© 2026
पाल्पा ।
सरद ऋतुको आगमनसंगै पाल्पाका गाउँ गाउँमा सयपत्री र मखमली फूल राताम्मे भएको छ । तिहारका लागि मात्रै होइन, पाल्पाका फूल किसानको खेतमा बाह्रै महिना फूल खेती हुन्छ । यही फूल अहिले किसानको मूख्य आम्दानीको श्रोत बनेको छ । पहिले पहिले घरका आँगनको डिलमा सीमित सयपत्री र मखमली फूल अहिले गाउँभरी ढकमक्क फुलेका छन् । राम्रो आम्दानी हुन थालेपछि पाल्पाका फूल किसानले व्यावसायीक उत्पादन थालेका छन् ।
कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले पहिले निर्वाहमुखी रुपमा घरायसी प्रयोजनका लागि मात्र रोपिने सयपत्री फूलको व्यावसायीक खेतीका लागि किसानलाई प्रविधीसंगै अन्य सहयोग गरेपछि किसानहरु फूल खेतीतर्फ आकर्षित भएका हुन ।
मदनपोखराकी शान्ति पौडेल भन्छिन– पहिले पहिले सबैका घर घरमा तिहारका लागि नै भनेर लगाउने प्रचलन थियो तर समय बदलियो अहिले आम्दानीका लागि बलियो माध्यम बनेको छ ।
पहिले भारतको फूल माला धेरै धेरै खपत हुन्थ्यो तर अहिले स्थानिय उत्पादनले नै यहाँको बजार ढाकेको छ । कृषि ज्ञान केन्द्रले प्रविधि र बिउको छनोटमा सहयोग गरेका कारण फूल खेतीले राम्रो स्थान पाएको केन्द्रकी प्रमुख अमिता पाण्डे बताउँछिन् ।

पाल्पा रामपुरका अगुवा कृषक दिलबहादुर थापाले वैदेशिक रोजगारीको अनुभव बटुलेका छन् । विदेशबाट फर्किएपछि उनले जमिन भाडामा लिएर मौसमी तथा बेमौसमी तरकारी खेति गरेको १० वर्ष भयो । काम गर्ने क्रममा परिक्षणका रुपमा फूल खेती गर्दा राम्रो आम्दानी भयो । रामपुर क्षेत्रमा पहिलोपटक व्यावसायीक फूल खेती गरेका डिलबहादुर भन्छन्– यहीँबाट धेरैले सिके, अहिले सबैले थोरै थोरै खेती गरेका छन् ।
तिहारमा मात्रै १५ देखि २० लाख रुपैयाको फूल र माला बिक्री हुदै आएको छ । उनले बाह्रै महिना उत्पादन गरिरहेको र आम्दानी राम्रै गरेको थापा बताउँछन् ।
पाँच रोपनी क्षेत्रफलमा फूल खेती गरी बाह्रै महिना उत्पादन गरेका थापा भन्छन्– पछिल्ला वर्षहरुमा आयातित फूल माला बिक्री वितरणमा स्थानिय सरकारले रोक लगाएपछि व्यवसायीलाई सहज भएको छ ।
फूलमाला रामपुरमा मात्र खपत हुदैन । यहाँबाट पोखरा, तनहुँ र चितवन पुग्ने गरेको छ । मदनपोखराका धु्रव भण्डारी तरकारी खेती गर्ने कृषक हुन् । बारीमा वन्यजन्तुको आक्रमण बढ्न लागेपछि आफूले जिल्लामै पहिलोपटक व्यावसायीक फूल खेती सुरु गरेको उनले बताए ।

५ रोपनी क्षेत्रफलमा सयपत्री लगाएका भण्डारीले यो बर्षमात्रै ७० हजारको बिक्री गरिसकेका छन् । अब तिहारका लागि ४ लाखको बिक्री हुने बताउँछन् ।
सरकारले फूल खेतीलाई सहयोग गरेको खण्डमा फागुनदेखि साउनसम्मको फूल भारत समेत पठाउन सकिने उनको भनाई छ । उनी भन्छन– बजारको समस्या छैन । सरकारी कार्यक्रमहरुमा खादाको बिकल्पमा मालाको प्रयोगलाई बढाउनु पर्ने भण्डारी बताउँछन् ।
त्यसैगरी माथागढीको रुप्सेका कृषक दामोदर घर्तीले पहिचानसंगै परिचय बदलेका छन् । घर्तीले पनि फूल खेतीबाट पहिचानसंगै राम्रो आम्दानी गरेका छन् ।
उनका अनुसार भारतीय उत्पादन र मालाको बिक्री वितरणमा रोक लगाएपछि स्थानिय उत्पादनको माग बढेको छ । सरकारले भारतीय फूल र माला आयातमा रोक लगाएपछि स्थानिय उत्पादन नै छनोटमा परेका छन् ।
राष्टिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सन्तोष चौधरी भन्छन्– फूल खेतीले कृषकलाई दोहोरो फाइदा पुगेको छ । पहिलो आम्दानीको गतिलो माध्यम अनि फूलका कारण मित्रु किराको संरक्षण भएको छ । वाली नालीलाई हानी नोक्सानी गर्ने किरालाई नष्ट गर्ने मित्रु किराले हो । त्यसको संरक्षण भएको उनी बताउँछन् ।