© 2026
पाल्पा । पाल्पा बोटे गाउँकी माया घर्तीले व्यावसायिक रूपमा मदिरा बनाउन छोडेको पाँच वर्ष भयो ।
उनी मात्र होइन, उनीजस्तै यसअघि मदिरा उत्पादनलाई नै आम्दानीको प्रमुख स्रोत बनाएका सयभन्दा बढी परिवारका महिलाहरूले अहिले यो पेसा पूर्ण रूपमा त्यागिसकेका छन् ।
हिजो बुटवल र भैरहवाका होटलहरूमा मदिरा पु¥याउने हातहरू आज ताजा तरकारी बोकेर बुटवलको हाटबजार पुग्ने गर्छन् ।
स्थानीयका अनुसार, गाउँमा अचेल मदिरा उत्पादन मात्र होइन, सेवन गर्नेहरू पनि बिरलै भेटिन्छन् । मदिराको दुर्गन्ध आउने बस्ती अहिले सिमी र काँक्राको सुगन्धले मगमगाउँछ ।
बोटे गाउँको माटो उर्वर थियो, पाखुराहरू कर्मशील थिए, तर अभाव थियो त केवल सिँचाइको । सङ्घीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना सिँचाइ कार्यक्रममार्फत करिब ५ किलोमिटर लामो पक्की कुलो निर्माण भएपछि गाउँको भाग्य नै बदलियो ।
२४ सै घण्टा सिँचाइको सुविधा उपलब्ध भएपछि स्थानीयहरू मदिराको काम छोडेर व्यावसायिक खेतीमा होमिए । अहिले यो गाउँले बुटवल–पाल्पा सडक खण्ड र बुटवलका बजारहरूमा आफ्नै बेग्लै पहिचान बनाउन सफल भएको छ ।
व्यावसायिक खेतीले गाउँलेको जीवनशैलीमा चमत्कारिक परिवर्तन ल्याएको छ । स्थानीय हरि थापाका अनुसार, गाउँमा अहिले भक्तपुरे जातको काँक्रा मात्रै प्रति सिजन ५ देखि ८ टनसम्म उत्पादन हुन्छ । तरकारी खेतीबाट एउटा परिवारले न्यूनतम ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
कृषक सूर्य बहादुर बगाले यसको प्रत्यक्ष उदाहरण हुन् । उनी वार्षिक १५ देखि २० लाख रुपैयाँसम्मको लहरे तरकारी बिक्री गर्छन् । उनी भन्छन्, “गाउँमा यति छिटो परिवर्तन होला भन्ने कल्पना समेत थिएन, अहिले हाम्रो कमाइले वैदेशिक रोजगारीलाई समेत माथ खुवाएको छ ।“ अहिले सिजनको समयमा यो सानो गाउँमा मात्रै दैनिक ६ लाख रुपैयाँ भित्रिने गरेको छ ।
हिजोका फुसका झुपडीहरू विस्थापित भएका छन् । गाउँमा अहिले पक्की इट्टाका ढलान घर र रङ्गिन टिनका छानाहरू देखिन्छन् । आर्थिक अभावका कारण सरकारी विद्यालयमा समेत पढाउन धौ–धौ हुने परिवारले अहिले आफ्ना छोराछोरीलाई बुटवलका निजी विद्यालयहरूमा पढाउन थालेका छन् ।
बजार व्यवस्थापन: स्थानीय सरकारले बुटवलको हाटबजारमा ’बिक्री कक्ष’ (सटर) को व्यवस्था गरिदिएपछि कृषकहरू थप प्रोत्साहित भएका छन् ।
स्थानीय तह र कृषि परियोजनाले कृषकलाई केवल बिउ मात्र दिएनन्, प्रविधि र ज्ञान पनि दिए । प्राविधिक वीरेन्द्र शाहका अनुसार गाउँपालिकाले कृषि यन्त्र, प्लास्टिक टनेल, मल्चिङ प्रविधि र रोग किरा नियन्त्रणमा सहयोग गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ भन्छन्, “हामीले उत्पादनलाई बजारसँग जोडेका छौँ । अब उत्पादनमा आधारित ढुवानी अनुदानको व्यवस्था गर्ने तयारीमा छौँ ।“ त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरणका सन्तोष चौधरीले कृषकहरूलाई तौल मेसिन र उन्नत बिउ वितरण गरी उनीहरूको ऊर्जा बढाउने काम भइरहेको बताए ।
हिजो ’बोटे गाउँ’ भन्दा मदिराको छवि आँखा अगाडि आउँथ्यो भने आज ’व्यावसायिक कृषि’ को चित्र आउँछ । वैदेशिक रोजगारीको विकल्पमा आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने सन्देश यो गाउँले दिएको छ । दोभानको यो रूपान्तरण अन्य स्थानीय तहका लागि पनि एउटा उत्कृष्ट सिकाई ( बन्न सक्छ ।