© 2026
बुटवल । बुटवलमा स्थापित अत्याधुनिक स्वास्थ्य संस्था नियोन मल्टिस्पेसियालिटी सेन्टर प्रा.लि.ले स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित बाणगंगा नगरपालिका–६, खुटेनीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नियोन मल्टिस्पेसियालिटी सेन्टरको सहकार्य तथा बाणगंगा नगरपालिका–६ र खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिबार सम्पन्न उक्त शिविरमा स्थानीय बासिन्दाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको हो ।
संस्थाका सञ्चालक महेश पौडेलका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको हो । अर्का सञ्चालक दिपु केसीले शिविरमा ४५० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण, सुगर जाँच, औषधि वितरण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको जानकारी दिए ।
शिविरमा जनरल फिजिसियन, नाक–कान–घाँटी रोग, हाडजोर्नी तथा नसारोग, मधुमेह, मानसिक स्वास्थ्य तथा नसारोग, मुटुरोग तथा ईसीजी जाँच, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड), छाला रोग तथा स्त्री तथा प्रसूति रोगसम्बन्धी परीक्षण सेवा उपलब्ध गराइएको थियो । साथै महिलाहरूका लागि पाठेघर स्क्रिनिङ सेवा पनि प्रदान गरिएको थियो ।
बाणगंगा नगरपालिका–६ का वडा अध्यक्ष करुण टन्डनले नागरिकलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार र सचेत बनाउन यस्ता शिविर प्रभावकारी हुने बताए ।
नगरपालिकाको संस्था शाखा प्रमुख ठगराज पौडेलले निजी स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन गरिने यस्ता शिविरले समुदायमा लुकेर रहेका रोगहरूको पहिचान गर्न तथा समयमै उपचारमा पहुँच बढाउन सहयोग पुग्ने उल्लेख गरे ।
त्यसैगरी खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष मन्जु महतराले प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् ।
सञ्चालक भानु पोखरेलका अनुसार शिविरमा विशेषगरी महिलामा पाठेघरसम्बन्धी समस्या, हातखुट्टा तथा जोर्नी दुख्ने समस्या, नसासम्बन्धी समस्या र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएका थिए ।
शिविरमा जनरल सर्जन डा. नवीन श्रेष्ठ, जनरल फिजिसियन डा. प्रकाश भट्टराई, नाक–कान–घाँटी विशेषज्ञ डा. सन्तोष बस्नेत, नशा तथा मनोरोग विशेषज्ञ डा. सजिता पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विपिन जैसवाल, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. हिरामणि पौडेल, रेडियोलोजिस्ट डा. विकास शर्मा तथा मेडिकल अफिसर डा. श्रीराम पन्थी र डा. गोकुल पौडेलले सेवा प्रदान गरेका थिए ।
नियोन मल्टिस्पेसियालिटी सेन्टरका करिब २० जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको उक्त शिविर सफलतापूर्वक सम्पन्न भएको थियो ।
संस्थाले छोटो अवधिमै समुदायको विश्वास जित्न सफल भएको जनाएको छ । साथै मासिक रूपमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको पनि संस्थाले जानकारी दिएको छ ।