Butwal Today

सुस्ता बचाउन ठेक्का, भारतले रोक्यो काम

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

सुनवल । नारायणी नदीको तटबन्धको काम रोक्न दबाब दिएको भारतीय सुरक्षा निकायको टोली हतियारसहित नेपाल प्रवेश गरेपछि स्थानीयले लखेटेका छन् ।

खेतमा काम गरिरहेको स्थानीयले हतियार सहितका एसएसबि नेपाली भूमिमा हिँडेको देखेपछि गाउँले जम्मा भएर लखेटेका हुन् । यो विहार होइन, किन आएको नेपाली भूमिमा, गोली हान्न हो, हिम्मत छ भन्दै स्थानीयले भारतीय सुरक्षाकर्मीलाई हकारेका थिए ।

सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम हुसेन खाँले एसएसबीको टोली हतियारसहित नेपाल आएपछि स्थानीय सबै जुटेर लखेटेको बताए । “नेपाली प्रशासन कमजोर भयो, यस्तो अवस्थाले हामीलाई सुरक्षा जोखिम बढ्दै गएको छ, खा ले भने जुनसुकै विषय भए पनि अर्काको देशको सुरक्षाकर्मी बन्दुक बोकेर नेपाल आउन मिल्छ ?”

तर स्थानीय प्रशासन भने यो ठुलो विषय नभएको बताउँछ । “भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका हुन् तर उनीहरू हिँड्ने बाटोमा पानी जमेका कारण नेपाल तर्फ बाट गएका हुन्”, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भने ।

शुक्रबार बिहान साढे ८ बजे नेपाल–भारत सीमा क्षेत्रको सुस्तामा रहेको कल्भर्ट नजिकबाट एसएसबीको टोली नेपालतर्फ प्रवेश गरेको तर खेतको आली हुँदै भारततर्फ नै गएको स्थानीय प्रशासनको भनाइ छ । तर स्थानीय भने यो कुरा मान्न तयार छैनन् ।

भारतले हेपेर पटक पटक नेपाल प्रवेश गर्ने गरेको भन्दै तत्काल सिमाका सम्बन्धमा कडा कदम चाल्न उनीहरूको माग छ । स्थानीय आक्रोशित बनेपछि प्रहरी गएर स्थानीयलाई सम्झाई बुझाई गरेको सशस्त्र प्रहरी बल नेपाल, २६ नम्बर गण हेडक्वार्टरले जनाएको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले विभिन्न बहाना बनाएर भारतीय सुरक्षाकर्मी नेपाल आउने गरेको भन्दै यो गम्भीर विषयमा सरकार मौन रहँदा कुनै दिन सुस्ता भारतमा विलीन हुने अवस्था आउन सक्ने औँल्याए ।

सुस्तामा भारतले डेढ हप्ता अगाडि मात्रै ठेक्का सम्झौता भइसकेको नारायणी नदी नियन्त्रणको काममा अवरोध गरेको छ । जसका कारण उक्त काम सुरु नै हुन सकेको छैन । नेपाली पक्ष आफ्नै भूमि बचाउन निरीह देखिएको भन्दै सुस्तावासीले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सुस्ताको थारुटोल उत्तर–पूर्व पर्ने ठुलो सिमलको रूखबाट दुवैतर्फको बाटोलाई आधार मानेर भारत र नेपालतर्फको भूभाग विगतमा छुट्टाइएको भए पनि अहिले भारतीय पक्षले उक्त सीमा भन्दा वर नेपालतर्फको कदमको रूखलाई अन्तिम बिन्दु भनेपछि विवाद सिर्जना भएको हो । उक्त स्थानलाई आधार मान्ने हो भने सुस्ताको धेरै भूमि नेपालले गुमाउनुपर्छ ।

सुस्ता बचाउ अभियानका उपाध्यक्ष खाँले अहिले पनि भारतले नेपालीको लालपुर्जा भएको जमिनमा जोत भोग गरिरहेको बताउँदै यस्तो विडम्बना सहेर सिमामा बस्नुपरेको दुखेसो पोखे ।

तीनतिर भारतको बिहार र एकातर्फ नारायणी नदीले घेरिएको सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर मध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको छ भने १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोत भोग गर्न दिएको छैन ।

सुस्तावासीले जम्मा ७ हजार ५ सय हेक्टर क्षेत्रफलको भूमि मात्रै जोत भोग गर्दे आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?