Butwal Today

विवाह अर्थात् पुनर्जन्म (कथा)

३० फाल्गुन २०८२, शनिबार
अ+
अ-

“बागियोको सेसन रोडनजिकै पहाडमाथि रहेको बागियो क्याथेड्रल चर्च तिमीलाई थाहा छ ? त्यसको निर्माण १० वर्ष लगाएर १९३६ मा सम्पन्न भएको थियो । त्यसै चर्चमा १९४० मेमा मेरो विवाह भयो,” हजुरआमाले भन्नुभयो ।

“मेरो बिहे पनि त्यही चर्चमा भएको बिर्सनुभयो हैन ?” मैले भनेँ, “मैले रायनलाई हृदयको गहिराइदेखि माया गरेकी थिएँ । हजुरआमा, मलाई अझै पनि विश्वास छ– उसले पनि मलाई त्यस्तै माया गरेको थियो । खै सपना झैँ लाग्छ, १० वर्षसम्म गहिरो प्रेम गरेर बिहे गरेका थियौँ हामीले ।” म सुस्केरा निकालिरहेकी थिएँ ।

“तिमीहरूले जस्तो प्रेम गर्न मैले जानिनँ । आफ्नो युगका दृष्टिले पनि म एकदम पुरानो खालकी मान्छे थिएँ । बागियो जस्तो सहरमा हुर्केर त्यहीँ पढेर पनि हुस्सु थिएँ म– लाटी, एकोहोरी, किताबको किरा,” कचौराको तेललाई अलि पर सारेर हजुरआमाले मेरो टाउको राख्ने आफ्नो घुँडा फेर्नुभयो ।

फेब्रुअरीको महिना थियो र कपाङ्गान पहाडको चिसो चिसो यामको पारिलो घाममा हजुरआमाको काखको सिरानी मलाई छोड्न मन लागिरहेको थिएन । हजुरआमा बुढी मान्छेलाई मेरो टाउको बोकिरहँदा सायद गाह्रो भइरहेको थियो तर दुवैका आफ्ना कथा कहानी बाँकी थिए ।

बिहेपछि फिलिपिन्सका कुन कुन टापु घुमेनौँ– रायन र मैले । उत्तरको बाबुयानदेखि दक्षिणको मिन्डनाओसम्म यात्रा ग¥यौँ तर जहाँ पुग्यौँ, झगडा बोकेर फक्र्यौं । हामीले प्रेमको उत्कर्षमा बिहे ग¥यौँ र हनिमुन नामका दुई वर्ष नपुग्दै अलग्गियौँ । अहिले बस्, कोतोकोत नदी शान्त तर शिथिल ध्वनिमा बगिरहेको थियो ।

म हुस्सु पथिक झैँ बाटो बिर्से जस्ती बसिरहेकी छु र रायन कुनै बुढीकन्या लिएर दक्षिणमा दागुपानतिर हराएको छ ।
“तपाईंको पालामा प्रेमविवाह हुन्थेन ?” मैले सोधेँ ।

“किन नहुनु, चार सय वर्षअघिदेखि, भनौँ न– जतिबेलादेखि स्पेनले यहाँ राज्य ग¥यो, त्यतिबेलैदेखि प्रेमविवाह सुरु भएको थियो तर तिम्री हजुरआमा पाँच सय वर्ष पुरानी थिएँ,” हजुरआमाले हाँस्दै भन्नुभयो, “मेरो विवाहलाई पनि प्रेमविवाह नै हो भनेर हल्ला पिटाउनु परेको थियो किनभने मेरो जस्तो बाबुले केटो खोजिदिने विवाह त हाँसोको विषय हुन सक्थ्यो ।”
भेटेजति सबैसँग बा हाँस्दै हाँस्दै भन्नुहुन्थ्यो, “उता स्कुलमा सँगै पढ्दा साथी बनेछन् ।”

अनि कोर्डिलेरा शृङ्खलाबाट माथि उठेर मध्य आकाशमा घाम उभिएका बेला हजुरआमाले आफ्नो विवाह र दाम्पत्यको कथा सुनाउनुभयो– बागियो क्याथेड्रोल चर्चमा सानो वैवाहिक जमघट थियो । दुलहादुलही, पादरी, दुई जना साक्षी, ब्राइड्समेड, ग्रुम्सम्यान, फ्लावर गर्ल, रिङ बेयरर र दुवैतर्फका केही पाहुना गरी थोरै मानिस थिए ।

म बागियो सहरमा हुर्केकी गोरी केटी, नोएल कपाङ्गानगाउँबाट बागियोमा पढ्न गएको केही कालो वर्णको मानिस । कहिल्यै नदेखेको गाउँको मानिससँग सहरिया केटीको बिहे गरिदिँदा बाले भन्नुभएको थियो, “असल छन्, धनी छन्, ठुला व्यापारी हुन्, पाल्छन् ।”

मलाई एकदमसँग लाग्यो– आमाबाबुलगायत आफन्त र साथीहरूसहितको उज्यालो, रमाइलो सहरबाट हठात् चोइटिएर टाढा उत्तरपश्चिमतर्फको कालो अँध्यारो गाउँतर्फ म जाँदै छु ।

नोएल देख्नमा अलि उमेर छिप्पिए पनि सायद लजालु खालका थिए वा घोसे थिए– बाटामा पटक्कै बोल्दैनथे ।
कुनै गाई किनेर बलात् डो¥याइए जस्ती थिएँ म, गाईसँग कोही किन बोल्नु ? अलिकति दाना खायो, पैदल हिँड्यो ।

१० घण्टा पैदल हिँडेर आम्बुरायान रिभरको झोलुङ्गे पुलबाट उकालो लाग्दा बेलुका ७ बजेको थियो र घर आइपुग्दा ८ बजेको थियो । हे भगवान्, घर कति राम्रो थियो तर घरमा एउटी बुढी नोकर्नी मार्थासिवाय कोही थिएन । बाबुआमाले गर्नुपर्ने काम पनि सबै त्यसैले गरी । अँगालो हाल्ने, परिवारमा स्वागत गर्ने र क्रसको चिह्न दिने काम पनि त्यही मोटो ज्यानकी अलिकति खोच्याएर हिँड्ने नोकर्नीले गरी ।

एकदमै राम्रा पर्दा भएको ठुलो कोठा सिँगारिएको थियो । पहिलो रात म ओछ्यानमा डल्लिएकी थिएँ, डरले काम्दै कुनै अज्ञात दुर्घटनाको प्रतीक्षा गरिरहेकी थिएँ ।

अज्ञात भयको साक्षात् रूप अर्थात् नोएल राति ११ बजे प्रवेश गरे । पैतालादेखि तालुसम्म एकैचोटि ज्वरो आए जस्तो भयो र मुख सुके जस्तो भयो मलाई, आफ्नै जिब्रो एकदम खस्रो भएर तालुमा टाँसिएको थियो । “गर्मी छ आज, झ्याल खोलेकै छैन जस्तो छ,” नोएलले भने । उनले अलिकति पर्दा उघारेर झ्याल खोले र पर्दा फेरि बन्द गरिदिए ।

“चुकुल लगाएर सुत्नु,” उनी बाहिर निस्के ।
के भयो ? मबाट केही गल्ती भयो ? किन उनी बाहिर निस्के ? के मैले लोग्नेको स्वागतमा केही बोल्नु पथ्र्यो ? लोग्ने त्यहाँ प्रवेश गर्दा म उठ्नु पथ्र्यो ?

मलाई फेरि डर लाग्यो । लोग्ने प्रवेश गर्नुभन्दा अघि पनि डर लागेको थियो, प्रवेश गर्दा झन् डर लाग्यो र निस्केपछि त झन् धेरै गुना डर लाग्यो ।

हजुरआमा एकदम पर कोतोकोत नदीपारिको पाखामा हेरेर बोलिरहनुभएको थियो– मानौँ त्यहाँ हजुरआमाको जीवन घिसारिँदै छ । त्यस विशाल घरमा धेरै कोठा थिए र पनि प्रायः बन्द थिए । शून्यता मात्र व्याप्त थियो । मार्थाले बिहानको खाजा तयार गरेर मलाई तल बोलाउँदासम्म नोएल घरबाट निक्लिसकेका हुन्थे । “तिम्रा मालिक घरमा हुनुहुन्न ?” म मार्थालाई सोध्ने गर्थें ।

“अघि नै निक्लिबक्स्यो,” थोरै बोलेर अर्कातिर हुत्तिइहाल्थी त्यो ।  नोएल मेरो कोठामा बिरलै पस्थे र निक्लिहाल्थे– भुतको आकृतिमा । न उनी झगडा गर्थे न धेरै बोल्थे न त हाँसेको नै देखिन्थ्यो ।

मार्था कतै बाहिर हाटबजारतिर निस्केकी थिई । घरमा प्रायः सधैँ झैँ म एक्लै थिएँ । त्यस विशाल घरका बन्द कोठालाई हेर्दै र गणना गर्दै म एक दिन उत्तरपट्टिको लहरतिर लागेँ । त्यो सुन्दर घर सफा र विशाल भुतबङ्गला झैँ थियो, जसको कुनै पनि कुनाबाट हठात् मेरोसामु कुनै अग्लो भुत खडा हुन सक्छ । यो एउटा सुन्दर देखिने एकान्त नर्क थियो, जहाँ न सास जान्छ न त सास सजिलोसँग फेर्न सकिन्छ ।

नोएल उनको कोठाभन्दा बाहिरको सानो कोठामा सुत्छन् भन्ने त मलाई थाहा थियो तर कतिखेर सुत्छन् र कतिखेर उठ्छन् थाहा थिएन । उत्तरतिर हिँड्दै जाँदा त्यहाँ मैले एउटा झ्याल देखेँ, जुन राम्रोसँग बन्द गरिएको थिएन । एउटा जिज्ञासाले प्रेरित भएर मैले झ्यालको एउटा पल्ला खोलिदिएँ ।

आम्मै ! त्यहाँ तरकारी खेती गरिएको विशाल फाँट थियो । बन्दा, काउली, आलु आदि फाँटभरि पनि थिए र नोट कपी र कलम लिएका नोएलको छेउमै ती तरकारीका थुप्रा लगाइएका थिए । काराबाओ जातिका चार वटा भैँसी अनि केही घोडा, खच्चड र गधाको ढाडमा केही मोटो र डल्लो ज्यानका मानिसहरूले तरकारीका भारी बाँधिरहेको देखिन्थ्यो ।

“धनी छन्, ठुला व्यापारी हुन्, पाल्छन्,” बाले भनेको सम्झेँ र कति दिनपछि मनमनै हाँसेँ म ।
महिना दिन पुगेको भोलिपल्ट मैले एउटा स्टोर जस्तो कोठा खुला देखेँ । एकदमसँग सफा थियो सबैतिर । सायद मार्था यी सबै काम गर्दी हो । एउटा सानो टेबुलमाथि केही किताब थिए । एउटा मोटो पुस्तक झम्टिन पुगेँ तर यसैबेला मेरोपछाडि कोही उभिए झैँ लाग्यो । भुत ? मेरो सातोपुत्लो उड्यो । पछाडि नोएल उभिएका थिए । “ठिक छ, पढ्नु राम्रो कुरा हो,” उनले भने, “तर पहिले यो आमाको चिठी पढ ।”

“चिठी ? आमाको ?” म अनौठा आश्चर्यको भुमरीमा परेँ । पुस्तक पाइएको थियो, नोएल रिसाउनुको सट्टा मीठो बोलिरहेका थिए र कतैबाट आमाको चिठी आइपुगेको थियो । यी सबै सुखद आश्चर्य एकैसाथ घटित भएका थिए ।

“हुलाकी आएको थियो,” बन्द खाम मलाई दिएर नोएलले भने । चिठी पढ्दापढ्दै मलाई रिँगटा लाग्यो र छेउको कुर्सीमा आश्रय लिन पुगेँ । माइतीघरमा आगलागी भएको थियो र बालाई चोटपटक लागी हस्पिटल भर्ना गरिएको थियो । म दौडिहाल्न चाहन्थेँ तर न मसँग त्यस्तो बाटो एक्लै हिँड्ने साहस थियो न त नोएलसँग कुनै कुराको अपेक्षा गर्ने खालको सम्बन्ध थियो ।

“हामी भोलि बिहानै घोडा लिएर बागियोतिर लागौँला,” नोएलले भने, “रुनु मात्र कुनै समस्याको समाधान होइन ।”
“तपाईं पनि ?” मैले आश्चर्यले नोएलको अनुहारमा हेरेँ ।

“किन र ? मेरो पनि परिवार हो, म पनि त जानु पर्छ,” नोएलले भन्दा मेरो छाती पग्लेर केही थप आँसु बगे ।
“तपाईंहरू कसरी बागियो पुग्नुभयो, हजुरबाले कसरी उदार हृदयले सहयोग गर्नुभयो र तपाईंका बाबुआमालाई मनाएर यहाँ आफ्नै घरमा ल्याएर राख्नुभयो भन्ने कथा त मैले पहिले नै सुनेको हो ।”

“बागियो गएकै बेला तिम्रा हजुरबाले पहिलोचोटि भनेका थिए– एलिजाबेथ, तिमी सुन्दर छौ र बुद्धिमती छौ, तिम्रो जस्तो धैर्य कुनै पनि मानिसमा मैले देखेको छैन,” हजुरआमाले भन्नुभयो, “उनकी पहिली पत्नीसँग अगाध प्रेम रहेछ तर तिनी पहिरोमा पुरिएर मरेपछि नोएल अवसादमा रहेछन् । त्यस अदृश्य घाउमा प्रेमको मलम लगाउने काम मैले गरेँ ।”
“सुनेकी छु त पहिल्यै, तपाईं बिर्सनुहुन्छ, अब नदोहो¥याउनु,” मैले भनेँ ।

“तिम्रो प्रेमविवाह असफल भयो,” हजुरआमाले भन्नुभयो, “मेरो नितान्त अपरिचित व्यक्तिसँग धकेलिएको राम्रो हुने आशा पनि नगरिएको विवाह पछि आएर कति राम्रो भयो ।”

“अनि ?”
“दाम्पत्यको सुन्दरता विवाह कसरी कुन प्रक्रियाले भएको थियो भन्ने कुराले निर्धारण गर्दैन, विवाहपूर्वको सम्बन्ध कस्तो थियो भन्ने कुराले पनि गर्दैन, विवाहपछिको जीवन त एक खालको पुनर्जन्म जस्तो हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?