© 2026
बुटवल । बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धानमा गवारो किराबाट प्रभावित भएको छ । गवारो किराको कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसानहरू चिन्तित देखिएका छन् ।
राजापुर नगरपालिकाका व्यावसायिक किसान तथा गणेशबाबा एग्रोसिड कम्पनीका प्रबन्धक पहारी थारूले गवारो किराको कारण यस वर्ष धान उत्पादनमा कम्तीमा १० प्रतिशत ह्रास आउने दावी गरे । उनले हरेक वर्ष गवारोको प्रकोप बढ्दै गएको बताउँदै समयमा किसान र कृषि प्राविधिकले ध्यान नदिँदा धान उत्पादनमा ह्रास आउन थालेको बताए ।
गवारो किरा लाग्ने समय पहिचान गरेर गवारो किरा लागेको पाइएमा विषादी छर्कनुपर्ने बताउँदै उनले अब उत्पादन हुने समय भएकोले केही गर्न नसकिने बताए । गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरका किसान फत्तेसिंह वैद्यले गवारो किरा गत वर्षको भन्दा बढी लागेको बताए ।
थाहा पाउने र प्राविधिक सल्लाह लिने किसानले विषादी र मोहनी पासोको प्रयोग गरेर किराको प्रभाव घटाएको बताउँदै थाहा नपाउने किसानको धेरै नोक्सान भएको बताए । गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुरका किसान सिताराम चौधरीले पनि गत वर्षको तुलनामा यसवर्ष चैते धानमा गवारो किरा बढी लागेको बताए ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्रमुख वीरेन्द्र पराजुलीले हरेक तीन चार वर्षमा कुनै न कुनै किराको प्रकोप आउने गरेको बताउँदै नियन्त्रणका उपायहरू अपनाएका कारण महामारीको रूप नआएको बताए ।
सामान्यतया वर्षे धान भन्दा चैते धानमा रोग किरा लाग्ने भएकोले विषादी बाँड्ने तथा किरा नियन्त्रणका उपाय सिकाउने गरिएको बताए । उनले अझै सामान्य स्थिति भएको हुनाले उत्पादनमा खासै ह्रास नआउने दावी गरे । यस वर्ष बर्दियामा सात सय ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ ।
जसमा चार हजार चार सय २५ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष २०८१÷८२ मा सात सय हेक्टरमा चैते धान रोपिएको थियो
सरकारले धान उत्पादनमा आत्मनिर्भर गराउनका लागि र चैतेधान प्रवद्र्धन गर्नका लागि आर्थिक वर्ष २०७३÷७४ मा धान जोन कार्यक्रम लागु गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा धान सुपरजोन कार्यक्रम लागु गरिएको थियो ।