Butwal Today

देशकै शान: कालिका मानवज्ञान 

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

बुटवल  । बुटवलको योगीकुटीमा स्थानीयहरूको अग्रसरतामा वि.सं. २०१८ सालमा विश्व शान्ति नेपाल राष्ट्रिय प्रा.वि. नामबाट एउटा फुसको टहराबाट सुरु भएको कालिका मानवज्ञान मावि अहिले विशाल भौतिक संरचना र अब्बल पढाइ हुने देशकै ठुलो विद्यालय बनेको छ ।

देशका विभिन्न ठाउँबाट आएका सात हजार ८११ जना विद्यार्थीहरू अध्ययनरत रहेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन (होटल व्यवस्थापन, कम्प्युटर), कानुन, शिक्षा, मानविकी, ललितकला, कम्प्युटर इन्जिनियरिङ्ग विषय अध्यापन भइरहेको छ ।

कालिका नामाकरणसहित योगिककुटीबाट कालिकानगरमा स्थानान्तरण भएको विद्यालयले वि.सं. २०२९ सालमा नि.मा.वि. र २०३२ सालमा माध्यमिक तहको स्वीकृत भई २०६५ सालबाट कक्षा ११÷१२ को कक्षा सञ्चालन गरिरहेको छ. वि.सं. २०७५ सालमा बुटवल उपमहानगरपालिका वडा नं. १० मा रहेका २ विद्यालय कालिका मा.वि. र मानवज्ञान मा.वि. एक आपसमा गाभिई कालिका मानवज्ञानको नामबाट विद्यालय सञ्चालन भइरहेको छ ।

२०६५ सालमा शिक्षा, मानविकी र व्यवस्थापनमा +२ तह सुरु गरेको विद्यालयले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको उच्च मागलाई मध्यनजर गरी वि.सं. २०६७ सालमा कक्षा ११÷१२ मा विज्ञान विषय थप, २०७० मा प्राविधिक विषय कम्प्युटर इन्जिनियरिङ विषय थप, २०७३ सालमा कानुन, वि.सं. २०८१ सालमा होटल व्यवस्थापन र २०८२ सालमा ललितकला विषय थप गरी पठन पाठन गराइरहेको छ ।

कक्षा ११ र १२ मा मात्र विद्यालयमा ३५०० विद्यार्थी अध्ययनरत छन् । वि.सं. २०८१ देखि शिक्षा मन्त्रालयबाट विज्ञान विषय प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन भइरहेको छ ।

साहित्य, सङ्गीत, खेल तथा अन्य शैक्षिक विधाहरूमा विद्यार्थी तथा शिक्षकहरूले दिएको उल्लेखनीय योगदानले गर्दा विद्यालयलाई अब्बल साबित गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् ।

कक्षा १२ उत्तीर्ण भइसकेपछि मेडिकल, इन्जिनियरिङ, लोकसेवा, बैङ्किङ, वन विज्ञान, कृषि विज्ञान, नर्सिङ तथा वित्तीय सेवामा जाने देश भरकै विद्यालयहरूमध्ये सबैभन्दा धेरै जना विद्यार्थीहरू कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट रहेको प्रधानाध्यापक थापाको दाबी छ ।

वि.सं. २०७३ सालमा राष्ट्रिय प्रथम, २०७४ सालमा राष्ट्रिय तृतीय, पुनः २०८० सालमा विभिन्न १६ वटा सूचकहरूमा राष्ट्रिय प्रथम र प्राविधिकतर्फ २०७१ सालदेखि लगातार हालसम्म राष्ट्रिय प्रथम, २०८१ मा प्लस टु अकाडेमिक एक्सिलेन्स अवार्ड प्राप्त गरेको कालिकाले २०८२ सालमा सर्वोत्कृष्ट सामुदायिक शैक्षिक संस्थाको पुरस्कार प्राप्त गरी देशभरका विद्यालयहरूमा उत्कृष्ट नमुना विद्यालय हुन सफल भएको छ ।

यो विद्यालयको विद्यार्थीहरूको शैक्षिक नतिजा उत्कृष्ट रहेको छ । कक्षा १२ अर्थात् एस.एल.सी. परीक्षाको नतिजा ९६.७३ प्रतिशत छ ।
बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि उचित सिकाइ वातावरण व्यवस्थापनसहित शिक्षा प्रदान गर्नु विद्यालयको मूल दृष्टिकोण रहेको थापा बताउँछन् ।

व्यक्तित्व विकास र जीवन सिप, मूल्यमा आधारित शिक्षा, समयानुकूल प्रविधिमुखी शिक्षा, समुदायको सहभागिता र समान पहुँचलाई मूल मन्त्र बनाएर विद्यालय सञ्चालन भइरहेकोले नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल भएको उनको भनाइ छ ।

कक्षामा धेरै सेक्सनहरू भएकोले हरेक कक्षामा एक एक जना इन्चार्जको व्यवस्था गरी शैक्षिक प्रशासनको जिम्मेवारी तोकी कार्य विभाजन गरिएको छ । कक्षालाई व्यवस्थित गर्नको लागि विद्यार्थीहरूको सहभागितामा कक्षा व्यवस्थापन समिति बनाइएको छ र यो समिति मार्फत हरेक शुक्रबार सह क्रियाकलाप सञ्चालन हुन्छ ।

विद्यार्थीहरू नै सक्रिय भई आफै कार्यक्रम उत्पादन तथा सञ्चालन गर्ने भएकोले विद्यार्थी प्रतिभा पहिचान गरी उनीहरूको व्यक्तिगत विकासमा थप टेवा पुगेको छ ।

कक्षा ९ देखि १२ साधारण र प्राविधिक धार सञ्चालन छ । विशेष गरी विषयगत शिक्षण विधिबाट डिजिटल कक्षा व्यवस्थापन गरी शिक्षण सिकाइ कार्य सञ्चालन भइरहेको छ । विषयगत समितिमार्फत विषयगत समस्या समाधान गर्नको लागि आवश्यक परामर्श, कार्यशाला तथा छलफल कार्य नियमित गर्ने गरिएको छ ।

हरेक विधामा उत्कृष्ट विद्यार्थीहरू पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने व्यवस्था छ । ३.६० वा सो भन्दा बढी जिपिए प्राप्त गर्ने विद्यार्थीहरूका साथै विभिन्न खेलका उत्कृष्ट खेलाडीको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था विद्यालयले गरेको छ ।

होटेल व्यवस्थापनका विद्यार्थीहरूलाई होटेल भिजिट, ट्रेकिङ्ग, होमस्टे जस्ता नियमित कार्य सञ्चालन, कानुनका विद्यार्थीहरूबाट नियमित कानुनी तथा सामाजिक सचेतना कार्यक्रम सञ्चालन, आइसिटी क्लबका विद्यार्थीहरूबाट कम्प्युटर कक्षा सञ्चालन तथा प्रविधि प्रदर्शनी कार्यक्रम सञ्चालन, कक्षा ११ मा मानविकी समूह अन्तर्गत गणित विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराइ उत्कृष्ट विद्यार्थीलाई विद्यालयमा नै अध्यापन कार्य गर्न अवसर प्रदान गरिएको छ ।

विद्यार्थीहरूको सङ्गीत विधाको गायन प्रतिभालाई प्रस्फुटन गर्नको लागि एक रेकर्डिङ्ग स्टुडियोको व्यवस्थापन गरिएको छ । उत्कृष्ट गायन प्रतिभा भएको विद्यार्थीको गीत निःशुल्क रूपमा रेकर्ड गरिन्छ भने शिक्षकहरूले आफूले अध्यापन गराउने विषयको अडियो भिडियो कक्षा सामग्रीहरू रेकर्ड गरी प्रयोग गर्ने व्यवस्था छ ।

कालिका मानवज्ञान माविले सञ्चालन गरेको छात्रावासमा ४३ जना अनाथ तथा गरिब विद्यार्थीहरू बसी अध्ययन गरिरहेका छन् । कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने र विद्यार्थीहरूको सम्पूर्ण भरण पोषण कार्यसमेत विद्यालयले व्यवस्थापन गर्ने गरी सञ्चालित यो छात्रावास नेपालमै पहिलो हो । छात्रावासको सञ्चालन व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गरिरहेको छ ।

कालिका मानवज्ञान पछिल्लो दशाकमा बुटवलको महत्त्वपूर्ण शैक्षिक पर्यटनको थलो समेत बनिरहेको छ । हरेक वर्ष देशका विभिन्न भागबाट स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शैक्षिक अभियन्ता र विद्यार्थीहरूका करिब ३०० समूह कालिकाको शैक्षिक अभ्यासको बारेमा बुझ्न र सिक्न आउने गरेका छन् ।

विद्यार्थीहरूको सिकाइ स्तर विस्तार र विकासका लागि दक्ष शिक्षक र वातावरणको उचित व्यवस्थापन गर्ने, उपलब्ध स्रोत साधनहरूको अधिकतम उपयोग गर्ने, व्यवहारिक, प्रविधियुक्त र प्रयोगात्मक अभ्यासलाई जोड दिने, वैश्विक परिवेश अनुकूल संस्कारयुक्त जनशक्ति उत्पादनमा जोड दिने, अभिभावकहरूको सक्रिय सहभागिता गराउने, विद्यार्थी शिक्षक सम्बन्ध सुमधुर गराउने विद्यालयको योजना रहेको प्रधानाध्यापक थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?