© 2026
बुटवल । बुटवलको मुटुमा अवस्थित कान्ति माध्यमिक विद्यालयले लामो इतिहास बोकेको छ । यसले इतिहास मात्र बोकेको छैन वर्तमान र भविष्यका लागि समेत गुणस्तरीय शिक्षाको आधार तयार गरेको छ ।
करिब सात दशक लामो यात्रामा यो विद्यालयले केवल शिक्षा मात्र दिएको छैन, हजारौँ विद्यार्थीको भविष्य निर्माण गरेको छ । कान्ति माध्यमिक विद्यालय बुटवलको पहिचान शिक्षाको आधार स्तम्भको रूपमा खडा भएको छ ।
वि.सं. २००८ सालमा पुरानो बुटवलमा सुरु भएको गणेश विद्या भवन प्राइमरी स्कुल र खस्यौलीमा सुरु भएको जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी वि.सं. २०१० साल पुस २ गते देखि “गणेश जनता विद्या भवन” प्राथमिक विद्यालयको नामबाट हालको कान्ति मा.वि.को सुरुवात भएको हो ।
वि.सं. २०१६ सालमा मिडिल स्कुल र २०२६ सालमा हाई स्कुलको स्वीकृति प्राप्त गरेको यो विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक विद्यालय र २०३३ सालदेखि श्री ५ कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ ।
२०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापनरशिक्षा समूहका विभिन्न विषयहरूको पठन पाठन हुँदै आइरहेको छ । वि.सं. २०६५ सालदेखि खुला विद्यालयतर्फ कक्षा ८र१० समेत सञ्चालनमा छन् । जसबाट विभिन्न कारणले नियमित विद्यालयको पहुँचदेखि बाहिर रहेका हजारौँ विद्यार्थीहरू लाभान्वित भएका छन् ।
विद्यार्थीहरूमा सही संस्कारको विकास संस्कृतिको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वि.सं.२०८१ सालदेखि कक्षा ६ बाट संस्कृत विषयको पठन पाठन समेत आरम्भ गरिएको छ ।
विद्यालयले २०७२ सालदेखि पूर्ण रूपमा डिजिटल अभिलेख व्यवस्थापन, आन्तरिक विनियम २०७२ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जसमा शिक्षक कर्मचारीहरूका काम, कर्तव्य अधिकार, सेवा, सुविधा, ग्रेड, सञ्चय कोष, उपादान आदिको व्यवस्था गरिएको छ ।
सुझाव पेटिका निर्देशिका २०७४ तयार गरी विद्यार्थी, अभिभावकहरूबाट सुझाव पेटिकामा प्राप्त सकारात्मक सुझावहरूलाई कार्यान्वयनमा ल्याइएको छ । २०८१ सालदेखि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी, छात्रा सञ्जाल संयोजक सूचना प्रविधि प्रमुखको समेत व्यवस्था गरिएको छ ।
शैक्षिक गतिविधि:
विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ । विद्यालयमा सञ्चालित कार्यक्रमप्राप्त नतिजाको कारणले गर्दा आम विद्यार्थी र अभिभावकहरूको रोजाइको केन्द्र बनेको छ । कान्ति माविमा नियमिततर्फ ५ हजार ७३२ जना विद्यार्थी र खुला विद्यालय तर्फ ७२ जना गरी जम्मा ५ हजार ८०४ जना विद्यार्थी अध्ययनरत छन् भने बिहानी तथा दिवा सेवामा गरी २३५ जना शिक्षक र कर्मचारीहरू कार्यरत छन् जसमध्ये २५ जनालाई मात्र सरकारले सेवा सुविधा दिने गरेको छ ।
२०८१ सालदेखि विद्यालयले कक्षा १०, कक्षा ११र१२ का विद्यार्थीहरूलाई स्मार्ट बोर्डको प्रयोग गरी शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिएको छ भने यस वर्ष कक्षा ९र कक्षा ८ मा समेत थप गर्ने गरी काम अगाडि बढिरहेको छ ।
विद्यालयले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, व्यवस्थापकीय, पर्यावरणीय सूचना प्रविधि लगायतका सबैजसो विषयका मापदण्डहरू पूरा गरिसकेको २०८१ साल पुस २ गते अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र (आइएसओ) प्राप्त गरिसकेको छ । कान्ति माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने पहिलो सामुदायिक विद्यालय हो । विद्यालयबाट धेरै विद्यार्थीले एमविविएस ,इञ्जीनियरिङ्, भेटेनरी एग्रीकल्चर, नर्सिङ, सिए, विसिए., बिएचएम, विविएलगायतका बिषयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका छन् ।
विद्यालयले अवलम्बन गरेका असल अभ्यासहरू
दुर दृष्टि, लक्ष्य उद्देश्य निर्धारण, गुरुयोजना निर्माण र कार्यान्वयन, विद्यालय सुधार योजना निर्माण, वार्षिक कार्य योजना निर्माण, सिसिटिभी/इ–हाजिरी प्रयोग, विद्यालय विनियम २०७२ निर्माणरप्रयोग, सिकाई उपलब्धि विश्लेषण/विद्यार्थी अभिभावक परामर्श, डिजिटल अभिलेख लेखा व्यवस्थापन, विद्यालय बडापत्र, सुझाव पेटिकामा प्राप्त सुझाव कार्यान्वयन, कक्षागत अभिभावक भेला, सुझाव संकलन/कार्यान्वयन, विज्ञान, अर्थशास्त्र, गणित, क्रिकेट, बालक्लव, छात्रा सञ्जाल, रेडक्रस, स्काउट गठन , शिक्षक, विद्यार्थी/अभिभावक आचार संहिताको निर्माण एवम् कार्यान्वयन, दैनिक पठन पाठनका लागि लग बुकको व्यवस्था, शिक्षक विद्यार्थीको जन्मदिनमा पुस्तक फूल बिरुवा उपहार रहेका छन् ।
विद्यालयको भौतिक अवस्था अन्तर्गत विद्यालय परिसरमा २ बिगाहा १५ कट्ठा ३ धुर र रूपन्देही जिल्ला सैन मैना वडा नं. ०५ मा १० कट्ठा जग्गा विद्यालयको सम्पत्ति अन्तर्गत रहेको छ । भूकम्प प्रतिरोधी सुरक्षित भव्य विद्यालय भवनले जो कोहीको पनि मन तानिरहेको छ ।
विद्यालयलाई स्थापना कालदेखि यो अवस्थासम्म ल्याई पु¥याउन विविध क्षेत्रबाट प्रत्यक्ष एवम् परोक्ष रूपमा सहयोग पु¥याउनु हुने पूर्व सचिव स्वर्गीय बुद्धिबहादुर थकाली, पूर्व अध्यक्षहरू द्वारिका उदय, पूर्व प्रधानाध्यापक इरादेबी थैव, आनन्दमान श्रेष्ठ, हरिप्रसाद ढकाल, पूर्व शिक्षक, कर्मचारी, अक्षयकोषदाता लगायत सम्पूर्ण शिक्षा प्रेमी महानुभावको विशेष सहयोग रहेको विद्यालयले जनाएको छ ।
शैक्षिक उपलब्धि अन्तर्गत २०७१ एसएलसीको नतिजामा पश्चिमाञ्चल प्रथम, २०७३ को एसइईमा लुम्बिनी प्रदेश प्रथम, २०७६ मा बुटवल उपमहानगर पालिकाबाट उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत, २०७८ मा रुपन्देही जिल्लाको उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत, २०७९ को एसइई नतिजामा लुम्बिनी प्रदेश द्वितीय, नेपाल छैटौँ हुँदै विद्यालयले सामुदायिक विद्यालयप्रतिको नकारात्मक धारणालाई नै परिवर्तन गर्न सफल भएको छ । विद्यालयको स्रोतसाधनको अभावले धेरै विद्यार्थीलाई विद्यालयले समावेश गर्न सकेको छैन ।
विद्यालयमा विभिन्न समयमा धेरै शिक्षा प्रेमी, समाजसेवीहरूले छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । यसको मूल रकम रू.२६ लाख रहेको छ । यसको ब्याजबाट प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई नगद छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । एक पटकमा एउटा कक्षाका ५० जना विद्यार्थीहरूलाई लैजान र प्रयोग गर्न मिल्ने गरी अलग–अलग विज्ञान प्रयोगात्मक कक्षा सहितको विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ ।
जुनियररसिनियर विद्यार्थीहरूका लागि अलग अलग हाइस्पिड केवल इन्टरनेट सुविधा सहितको कम्प्युटर ल्याबको व्यवस्था विद्यालयले गरेको छ । १५० जना विद्यार्थीहरूले एकै पटक अध्ययन गर्न मिल्ने स्मार्ट बोर्ड सहितको आइ.टी.ल्याबको व्यवस्था, १० ओटा कक्षा कोठामा प्रोजेक्टर जडान गरी अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइएको छ ।
टाढाका विद्यार्थीको सहजताका लागि
१८ ओटा बसहरूबाट पूर्व खैरेनी, पश्चिम हरैया, दक्षिण तिलोत्तमा न.पा. को मणिग्राम सम्मका २३०० बढी विद्यार्थीहरूलाई विद्यालयमा ल्याउने र लैजाने विद्यालयले मिलाएको छ ।
आर्थिक अवस्था:
विद्यालयको आम्दानीको मूल स्रोतको रूपमा रहेको अभिभावक सहयोग, घर (सटर) को भाडा र सरकारी अनुदान लगायत सबै किसिमको आम्दानी, खर्च कम्प्युटर सफ्टवेयरबाट व्यवस्थित गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन् । “हामीलाई आर्थिक चुनौतीको सामना नै गर्नु परेको छ । २०६६ मा प्रधानाध्यापकमा नियुक्त भएदेखि नै दिनरात नभनेरै लागेको छु । सबैको सहकार्यले यो सम्भव भएको छ”–प्रअ ज्ञवालीले भने ।
कान्ति माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने दुरदृष्टिका साथ लक्ष्य र उद्देश्यहरू निर्धारण गरी विद्यालय अगाडि बढिरहेको व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझाले बताए ।