© २०२३
नवलपरासी, २४ असार ।
भगवान् गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तूपकै अभिन्न अङ्ग मानिने सङ्घराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा सो वडाका वडाध्यक्षले चासो लिई काम भइरहेको बताएका छन् । सङ्घाराममा बास बस्ने बौद्ध भिक्षुले उपयोग गर्ने उक्त बौद्धकालीन पोखरीको संरक्षणमा वडा स्तरबाट सम्भव हुने संरक्षणका काम भइरहेको रामग्राम १७ का वडा अध्यक्ष कन्हैया मौर्यले जानकारी गराएका हुन् ।
रामग्राम स्तूप नजिक र बौद्धकालीन प्राचीन सामग्रीहरू समेत फेला पर्ने गरेको छ । स्तूप देखि पूर्वमा रहेको देवगाव नै संंघराम भएको पहिचान पछि सङ्घराम स्थल र पोखरीको समेत संरक्षण कार्य भई रहेको वडा अध्यक्ष मौर्यले बताए । सो स्थानमा पुरातत्त्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सूचना बोर्ड राखेको छ । बुद्ध काल कै पोखरी पनि हो, उनले भने–‘यसको संरक्षणका लागि आफू लागि परेको छु ।’
५ विघा क्षेत्रफलमा उक्त प्राचीन पोखरी रहेको छ, उनले थपे, अहिले पोखरीको पश्चिम तर्फको तटबन्ध गरी ९० मिटर पक्की ढलान गरी संरक्षण गरिएको छ, क्रमशः यसलाई विस्तार गर्दै संरक्षण गर्दै लैजाने लक्ष्य रहेको छ । उनका अनुसार बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थानमा एक सङ्घराम हुने बौद्ध परम्पराहरूमा भएको हुँदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्वारा निर्मित रामग्राम स्तूप नजिकैको प्राचीन स्थल सङ्घराम हो । सङ्घाराममा आराम (विश्राम) गर्ने भिच्छु संघ, श्रावक सङ्घ,उपासकले ति पोखरीको पानी स्थान लगायतका कार्यमा उपभोग गर्ने गरेका थिए ।
बौद्ध संस्कृति र इतिहास अनुसार सङ्घराम (संस्कृत: सङ्घाराम सङ्घाराम) ले “मन्दिर“ वा “मठ“ लाई जनाउँछ । यो त्यो ठाउँ हो, यसको बगैँचा वा ग्रोभ सहित, जहाँ बौद्ध भिक्षु समुदायको सङ्घ बस्छ । तत्कालीन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध सङ्घराम थियो । दोस्रो शताब्दीको अशोक वादनका अनुसार, कुक्कुटुर सङ्घराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात् उनका सेनापति पुष्य मित्रले मारे । “त्यसपछि राजा पुष्य मित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्य मित्रले सङ्घरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।
मौर्य वंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खतरा महसुस गरेर पुष्पमित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्प मित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिच्छुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवक्त मनोज नागबंशीले गर्दै आएका छन् । उजैनबाट आउने वृहद्रथका सेना रामग्राम स्तूप नजिकै बस्ने हुदा नजिकै उजैनी गाँउ रहेको अनुमान गर्न सकिन्छ । स्तूप भएको गाँउ देउरवा हो,सङ्घराम भएको गाउ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिच्छुको गतिविधि यहाँ पनि गरिने योजना सुनाएका थिए ।
बौद्धकालीन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्त्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । संघरामको उपयुक्त स्थान नहुँदा स्तुपमा आउने बौद्ध भिच्छुहरूलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । चिनिया संस्थाहरूले हाल रामग्राम स्तूप देखी पुर्व त्यही संघरामसँगै जोडिएको स्थानमा बौद्ध किच्छु तथा पर्यटकका लागि आवास स्थान निर्माण गरिरहेको छ । संघरामको महत्व सायद उनीहरूले बुझेको हुनु पर्ने र त्यसलाई नै निरन्तरता दिनका लागि चिनिया संस्थाहरूले ठुलै भवन सहितको विहार निर्माण गरिरहेको स्थानीयले बताएका थिए ।
रामग्राम स्तूपमा स्वयं भगवान् बुद्धको अस्तु धातु अवस्थित छ ।
यो आध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात् धातु वितरण गरी बनेका स्तूप मध्ये यो रामग्राम स्तूप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र अर्को देवलोकमा अवस्थित छ । पृथ्वी बासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तूप क्षेत्र दुर्लभ स्थान हो । विश्व सम्पदा सुचीको प्रक्रियामा रहेको रामग्राम स्तूप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्त्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढ्ने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो । त्यसको लगत्तै २ वर्ष पछि डा.डब्ल्यु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए ।
भगवान् बुद्धको महापरिनिर्वाण पश्चात् उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । जुन आध्यात्मिक,पुरातात्त्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपको रूपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान् गौतम बुद्धको अष्ट धातु तत्कालीन मगध सम्राट् अशोक मौर्यले उत्खनन गराई विभिन्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरूको आग्रहमा रामग्राम स्तूप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तूप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तूप रहेको छ ।
सङ्घाराम प्राचीन पोखरीसँगै रामग्राम नगरपालिका भित्र नै प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) रामग्राम १८ मा रहेको छ । कोलिय राजाले बनाएको रामग्राम स्तूप रामग्राम ७ देउरवा उजैनीमा छ । कोलिय राजकुमारी यशोधराको उद्यान क्षेत्र रामग्राम १५ ननईमा अवस्थित हुनुका साथै कोलिय राजाहरूले बन विहार गर्न जाने र केही बेर पोखरी नजिकै विश्राम गर्ने स्थान अहिले रामग्राम १४ पर्सावल स्थित हडैया पोखरी स्थित रहेको छ । यि पाँच वटै महत्त्वपूर्ण स्थानलाई व्यवस्थित गर्दै बौद्ध धार्मिक पर्यटनसँग जोडेर काम गर्ने सदस्य ठाकुरले जानकारी गराएका थिए ।