Butwal Today

भिडबिच चम्किँदै नवीन औद्योगिक

विद्यार्थी सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा व्यवस्थापन चुनौतीहरू पनि थपिँदै गएका छन् । तथापि विद्यालयले गुणस्तरलाई प्राथमिकतामा राख्दै अघि बढ्ने नीति लिएको प्रधानाध्यापक बस्नेत बताउँछन् । “विद्यार्थी सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने ।
२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल  । बुटवल उपमहानगरपालिका–११ देवीनगरको घना बस्तीबिच अवस्थित नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा शैक्षिक तथा भौतिक दुवै दृष्टिले उल्लेखनीय प्रगति गर्दै अगाडि बढिरहेको छ ।

वि.सं. २०३३ सालमा स्थापना भएको यो विद्यालय अहिले अर्ध शताब्दी पार गर्दै आधुनिक, गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । भिडभाडयुक्त क्षेत्रमा रहे पनि विद्यालयले आफ्नो विशिष्ट पहिचान निर्माण गर्दै ‘भीडभित्रको सुन्दर विद्यालय’ का रूपमा चिनिन थालेको छ ।

स्थापनाकालदेखि नै सीमित स्रोत–साधनका बिच सञ्चालन हुँदै आएको यस विद्यालयले समयसँगै पूर्वाधार विकासमा ठुलो फड्को मारेको छ । व्यवस्थित कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला जस्ता सुविधाहरू विस्तार हुँदै गएका छन् ।

विद्यालय प्रशासनका अनुसार आगामी दिनमा गणित प्रयोगशाला थप सुदृढ गर्ने तथा कम्प्युटर प्रयोगशालालाई अझ आधुनिक बनाउने योजना अघि बढाइएको छ ।

यस विद्यालयको अर्को विशेषता भनेको यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको सामाजिक पृष्ठभूमि हो । गरिब, सुकुम्वासी तथा निम्न आर्थिक अवस्था भएका परिवारका धेरै विद्यार्थी यहाँ अध्ययनरत छन् ।

यस्तो पृष्ठभूमिका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको भविष्य उज्ज्वल बनाउने लक्ष्यका साथ विद्यालयले निरन्तर काम गरिरहेको छ । विद्यालयले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई समेत समेट्दै समावेशी शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

????????????????????????????????????

शैक्षिक कार्यक्रमका हिसाबले विद्यालयले विविधता र गुणस्तर दुवैलाई प्राथमिकता दिएको छ । मन्टेश्वरीदेखि कक्षा १० सम्म सामान्य शिक्षा सञ्चालन भइरहेको छ भने कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ पढाइ पूर्ण अङ्ग्रेजी माध्यममा सञ्चालन भइरहेको छ ।

त्यस्तै कक्षा ११ र १२ मा विज्ञान समूह पूर्ण अङ्ग्रेजी माध्यममा तथा व्यवस्थापन समूहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । यसले विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार विषय छनोट गर्ने अवसर प्रदान गरेको छ ।

विद्यालयले विद्यार्थी–केन्द्रित शिक्षण विधिलाई विशेष जोड दिएको छ । कक्षाकोठाभित्र मात्र सीमित नभई प्रस्तुतीकरण, समूहगत छलफल, परियोजना कार्य जस्ता विधिमार्फत सिकाइलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।

बालमैत्री वातावरण निर्माण गर्दै विद्यार्थीलाई स्वतन्त्र रूपमा सिक्ने अवसर प्रदान गरिएको विद्यालय प्रशासनको भनाइ छ ।
हाल विद्यालयमा करिब ५ हजार ६४ विद्यार्थी अध्ययनरत छन् भने १ सय ८४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कक्षा ११ र १२ का विभिन्न विषयहरूमा ४१ जना शिक्षकले नेपाल सरकारको स्रोतबाट पारिश्रमिक पाउँदै आएका छन् भने १ सय ४३ जना शिक्षक विद्यालयको आफ्नै स्रोतबाट सञ्चालन भइरहेका छन् । यसले विद्यालयको व्यवस्थापन क्षमता र समुदायको योगदानलाई स्पष्ट पार्छ ।

विद्यालयको इतिहासमा २०६४ साल महत्त्वपूर्ण मानिन्छ, जब पहिलो पटक एसएलसी (हालको एसइई) परीक्षामा विद्यार्थी सहभागी भएका थिए । त्यसपछि विद्यालयले नर्सरीदेखि नै अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेको थियो ।

विद्यालयको नामकरणसमेत सामाजिक योगदानसँग जोडिएको छ । स्थानीय समाजसेवी कदरबहादुर रायमाझीले आफ्नो धर्मपत्नी रिता रायमाझीको स्मृतिमा विद्यालयलाई नामकरण गर्न सहयोग पु¥याएपछि वि.सं. २०६७ माघ १० गतेदेखि विद्यालयको नाम ‘नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय’ राखिएको हो ।

शैक्षिक उपलब्धिका हिसाबले पनि विद्यालय अग्रपङ्क्तिमा देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा सातै प्रदेशका ४२ विद्यालयमध्ये शैक्षिक असल अभ्यासतर्फ नेपालमै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

यसका साथै ब्रिटिस काउन्सिलबाट चार पटकसम्म अन्तर्राष्ट्रिय स्तरको मान्यता (आइएसओ) प्राप्त गरेको विद्यालय सिभिल इन्जिनियरिङ अध्ययनतर्फ पनि कक्षा ९ र १२ मा देशकै उत्कृष्टमध्ये पर्न सफल भएको छ । विज्ञान प्रवद्र्धन कार्यक्रमअन्तर्गत देशभरका १ सय १४ विद्यालयमध्ये छनोटमा पर्नु पनि यसको अर्को उपलब्धि हो ।

विद्यालयलाई लुम्बिनी प्रदेशकै नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यसका लागि भौतिक पूर्वाधार विस्तारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिइएको छ । प्रविधिमैत्री शिक्षण, बालमैत्री तथा अपाङ्गतामैत्री वातावरण, व्यावहारिक तथा बजारमुखी शिक्षा, पारदर्शी र उत्तरदायी व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य अघि सारिएको छ ।

भविष्यका योजनाअन्तर्गत विद्यालयले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने, विद्यार्थीमैत्री शौचालय, स्वच्छ पिउने पानी, चमेना गृह व्यवस्थापन, सिभिल इन्जिनियरिङ प्रयोगशाला निर्माण तथा खेलकुद पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।

विशेष गरी क्रिकेट खेलप्रति विद्यार्थीको आकर्षणलाई ध्यानमा राख्दै अभ्यास स्थल निर्माण गर्ने तयारी गरिएको छ । विद्यार्थी सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा व्यवस्थापन चुनौतीहरू पनि थपिँदै गएका छन् ।

तथापि विद्यालयले गुणस्तरलाई प्राथमिकतामा राख्दै अघि बढ्ने नीति लिएको प्रधानाध्यापक बस्नेत बताउँछन् । “विद्यार्थी सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने ।

समग्रमा, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय केवल एउटा शैक्षिक संस्था मात्र नभई समुदाय, अभिभावक र विद्यार्थीको साझा प्रयासबाट निर्माण भएको सफलताको उदाहरण हो ।

विद्यालयलाई अझ उत्कृष्ट बनाउन शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय सबैको सहकार्य आवश्यक देखिन्छ । भीडभित्र रहेको यो विद्यालयले गुणस्तरीय शिक्षामार्फत उज्यालो भविष्यको बाटो देखाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?