© 2026
नवलपरासी । वर्षौँदेखि डुबानको समस्या झेल्दै आएका पश्चिम नवलपरासीका बासिन्दालाई राहत पु¥याउने उद्देश्यले पाल्हीनन्दन गाउँपालिका–१ स्थित झरही–धनेवा दोभान क्षेत्रमा खोला सफाइ कार्य सुरु गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवालको पहलमा सुरु गरिएको उक्त अभियान अन्तर्गत नदी किनार तथा दोभान क्षेत्रमा थुप्रिएको माटो, बालुवा र भस्कट हटाउने काम थालिएको हो । वर्षमाया सुरु हुनुअघि नदीको बहावलाई सहज बनाउँदै बाढी र कटानको जोखिम कम गर्ने लक्ष्य राखिएको छ ।
स्थानीयका अनुसार झरही र धनेवा खोलाबाट आउने बाढीका कारण प्रत्येक वर्ष जनधनको क्षति हुनुका साथै खेतीयोग्य जमिन कटान हुँदै आएको छ । खोला सफाइपछि पानीको निकास सहज भई डुबानको जोखिम कम हुने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष चुल्हाई यादवले सफाइ अभियानले स्थानीय बासिन्दाको जनधन तथा कृषि भूमि संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीयवासीले यस पहलप्रति सकारात्मक प्रतिक्रिया दिएको र आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा गरेको बताए ।
डुबान समस्याको स्थायी समाधान खोज्ने उद्देश्यले झरही–धनेवा दोभान क्षेत्रको दुई महिनाअघि विभिन्न सरोकारवाला निकायले स्थलगत अवलोकन गरेका थिए । सो क्रममा डुबानका कारण, नियन्त्रणका सम्भावित उपाय तथा सम्बन्धित निकायको भूमिकाबारे अध्ययन गरिएको थियो ।
प्रदेश सभा सदस्य जैसवालले तत्कालका लागि नदी सफाइ कार्य सुरु गरिएको र दीर्घकालीन समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक पूर्वाधार निर्माण गरिने बताए ।
सफाइ कार्य शुभारम्भ कार्यक्रममा नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर तिलकराम बुढाथोकीसहित प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
इन्जिनियर बुढाथोकीका अनुसार चुरे क्षेत्रबाट बगेर आएको बालुवा, ढुंगा र भस्कटका कारण दोभान क्षेत्रमा नदीको बहाव परिवर्तन हुने जोखिम बढ्दै गएको छ । त्यसको प्रत्यक्ष असर सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाका विभिन्न बस्तीमा पर्दै आएको छ ।
यसअघि धनेवा खोलाको व्यवस्थापन तथा कोरिडोर विकासका लागि ११ दशमलव ७७ किलोमिटर लामो परियोजनाको डीपीआर तयार गरिएको थियो । उक्त परियोजनाअन्तर्गत गाइडबन्ड, तटबन्ध तथा कोरिडोर निर्माणका लागि करिब ४९ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
अब झरही खोलाको पनि डीपीआर तयार गरी दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको जैसवालले बताए ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका विगत तीन दशकदेखि डुबानको समस्याबाट प्रभावित हुँदै आएका छन् । विशेष गरी सरावलका चार वटा वडा र पाल्हीनन्दनको शंकरपुर क्षेत्र प्रत्येक वर्ष बाढी र डुबानको चपेटामा पर्ने गरेका छन् ।
स्थानीयवासीले वर्षौँदेखि धनेवा र झरही खोलाको समुचित व्यवस्थापनको माग गर्दै आएका छन् । सरावल गाउँपालिकाले तयार गरेको डीपीआरमा खोलाको दुवै किनारमा सडक कोरिडोर निर्माण, जलनिकास व्यवस्थापन तथा आयआर्जनसँग जोडिएका सम्भावित गतिविधि सञ्चालन गर्ने योजना समेटिएको छ। परियोजना कार्यान्वयन भएमा प्रभावित चार वडाका हजारौं बासिन्दाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।
स्थानीयका अनुसार डुबान समस्यामा गण्डक परियोजनाको संरचनाले समेत प्रभाव पारेको छ । गण्डक सम्झौतापछि कमान्ड क्षेत्रभित्र परेका धनेवा खोलाका दुवै किनारमा भारतीय पक्षले बाँध निर्माण गरेको थियो । समयमै मर्मत सम्भार नहुँदा सिफन तथा अन्य संरचना जीर्ण बन्दै गएका छन्, जसका कारण पानीको निकास अवरुद्ध भई डुबानको समस्या झन् जटिल बनेको छ ।
धनेवा खोलामा विभिन्न कुलो तथा नालाबाट आउने पानी मिसिने भएकाले उचित व्यवस्थापन नहुँदा हजारौं बिघा कृषि भूमि प्रभावित हुँदै आएको छ ।
स्थानीयवासीले डुबान समस्याको दीर्घकालीन समाधानका लागि नेपाल र भारत दुवै पक्षको समन्वय आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार नेपाली पक्षले मात्र बाँध तथा नदी व्यवस्थापन गरेर समस्या समाधान सम्भव छैन।
दशगजा क्षेत्रसम्म तटबन्ध विस्तार गर्न भारतीय पक्षको स्वीकृति आवश्यक पर्ने भएकाले कूटनीतिक तथा प्रशासनिक तहमा समन्वय बढाउनुपर्ने आवश्यकता देखिएको छ । गाउँपालिकाले यस विषयलाई पटक पटक सम्बन्धित निकायमा उठाउँदै आएको जनाएको छ ।