© २०२३
अर्घाखाँची, ३० भदौ ।
अर्घाखाँची जिल्लामा कैदी बन्दीहरू जेल तोडेर भाग्न सक्ने आशङ्का भएपछि जिल्ला प्रशासन कार्यालयले सन्धिखर्क स्थित कारागार परिसर वरपर निषेधाज्ञा जारी गरेको छ ।
आइतबार बिहान १२ बजेदेखि लागू भएको यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कारागार परिसरका चारै तर्फका नजिकका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन रोक लगाइएको छ ।
पूर्वतर्फ सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको आटिकापाटा प्रवेशद्वार, पश्चिमतर्फ कभर्डहल देखि गच्छे बजार जाने मोटर बाटो सम्म, उत्तरतर्फ सन्धिखर्क–गोरुसिङ्गे सडकको कभर्डहलसम्मको ठाडो खोल्सी र दक्षिणतर्फ आटिकापाटा प्रवेशद्वार देखि गच्छे बजार जाने ठाडो बाटोसम्म चारैकिल्लामा संवेदनशील क्षेत्र मानेर निषेधाज्ञा लगाइएको हो ।
जेनजीको आन्दोलनमा कैदीहरू जेलबाट देशभर भागेपछि अर्घाखाँचीमा पनि यसको असर परेको हो । कैदीहरूले जेलबाट भाग्न पाउनुपर्छ भन्दै २४ गतेदेखि आन्दोलन गरेका हुन् ।
निषेधाज्ञा उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गर्ने भएको हो । अर्को आदेश नहुन्जेल सम्म निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।