Butwal Today

विश्व रक्तदाता दिवसमा कतारमा ८३ नेपालीद्वारा रक्तदान

३० जेष्ठ २०८३, शनिबार
अ+
अ-

दोहा, कतार। २३औँ विश्व रक्तदाता दिवस २०२६ को अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली रक्तदाता सङ्घ कतारको संयुक्त आयोजनामा शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा ८३ जना नेपालीहरूले रक्तदान गरेका छन् ।

“रक्तदान(जीवनदान” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा नेपाली राजदूतावास कतारका राजदूत कुमार राईसहित कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ,संस्था, नेपाली समुदायका अगुवा तथा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली रक्तदाता सङ्घ कतारका कार्यवाहक अध्यक्ष छबिलाल भट्टराईले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। रक्तदानलाई सबैभन्दा ठुलो मानवीय सेवाका रूपमा व्याख्या गर्दै उनले स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे।

गैर आवासीय नेपाली सङ्घ एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले रक्तदान मार्फत बिरामीहरूको जीवन बचाउन योगदान पुर्‍याउने सन्देश प्रवाह गरिएको उल्लेख गरे ।

पन्थीले स्वैच्छिक रक्तदानले स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तथा आपत्कालीन अवस्थामा जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मानवीय तथा परोपकारी कार्यमा सहभागी भई रक्तदान गरेका दाताहरूलाई प्रशंसापत्र प्रदान गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए। रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?