Butwal Today

सिद्धेश्वर लाल कुमारी मावि: धर्मशालादेखि आधुनिक पाठशालासम्म

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७, दीपनगरमा अवस्थित सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालय आज यस क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक धरोहरका रूपमा चिनिन्छ ।

चुरे पर्वतको फेद र तिलोत्तमा नदीको तटमा अवस्थित यो विद्यालयले विगत ४३ वर्षदेखि निरन्तर रूपमा यस क्षेत्रका बालबालिकालाई शिक्षाको उज्यालो बाँड्दै आएको छ ।

स्थापना र ऐतिहासिक पृष्ठभूमि
यस विद्यालयको इतिहास अत्यन्तै सङ्घर्षपूर्ण र रोचक छ । वि.सं. २०३७ सालमा एक सामान्य पौवा (धर्मशाला) मा ट्युसन कक्षाको रूपमा यसको बीजारोपण भएको थियो । तत्कालीन समयमा सुख्खानगर क्षेत्रमा विद्यालय नभएका कारण साना बालबालिकालाई टाढा जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै स्थानीय शिक्षा प्रेमी र बुद्धिजीवीहरूको पहलमा यो अभियान सुरु गरिएको हो ।

विद्यालयको सुरुवाती चरणका मुख्य घटनाक्रमहरू यस प्रकार छन्ः ट्युसन कक्षाको रूपमा सुरुवात: सुरुमा सुख्खानगरकी श्रीमती रविनमाया के.सी. ले स्थानीय टहरामा ट्युसन कक्षा सञ्चालन गरे । काठे घरबाट कक्षा सञ्चालन: टहरो भत्किएपछि वि.सं. २०३६ सालमा स्व. लिलाधर सापकोटा (बर्मेली) को काठे घरको भुइँतलामा कक्षा सञ्चालन गरिएको थियो ।

विद्यालयको नामकरण सिद्धेश्वर मन्दिरको उत्तरतर्फको पौवामा पठनपाठन सुरु गरिएकाले मन्दिरकै नामबाट यसको नाम ’सिद्धेश्वर प्रा.वि.’ राखिएको हो ।
औपचारिक स्वीकृति: वि.सं. २०३८ सालमा विद्यालयले प्राथमिक तह सञ्चालनको औपचारिक अनुमति प्राप्त ग¥यो । यसका संस्थापक प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा थिए ।

विकासका चरणहरू र सफलता
एक झुपडीबाट सुरु भएको यो विद्यालयले समयको अन्तरालमा भौतिक र शैक्षिक दुवै क्षेत्रमा ठुलो फड्को मारेको छ । वि.सं. २०४३ मा निम्न माध्यमिक र २०४८ सालमा पहिलो पटक प्रवेशिका (एसएलसी) परीक्षामा विद्यार्थी सहभागी गराउँदै यो विद्यालय माध्यमिक तहमा स्तरोन्नति भयो ।

वि.सं. २०६४ देखि यहाँ कक्षा ११ र १२ (उच्च माध्यमिक तह) को पठनपाठन सुरु भयो । विद्यालयको शैक्षिक गुणस्तरको प्रमाणको रूपमा शैक्षिक सत्र २०८२ मा विद्यालयले शतप्रतिशत नतिजासहित ४ जिपिए ल्याउन सफल भएको गौरवमय इतिहास छ । हाल यहाँ बाल विकासदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भइरहेको छ ।

भौतिक तथा शैक्षिक अवस्था
सिद्धेश्वर लाल कुमारी मा.वि. बुटवल उपमहानगरको मुटुमा पर्याप्त जग्गा भएको एक मात्र सामुदायिक विद्यालयको रूपमा परिचित छ । यसको भौगोलिक अवस्थिति पूर्वमा शिवनगर सामुदायिक वन र पश्चिममा बुटवल बसपार्कको बिचमा रहेको छ । हाल विद्यालयमा ३४ जना दक्ष शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् । विद्यालयले विद्यार्थीका लागि आधुनिक प्रविधि, जस्तै: विद्युतीय हाजिरी र मोबाइल एपमार्फत सूचना आदानप्रदान गर्ने व्यवस्था समेत मिलाएको छ ।

दूर दृष्टि, लक्ष्य र उद्देश्यहरू
विद्यालयले आफूलाई एक ‘उत्कृष्ट शैक्षिक धरोहर’ र नमुना सामुदायिक विद्यालय’ बनाउने स्पष्ट दूर दृष्टि राखेको छ । यसका प्रमुख लक्ष्यहरूमा भौतिक संरचनामा सक्षम बन्नु, सुशासन कायम गर्नु र समुदायसँग सुमधुर सम्बन्ध कायम गर्नु रहेका छन् । विद्यालयका आगामी मुख्य उद्देश्यहरूः सिकाइ उपलब्धिमा वृद्धि गर्ने र अनुत्तीर्ण दर शून्य बनाउने । बालमैत्री र प्रविधिमैत्री वातावरण निर्माण गर्ने ।कक्षा ११ र १२ मा प्राविधिक धारका कक्षाहरू सञ्चालन गर्ने । आधुनिक पुस्तकालय, छात्रावास र सभा हलको निर्माण गर्ने ।

आगामी ५ वर्षे रणनीतिक योजना
विद्यालयले आगामी पाँच वर्षका लागि महत्त्वाकाङ्क्षी भौतिक र व्यवस्थापकीय योजनाहरू अघि सारेको छ:
भौतिक योजना: कम्तीमा १०० विद्यार्थी क्षमताको छात्रावास, २०० जना अटाउने अडिटोरियम हल, आफ्नै विद्यालय बस, र सुविधा सम्पन्न प्रयोगशाला भवन निर्माण गर्ने योजना छ ।

शैक्षिक तथा व्यवस्थापकीय योजना: शिक्षकहरूको क्षमता विकासका लागि तालिम, डिजिटल अभिलेख व्यवस्थापन, र विद्यालयको आफ्नै वेबसाइटमार्फत गतिविधिहरू सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

वातावरणीय पक्ष: विद्यालय हाताभित्र बगैँचा निर्माण र वृक्षारोपणलाई निरन्तरता दिँदै हरियाली कायम राखिनेछ ।

समुदाय र विद्यालयको सम्बन्ध
यस विद्यालयको मेरुदण्ड नै स्थानीय समुदाय हो । साना बालबालिकाको भविष्यप्रति चिन्तित शिक्षा प्रेमीहरू, चन्दादाताहरू र अभिभावकहरूको अथक प्रयासले नै विद्यालय आज यो उचाइमा पुगेको हो । विद्यालयले पनि समुदायसँगको सम्बन्ध मजबुत बनाउन नियमित अभिभावक भेला, घरदैलो कार्यक्रम र ‘विद्यालय समुदाय साझेदारी’ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

पौवाको एक कुनाबाट सुरु भएको सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालय आज हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने केन्द्र बनेको छ । प्रधानाध्यापक दिननाथ गिरीको नेतृत्वमा विद्यालयले भौतिक सम्पन्नता र शैक्षिक गुणस्तरलाई सँगसँगै लैजाने सङ्कल्प गरेको छ । स्थानीय सरकार, अभिभावक र दक्ष जनशक्तिको संयुक्त प्रयासबाट यो विद्यालय आगामी दिनमा यस क्षेत्रकै एक उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?