© 2026
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा रहेको कोरिया नेपाल बहु प्राविधिक शिक्षालयमा अहिले बिहानदेखि साँझसम्म नै विद्यार्थी सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप सिक्दै छन् ।
बुटवलको तामनगरमा रहेको कोरिया नेपाल बहु प्राविधिक शिक्षालयमा सुन्दर भविष्यको आशामा सीप सिकिरहेका युवाले अहिले सीपमा जोड दिँदै काम गर्दै आएका छन् ।
२०६८ सालमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोका) को सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) अन्तर्गत स्थापना भएको कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले हालसम्म देशका विभिन्न कुनाका चौधरी र मगर जस्ता हजारौँ युवाको जीवन परिवर्तन गरिरहेको छ ।
महेन्द्रराजमार्गबाट उत्तरतर्फ चारपाला सामुदायिक वनको करिब १० बिगाहा जमिनमा फैलिएको बञ्जर जमिनमा स्थापित देशकै नमुना प्राविधिक शिक्षालयको उद्देश्य नेपालका युवाहरूलाई आत्मनिर्भर बनाउने अथवा रोजगारीको लायक बनाउन व्यवहारिक सीपमूलक शिक्षामार्फत सक्षम बनाउने रहेको छ ।
कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले सुरु देखिनै दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिँदै आएको छ । यहाँ अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, सूचना प्रविधि, मेकानिकल र रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ विषयमा ३९० घण्टाका तालिमदेखि ३ वर्षे डिप्लोमा तहका कार्यक्रमसम्मको प्रशिक्षण गरिने शिक्षालय प्रमुख नवीन किशोर गैरे बताउँछन् ।
यी कार्यक्रमहरू केवल सैद्धान्तिक ज्ञानमा सीमित छैनन् । प्रत्येक विषयमा प्रयोगात्मक सिकाइ, उद्योगमा अवलोकन भ्रमण, इन्टर्नसिप तथा परियोजनामार्फत व्यवहारिक अनुभूति प्रदान गरिन्छ । आजसम्म १८०० जना भन्दा बढी विद्यार्थीहरू यस शिक्षालयमा भर्ना भइसकेका छन् ।
तीमध्ये १००० जना भन्दा बढी विद्यार्थीहरू दक्ष जनशक्ति बनेर अध्ययन पूरा गरिसकेका छन् । अझ गर्वको कुरा के छ भने, यहाँ अध्ययन गरेका ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरू नेपालभित्रै सरकारी सेवा, निजी क्षेत्र तथा स्व–रोजगारीमा सक्रिय छन् ।
धेरै विद्यार्थीहरू विदेशका प्रतिष्ठित कम्पनीहरूमा पनि कार्यरत छन्, जहाँ उनीहरूले नेपाली सीपको पहिचान फैलाइरहेका छन् । जस्तै: मेकानिकल इन्जिनियरिङमा अध्ययन गरेका दिनेश बस्याल र रमेश बेल्बासे अहिले दक्षिण कोरियाको पानीजहाज उत्पादन कारखानाको हिस्सा बनेका छन् ।
उनीहरू भन्छन्, “शिक्षालयमा सिकेको व्यवहारिक ज्ञान र मेसिनसँगको नजिकको सम्बन्धले नै हामीलाई यो स्थानमा ल्याएको हो ।” अर्का इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययन गरेका पूर्व विद्यार्थी सुजन पौडेललाई काइचो ग्रुप नामको संस्थामार्फत सेनेटरी प्याड दिने र जलाउने मेसिनको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।
शिक्षालयमा सिकेको सीपकै माध्यमले यो काम गर्न सकेको र अहिले भारतलगायत दक्षिण एसियाका अन्य देशमा समेत आफ्ना उत्पादन निर्यात गरिरहेको पौडेलले बताउँछन् । शिक्षालय केवल शिक्षालय मात्र होइन, यसले स्थानीय समुदायसँग पनि गहिरो सम्बन्ध कायम गर्दै आएको छ ।
बुटवल क्षेत्रका धेरै युवाहरूका लागि यो संस्था सम्भावनाको ढोका भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको लागि छात्रवृत्ति, निःशुल्क तालिम, काउन्सिलिङ र रोजगारी सल्लाह सेवा प्रदान गर्दछ ।
यसले शिक्षा र सीप दुवैको पहुँचलाई व्यापक बनाएको छ । साथै, महिलाहरूको सहभागिता पनि उल्लेखनीय बन्दै गएको छ । सूचना प्रविधि र इलेक्ट्रोनिक्स क्षेत्रमा महिला विद्यार्थीहरूको संख्या बढ्दै गएको देखिन्छ, जसले लैङ्गिक समानताको सन्देश पनि दिन्छ ।
शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलताको विकास गराउँदै शिक्षालय परिसरमै कामको संसार चिनाउने उद्देश्यले विद्यार्थीलाई समाजमा आवश्यक विभिन्न वस्तु र सेवाको उत्पादन गर्न प्रेरित गरिन्छ । त्यसरी उत्पादन भएका धेरै वस्तु र सेवाहरू लाखौँको मूल्यमा स्थानीय समुदायले खरिद पनि गरिदिएका छन् ।
कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले गुणस्तरीय शिक्षालाई सधैँ पहिलो प्राथमिकता दिएको छ । कोरियन शैलीको सिकाइ पद्धति, आधुनिक प्रयोगशाला उपकरणहरू, दक्ष प्रशिक्षकहरू र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रम यस संस्थाको विशेषता रहेको शिक्षालय प्रमुख नवीन किशोर गैरे बताउँछन् ।
शिक्षालयको भौतिक पूर्वाधार, सूचना सञ्चार प्रविधिमा आधारित कक्षाकोठा, इन्टरनेट सुविधासहितको कम्प्युटर ल्याब, ह्यान्ड्स–अन ट्रेनिङका लागि विशेष प्रयोगशालाहरूले विद्यार्थीहरूलाई पेसागत दक्षता हासिल गर्न मद्दत पु¥याइरहेका छन् ।
अब शिक्षालय केवल यथास्थितिमा सन्तुष्ट छैन । भविष्यमा कलेज टु कम्पनी हुने गरी रोजगारी र वैदेशिक रोजगारी सुनिश्चित हुने कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ । साथै, नेपाली युवाहरूलाई विश्व बजारमा अझ प्रतिस्पर्धी बनाउने विश्वासका साथ उद्यमशीलता विकास, स्टार्टअप इनक्युबेसन र अन्तर्राष्ट्रियस्तरको सर्टिफिकेसन तालिम पनि सञ्चालन गरिने सोच बनाइएको छ ।
कोरिया नेपाल बहु प्राविधिक शिक्षालय, बुटवलले केवल शिक्षण संस्था भएर मात्र होइन, एक परिवर्तनकारी अभियानको रूपमा काम गरिरहेको छ । प्राविधिक शिक्षाको माध्यमबाट युवाहरूलाई सक्षम बनाउने, देशमै रोजगारी सिर्जना गर्ने र विदेशमा पनि नेपाली सीपको पहिचान दिलाउने कार्यमा यो शिक्षालय अग्रसर छ ।
शिक्षालय प्रमुख नवीन किशोर गैरे भन्छन्–“आज, जब हामी प्राविधिक शिक्षाको महत्त्वको कुरा गर्छौं, तब यस्ता संस्थाहरूको भूमिका झन् महत्त्वपूर्ण देखिन्छ । हरेक वर्ष यहाँबाट उत्पादन हुने दक्ष जनशक्तिले केवल आफ्नो परिवारको भविष्य होइन, सम्पूर्ण राष्ट्रको भविष्य निर्माण गरिरहेका छन् ।”
उनी थप्छन्–“कोरिया नेपाल बहु प्राविधिक शिक्षालय एउटा सम्भावना हो–जसले हजारौँ युवाको जीवनमा उज्यालो देखाएको छ । यो केवल एउटा शिक्षालय होइन, सीप, श्रम र सफलताको साझा केन्द्र हो । भविष्यमा पनि यस्तै समर्पण र लगनका साथ अघि बढोस्, ताकि अझ धेरै युवाहरूको सपना साकार होस् ।”
शिक्षालयमा डिप्लोमा तहसम्म हालसम्म विभिन्न सङ्कायमा गरी कुल ६ सय ७८ जनाले आफ्नो शिक्षा पूरा गरेका छन् । शिक्षालयले छोटो अवधिको समेत तालिम र शिक्षा प्रदान गर्दै आएको छ । प्रत्येक वर्ष शिक्षालयमा छोटो अवधिका लागि २ सय ४० देखि ३०० सम्म विद्यार्थीले तालिम लिँदै आएका छन् ।
बुटवल १२ तामनगरमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आङ्गिक संस्था कोरिया नेपाल बहु प्राविधिक शिक्षालय, रुपन्देहीकै एक मात्र सरकारी प्राविधिक शिक्षालय हो । कोरिया सहयोग नियोग (कोका) को आर्थिक सहयोगमा सन् २०१३ मा स्थापना भएको हो । यो शिक्षालयले हाल ईञ्जीनियरिङ्ग विधाका अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, सूचना प्रविधि, मेकानिकल र रेफ्रिजेरेशन एण्ड एअर कण्डिशनिङ गरेर पाँच वटा कार्यक्रममा छोटो अवधिको तालीम देखि तीन (३) वर्षको डिप्लोमा तहसम्मको अध्यापन गराइन्छ ।
शिक्षालयले हालसम्म एक हजार जना भन्दा धेरै इन्जिनियरिङ क्षेत्रका प्राविधिक जनशक्ति उत्पादन गरेको छ । शिक्षालयबाट उत्पादित जनशक्तिहरू देश विदेशका सरकारी, गैर सरकारी तथा निजी संस्थाहरूमा रोजगार तथा स्वरोजगार भएका छन् । शिक्षालयमा हाल ६० जना प्रशिक्षकहरूले करिब ५०० जना विद्यार्थीहरूलाई अध्यापन गराउँदै छन् । निजी क्षेत्रमा रोजगारीमा जान चाहने र स्वरोजगार हुन चाहने विद्यार्थीहरूलाई प्लेसमेन्ट एण्ड काउन्सेलिङ्ग युनिट मार्फत शिक्षालयले नै सहजीकरण गरिदिन्छ ।
शिक्षालयमा विगत तीन (३) वर्ष देखि वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान चाहने युवाहरूको लागि वेल्डिङ्ग विषयको विशेष तालिम समेत सञ्चालन हुँदै आइरहेको छ । चारपाला सामुदायिक वनको करिब १० बिगाहा जमिनमा फैलिएको र प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै नमुना र उत्कृष्ट शिक्षालयको रूपमा रहेको कोरिया नेपाल बहु प्राविधिक शिक्षालयले भविष्यमा इन्जिनियरिङ बाहेकका अन्य विधामा समेत कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।