© २०२३
बुटवल, २७ पुस ।
विदेशको तातो घाममा पसिना बगाउँदै बिताएका १२ वर्षपछि रुपन्देहीको सैनामैना नगरपालिका–३ गंगानगरका हरिहर ज्ञवालीले एउटा साहसी निर्णय गरे–अब भविष्य विदेशमा होइन, आफ्नै गाउँको माटोमा खोज्ने ।
साउदी अरबमा ७ वर्ष र मलेसियामा थप ५ वर्ष श्रम गरेका ज्ञवाली आज स्वदेशमै व्यावसायिक पशुपालनमार्फत उदाहरणीय किसानको रूपमा स्थापित भएका छन् ।
विदेशी भूमिमा बिताएका वर्षहरू उनका लागि सङ्घर्षपूर्ण मात्र होइन, सिकाइका पनि वर्ष थिए ।
“विदेशमा कमाएको अनुभवले मलाई आत्मनिर्भर बन्न सिकायो,” ज्ञवाली भन्छन् । यही सोचका साथ उनले विदेश नजाने अठोट गरे र आफ्नै गाउँको जग्गामा व्यावसायिक कृषि फार्म सुरु गरे । वि.सं. २०७४ सालमा औपचारिक रूपमा फार्म दर्ता गरे पनि उनी २०७१ सालदेखि नै कृषि कर्ममा होमिइसकेका थिए ।
सुरुवातमा घरमै भएका २–३ वटा भैँसीबाट व्यवसाय थालेका ज्ञवालीको फार्ममा अहिले १५ वटा भन्दा कम भैँसी कहिल्यै हुँदैनन् । निरन्तर मेहनत, व्यवस्थापन र अनुभवका कारण उनको फार्म बिस्तार हुँदै गयो । हाल बिहान–साँझ गरी दैनिक ३० देखि ३५ लिटर दूध उत्पादन हुन्छ भने उत्पादन राम्रो हुँदा ४० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ ।
ज्ञवालीले सुरुवाती चरणमा पशुपालनसँगै व्यावसायिक कुखुरा पालन पनि गरेका थिए । कुखुरा पालनबाट राम्रै आम्दानी भए पनि एकैसाथ दुवै व्यवसायलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन भएपछि उनले कुखुरा पालन छाडे र अहिले विशुद्ध पशुपालनमै केन्द्रित भएका छन् ।
“एकै पटक धेरै गर्नुभन्दा एउटा काम राम्रोसँग गर्नु बेस रहेछ,” उनको अनुभव छ । उनका अनुसार हाल तराई क्षेत्रमा दानामा आधारित पशुपालन बढ्दै गएको छ, जसले दीर्घकालीन रूपमा किसानलाई घाटा पु¥याउन सक्छ ।
“पहाडी जिल्लामा भैँसी पालन घटेपछि भारतबाट आयात गरिएका भैँसीले सुरुमा धेरै दूध दिन्छन्, तरपछि उत्पादन घट्दै जान्छ,” उनी भन्छन् । घाँसमा आधारित दिगो पशुपालनतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।
दूधको बजारीकरणमा भने ज्ञवालीलाई कुनै समस्या छैन । फार्ममा उत्पादन भएको पूर्ण अर्ग्यानिक दूध मुर्गिया बजार आसपासका घरघरमै पु-याइन्छ । “गुणस्तरीय र स्वच्छ दूध भएकाले ग्राहक आफैँ खोज्दै आउँछन्,” उनी भन्छन् । तर किसानको उत्पादनलाई सहज बजार पहुँच दिलाउन सरकारी निकायले अझै प्रभावकारी भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।
ज्ञवाली केवल व्यक्तिगत व्यवसायमै सीमित छैनन् । उनले गाउँका अन्य किसानलाई समेत समेटेर गंगानगर स्मार्ट कृषि सहकारी संस्था स्थापना गरेका छन् । स्मार्ट कृषि कार्यक्रम अन्तर्गत संयोजक भएर काम गरिसकेका उनी सहकारीमार्फत सामूहिक कृषिको अवधारणा अघि बढाइरहेका छन् ।
५० जना किसानबाट सुरु भएको सहकारीमा हाल २ सय ६५ सदस्य आबद्ध छन् । सहकारीले धान, मकै, गहुँ, तरकारी तथा खाद्यान्नजन्य बीउ र मलको कारोबार गर्दै आएको छ र अझ बिस्तारको क्रममा छ ।
कृषिमा मौसमजन्य जोखिम सधैँ रहने उल्लेख गर्दै उनले स्थानीय पशु शाखा र सम्बन्धित निकायले किसानलाई सहुलियत दिनुपर्ने आवश्यकता औंल्याए । “मौसमको मारले किसानले धेरै नोक्सानी बेहोर्नुपर्छ, त्यसैले नीति र सहयोग किसानमैत्री हुनुपर्छ,” उनको भनाइ छ ।
यस सफल यात्रामा उनकी श्रीमती इन्दिरा देवी ज्ञवालीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । फार्मको व्यवस्थापन र भैँसीको हेरचाहमा उनी सक्रिय छिन् । वित्तीय अनुशासनमा अब्बल इन्दिरा देवी विभिन्न वित्तीय संस्थाबाट लिएको कर्जा समयमै भुक्तानी गर्दै नियमित बचत र ऋण कारोबार गर्छिन् ।
यही कारण केही समयअघि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, सेमलार शाखाबाट नगद १० हजारसहित उत्कृष्ट ऋणीको रूपमा सम्मानित पनि भएकी छिन् ।
आज हरिहर ज्ञवाली विदेश जाने सोचमा छैनन् । उनी भन्छन्, “आफ्नै देशमा मेहनत गर्न सके अवसरको कमी छैन ।”
विदेशको पसिनाबाट गाउँकै समृद्धिसम्म आइपुगेका ज्ञवालीको कथा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ–जहाँ कृषि केवल पेशा होइन, आत्मनिर्भरता र सम्मानको आधार बनेको छ ।