गर्नुभएको छ त्यसैले यो किताब एउटा इमानदारीको दस्तावेज पनि हो ।
पुस्तकमा लेखकले आफ्नो राजनीतिक जीवनका ती काला दिनहरूलाई निकै सजीव रूपमा उतार्नुभएको छ, जतिबेला उहाँ व्यवस्था परिवर्तनको सपना बोकेर हिँड्नुभयो । २०४२ सालको बम काण्ड र सत्याग्रहका बेला तानसेन र कपिलवस्तुको जेलमा बिताएका पलहरू निकै कष्टकर थिए ।
तानसेनबाट कपिलवस्तु जेल सारिँदाका ती क्षणहरू, जहाँ गर्मीले गुम्सिएको कोठामा “पसिना र उमस“ बीच पनि राजनीतिक चेतना मर्न दिनुभएन, यो आजको पुस्ताले सिक्नै पर्ने पाठ हो । २०३७ सालतिर राति–राति भित्तेलेखन गर्दा प्रहरीको बन्दुकको नालबाट जोगिएर भागेका प्रसङ्गहरूले उहाँको साहसलाई झल्काउँछ । “जनताको मुक्ति“ का लागि आफ्नो ज्यान हत्केलामा राखेर हिँड्ने त्यो ’अठोट’ साँच्चै नै लोभलाग्दो छ ।
पुस्तकले एक नेताको मात्र होइन, एउटा छोरा, श्रीमान् र बाबुको भूमिकालाई पनि न्याय गरेको छ । श्रीमती गौमाया श्रेष्ठको साथ र बुबा लोकप्रसाद श्रेष्ठको आदर्शलाई उहाँले आफ्नो शक्तिको स्रोत मान्नु भएको छ ।
उहाँको बुझाइमा पद र प्रतिष्ठा आउँछ जान्छ, तर इमान र निष्ठा सधैं जीवित रहन्छ । पुस्तक हरेक राजनीतिकर्मी र सामाजिक कार्यकर्ताले एकपटक पढ्नै पर्ने ’हातेपुस्तक’ जस्तै छ । पुस्तक समाजसेवा र राजनीतिमा लाग्न चाहने नयाँ पुस्ताका लागि एक मार्गदर्शक सामग्री बन्न सक्छ । ‘जुन इमानदारी मेरो विषयमा हिजो थियो, आज छ र भोलिसम्म रहनेछ’ भन्ने लेखकको दृढता नै यस पुस्तकको मुख्य सार हो ।
समाजवादी/साम्यवादी दर्शनको व्यवहारिक कसिमा लेखक
लेखकको कम्युनिष्ट दर्शन केवल सैद्धान्तिक मात्र नभएर व्यावहारिक प्रयोगमा आधारित देखिन्छ । उहाँको लेखन र जीवनयात्रामा झल्कने साम्यवादी चिन्तनका मुख्य पक्षहरू हुन्— जनता केन्द्रित राजनीति, वर्गविहीन समाजको परिकल्पना र सामाजिक न्याय, जनताको बहुदलीय जनवादको प्रयोग, श्रम र उत्पादनको सम्मान, र नैतिकता र अनुशासन ।
साम्यवादी दर्शनको मूल मर्म ’जनताको सेवा’ हो । श्रेष्ठले पुस्तकमा राजनीतिको अन्तिम लक्ष्य सत्ता होइन, बरु उत्पीडित र पिछडिएका जनताको उत्थान हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँका संस्मरणहरूले देखाउँछन् कि साम्यवादी कार्यकर्ताको रूपमा उहाँले जहिले पनि सामूहिक हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुभयो ।
पुस्तकमा उहाँले समाजमा व्याप्त जातीय विभेद, अन्धविश्वास र कुरुति विरुद्ध चालेका कदमहरू साम्यवादी चेतनाका उपज हुन् । समाजलाई एउटा समतामूलक र ‘वर्गविहीन’ दिशामा लैजानका लागि उहाँले ‘नेवाः एकता समाज’ जस्ता संस्थाहरू र विभिन्न सामाजिक सुधारका अभियानहरू मार्फत ‘सामाजिक न्याय’ को वकालत गर्नुभएको देखिन्छ ।
नेकपा एमालेसँग आबद्ध रहेकाले उहाँको दर्शन मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ बाट गहिरो रूपमा प्रभावित छ । पुस्तकमा प्रतिस्पर्धात्मक राजनीति, आवधिक निर्वाचन र कानुनी राज्यको स्वीकारोक्ति गर्दै साम्यवादलाई नेपाली माटो सुहाउँदो लोकतान्त्रिक ढाँचामा ढाल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । पञ्चायती निरङ्कुशता विरुद्धको सङ्घर्ष र गणतन्त्र स्थापनाका लागि उहाँले चालेका कदमहरू यसै राजनीतिक दर्शनका व्यावहारिक अभिव्यक्ति हुन् ।
एक साम्यवादी कार्यकर्ताको रूपमा श्रेष्ठले श्रमको सम्मान र उत्पादकत्वमा जोड दिनुभएको छ । विशेष गरी रामपुर र बुटवलको व्यवस्थित सहरीकरण मा उहाँले देखाएको सक्रियताले ’भौतिकवादी चिन्तन’ लाई प्रतिबिम्बित गर्दछ, जहाँ विकास र पूर्वाधारलाई मानवीय समृद्धिको आधार मानिन्छ । साम्यवादी दर्शनमा कार्यकर्ताको आचरण र अनुशासनलाई ठूलो महत्व दिइन्छ ।
श्रेष्ठले पुस्तकमा ‘इमान र निष्ठाको राजनीति’ लाई जुन प्राथमिकता दिनुभएको छ, त्यसले एउटा सच्चा कम्युनिष्ट कार्यकर्ता कस्तो हुनुपर्छ भन्ने नैतिक मापदण्ड प्रस्तुत गर्दछ । उहाँले राजनीतिक विचलन र अवसरवादको आलोचना गर्दै ‘वैचारिक स्पष्टता’ को खाँचो औँल्याउनुभएको छ । भोजप्रसाद श्रेष्ठको साम्यवाद अन्धभक्त वा ‘जडसूत्रवादी’ नभएर ’सृजनात्मक र जनमुखी’ देखिन्छ ।
उहाँका लागि कम्युनिष्ट हुनु भनेको समाजका हरेक अन्याय विरुद्ध ’अठोट’ का साथ लड्नु र न्यायपूर्ण समाज निर्माणका लागि निरन्तर क्रियाशील रहनु हो ।
भोजप्रसाद श्रेष्ठको व्यक्तित्वलाई नेपालका केही विशिष्ट व्यक्तित्वहरूसँग जोडेर हेर्दा उहाँको योगदान अझ प्रष्ट हुन्छ । उहाँमा बीपीको जस्तो निष्ठा, पद्मरत्नको जस्तो सामाजिक चेत र हर्क गुरुङको जस्तो विकासको दृष्टिकोणको त्रिवेणी भेटिन्छ ।
बीपीको ‘जेल जर्नल’ लगायतका राजनीतिक कृतिले जुन निष्ठाको कुरा गर्छन्, त्यसैगरी भोजप्रसादजीले पञ्चायतकालमा भोगेको जेल जीवन र सङ्घर्षले त्यस्तै ’निष्ठाको राजनीति’ लाई प्रतिनिधित्व गर्छ । पद्मरत्नले जसरी भाषा, संस्कृति र मानवअधिकारका लागि आवाज उठाउनुभयो, भोजप्रसादजीले पनि बुटवल र लुम्बिनी क्षेत्रमा सामाजिक न्याय र सांस्कृतिक जागरणका लागि उस्तै ’अठोट’ देखाउनुभएको छ ।
डा. हर्क गुरुङले नेपालको भूगोल र क्षेत्रीय विकासको खाका कोरे जस्तै, भोजप्रसादजीले स्थानीय तहमा (विशेष गरी बेझाड र बुटवलमा) व्यावहारिक र वैज्ञानिक सहरीकरणको जग बसाल्ने प्रयास गर्नुभयो । नेपालकी पहिलो सामाजिक विद्रोही योगमाया न्यौपानेले तत्कालीन समयमा सामाजिक बेथितिविरुद्ध जसरी आवाज उठाइन्, भोजप्रसादजीले पनि आफ्नो समयमा समाजलाई आधुनिक र चेतनशील बनाउन आफ्नै स्तरबाट ‘सामाजिक क्रान्ति’ को सुरुवात गर्नुभयो ।
पुस्तकको अन्तिम खण्डमा श्रेष्ठले आफ्नो कम्युनिष्ट जीवनका वैचारिक पक्षहरूसँगै समकालीन राजनीतिक घटनाक्रम र देशको भविष्यप्रति गहन चिन्तन प्रस्तुत गर्नुभएको छ । भदौ २३ र २४ को घटनालाई नेपाली राजनीतिक इतिहासको एक दुःखद मोडका रूपमा व्याख्या गर्नुभएको छ । भदौ २३ गते ‘जेन–जी’ युवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा राज्यले बल प्रयोग गर्दा भएको मानवीय क्षतिप्रति लेखकले गहिरो ‘आर्तनाद’ व्यक्त गरेका छन् ।
घटनाले उहाँको कम्युनिष्ट हृदयलाई मर्माहत बनाएको छ । भदौ २४ गते प्रदर्शनले हिंसात्मक रूप लिँदा र संसद् भवन तथा सिंहदरबारमा भएको तोडफोड तथा आगजनीलाई उहाँले व्यवस्थामाथि छिरेका अराजक तत्वहरूको खेलका रूपमा हेर्नुभएको छ । एउटा सच्चा कम्युनिष्ट कार्यकर्ताका लागि व्यवस्था परिवर्तनको आन्दोलन पवित्र हुनुपर्छ, तर यस घटनामा देखिएको घुसपैठ र हिंसाले उहाँलाई राजनीतिक नैतिकताको खडेरी परेको महसुस गराएको छ ।
अबको राजनीति केवल सत्ता प्राप्तिको भ¥याङ नभई ’सुशासन’ को माध्यम बन्नुपर्ने उहाँको ठम्याइ छ । भ्रष्टाचारले देशको जरा खोक्रो बनाएको भन्दै उहाँले अबको नेतृत्वले शून्य सहनशीलता अपनाउनुपर्ने विचार राख्नुभएको छ ।
‘जेन–जी’ आन्दोलनले युवाहरूमा रहेको व्यापक असन्तुष्टिलाई उजागर गरेको लेखकको बुझाइ छ । भविष्यमा राजनीतिलाई जोगाउने हो भने युवाहरूका सपना र देशभित्रै रोजगारीको चाहनालाई सम्बोधन गर्नु नै अबको राजनीतिको मुख्य एजेन्डा हुनुपर्ने उहाँले औँल्याउनुभएको छ ।
बारम्बारको सरकार परिवर्तन र अस्थिरताले लोकतन्त्र कमजोर हुने भन्दै उहाँले निर्वाचन प्रणालीमा सुधार र दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँका अनुसार अबको नेपाल ’विचार’ र ’विकास’ को आधारमा चल्नुपर्छ, न कि केवल ’भावावेग’ को आधारमा ।
भदौ २३ र २४ का शहीदहरूको रगत खेर जान नदिने ’अठोट’ गर्नुभएको छ । उहाँको भविष्यको चिन्तनले हामीलाई सिकाउँछ कि— राजनीतिमा ’इमान’ हरायो भने व्यवस्था जतिसुकै राम्रो भए पनि त्यो जनताका लागि ’अभिशाप’ बन्न सक्छ । उहाँको यो वैचारिक चेतले आगामी पुस्तालाई सधैँ सही बाटो देखाउनेछ ।
सरल भाषा कृतिको सबल पक्ष हो । जसले सामान्य पाठकलाई पनि लेखकका भोगाइहरूसँग सजिलै जोड्न सक्छ । इमान र निष्ठाको राजनीति कसरी गर्न सकिन्छ भन्ने कुरा लेखकको जीवन र यस पुस्तकले सन्देश दिन्छ । पदभन्दा ठूलो ’प्रतिष्ठा’ हो र शक्तिभन्दा ठूलो ’सेवा’ हो भन्ने यस्ता कर्मयोगी र जिउँदो इतिहासलाई हाम्रो माझमा पाउनु हामी सबैको अहोभाग्य हो ।
भोजप्रसाद श्रेष्ठज्यूको जीवन आफैँमा एउटा खुल्ला किताब हो । उहाँको संघर्षले सिकाउँछ कि— निष्ठा कहिल्यै हार्दैन । उहाँजस्तो कर्मयोगी र सादगी नेता पाउनु हाम्रो समाजको गौरव हो । उहाँको कृति ‘अठोट’ ले हामी सबैलाई समाजका लागि केही गर्ने ऊर्जा प्रदान गरिरहोस् शुभकामना ।