© 2026
सल्यान । सल्यानमा फेरि अर्को ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार बिहान शारदा नगरपालिकाको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिकाको दमाचौरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार भे १ त २०९० नम्बरको ट्याक्टर बागचौर नगरपालिका–१० भाटबिटे स्थित भित्री सडक खण्डमा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी ट्याक्टर चालक शारदा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री बोकेर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको ट्याक्टर मोख्ला मेला लाग्ने स्थान नजिक दुर्घटनामा परेको हो । दुर्घटनापछि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायब निरीक्षक रत्नलाल खड्काको कमान्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार पनि जिल्लाको दार्मा गाउँपालिका–२ भुसखोलास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो भने दुई जना युवा घाइते भएका थिए । लगातार दुई दिनसम्म भएका ट्याक्टर दुर्घटनामा दुई चालकको ज्यान गएपछि जिल्लामा सडक सुरक्षा र सवारी सञ्चालनप्रति चासो बढेको छ ।