Butwal Today

श्रावणी मेलाले ब्युँतायो पाणिनि तपोभूमि

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । विश्व भाषाको उत्पत्तिस्थलका रूपमा परिचित पाणिनि तपोभूमिमा श्रावणी मेला चलिरहेको छ ।  अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पाणिनि तपोभूमि यति बेला शिवभक्तहरूको जयजयकार, भजन–कीर्तन, वैदिक मन्त्र र घण्टनादले गुञ्जायमान बनेको छ ।

भगवान् शिवको प्रिय महिना श्रावणको अवसर पारेर यहाँ धार्मिक अनुष्ठानसहित श्रावणी मेला तथा रुद्री पूजा विधिवत् सुरु भएको हो । विगतका वर्षहरूझैँ यस वर्ष पनि तपोभूमि संरक्षण समितिले एक महिनासम्म सञ्चालन हुने धार्मिक कार्यक्रमलाई विशेष प्राथमिकताका साथ आयोजना गरेको छ ।

यस वर्षको श्रावणी मेलाको मुख्य विशेषता बोलबम यात्रालाई बनाइएको छ । समितिका अनुसार आगामी श्रावण २५ गते पवित्र धार्मिक क्षेत्र कालीगण्डकीको रिडीधामबाट शुद्ध जल ल्याई पाणिनि तपोभूमिस्थित शिवालयमा जलार्पण गरिने विशेष कार्यक्रम तय गरिएको छ ।

यस कार्यक्रमले धार्मिक आस्थाका साथै ऐतिहासिक पाणिनि तपोभूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास गरिएको छ ।

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–१ र २ को सिमानामा रहेको दहको लेकस्थित पवित्र पाणिनि तपोभूमि धार्मिक, ऐतिहासिक, भाषिक तथा प्राकृतिक दृष्टिले अनुपम धरोहर मानिन्छ । हजारौँ वर्षअघि हालको पाकिस्तानको लाहोर क्षेत्रबाट आएका महर्षि पाणिनिले यही स्थानमा कठोर तपस्या गरेको धार्मिक विश्वास रहिआएको छ ।

तपस्याबाट प्रसन्न भएका भगवान् शिव नटराजको रूपमा प्रकट भई डमरु बजाउँदै नाच्नुभएको र डमरुको ध्वनिबाट निस्किएका ‘अइउण्’, ‘ऋलृक्’ लगायत १४ माहेश्वर सूत्रका आधारमा महर्षि पाणिनिले संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती आज पनि जनमानसमा जीवित छ ।

यिनै १४ माहेश्वर सूत्रलाई संसारको भाषिक इतिहासको आधार मानिन्छ । संस्कृत व्याकरणको वैज्ञानिक संरचना निर्माण गर्ने महर्षि पाणिनिको ‘अष्टाध्यायी’ ग्रन्थ विश्वकै उत्कृष्ट व्याकरण ग्रन्थमध्ये एक मानिन्छ । यही कारण पाणिनि तपोभूमिलाई विश्व भाषाको उत्पत्तिस्थल तथा भाषा सम्पदाको प्रमुख केन्द्रका रूपमा समेत हेरिन्छ ।

संस्कृत व्याकरणका रचयिता महर्षि पाणिनिको तपस्यास्थलका रूपमा परिचित पणेना क्षेत्रमा वि.सं. २०६९ सालदेखि निरन्तर श्रावणी अनुष्ठान सञ्चालन हुँदै आएको पाणिनि तपोभूमिका संरक्षक बाबा योगीराजको भनाइ छ ।

यस वर्ष पनि एक महिनासम्म चल्ने रुद्राभिषेक, वेद पाठ पारायण, चण्डी, नित्यपूजा, भजन–कीर्तन तथा विभिन्न वैदिक अनुष्ठानमा सहभागी हुन देशका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने क्रम सुरु भइसकेको छ ।

साउन महिनाभर यहाँको ऐतिहासिक दहमा स्नान गर्ने, शिवालयमा पूजा गर्ने तथा धार्मिक अनुष्ठानमा सहभागी हुने श्रद्धालुहरूको उल्लेखनीय भीड लाग्ने गरेको छ । धार्मिक विश्वास अनुसार यहाँ श्रद्धापूर्वक पूजा–आराधना गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

पाणिनि तपोभूमि केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य पनि हो । पहाडको चुचुरोमा रहेको समथर भूभाग, चारैतिर फैलिएका हरिया वन, गुराँसका जंगल, दुर्लभ जडीबुटी, शीतल वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ । उत्तर फर्केर हेर्दा हिमशृंखला देखिन्छ भने दक्षिणतर्फ दृष्टि पु¥याउँदा तराईका विशाल फाँटहरू हुँदै भारतीय भूमि गोरखपुरसम्म अवलोकन गर्न सकिन्छ ।

तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि पुगिने यस तपोभूमिमा अहिले सडक सुविधा पनि विस्तार भइसकेको छ । पक्की सडकमार्फत पाणिनि दहसम्म सहज रूपमा पुग्न सकिन्छ । बुटवलबाट तानसेन–पोखराथोक हुँदै वा सालझण्डी–ढोरपाटन सडक प्रयोग गरी करिब दुई घण्टामै यस क्षेत्रमा पुग्न सकिने भएकाले धार्मिक पर्यटनको दृष्टिले पनि यसको सम्भावना बढ्दै गएको छ ।

पाणिनि तपोभूमि परिसरमा गणेश मन्दिर, शिव मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर, अन्य देवीदेवताका मन्दिर, धर्मशाला, पुराण मण्डप, फलफूलका बगैँचा तथा ऐतिहासिक दह रहेको छ ।

दहको बिचभागमा स्थापित भगवान् शिवको भव्य मूर्तिले यस क्षेत्रको आकर्षण अझ बढाएको छ । यहाँको प्राकृतिक सौन्दर्यलाई शब्दमा भन्दा प्रत्यक्ष अवलोकन गर्दा बढी अनुभूति गर्न सकिने स्थानीयवासी बताउँछन् ।

पाणिनि गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमका अनुसार पाणिनि ऋषिले यही भूमिमा तपस्या गरेको र यहीँबाट संस्कृत व्याकरणको उत्पत्ति भएको पुष्टि गर्ने अनेक धार्मिक तथा ऐतिहासिक प्रमाणहरू उपलब्ध छन् ।

उनले यो क्षेत्रलाई विश्व भाषाको उद्गमस्थलका रूपमा स्थापित गर्न राज्यले थप अनुसन्धान, संरक्षण र प्रचारप्रसारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

यस तपोभूमिको अर्को विशेषता एउटै भूभागबाट बगेको पानी उत्तरतर्फ बगे कालीगण्डकी नदीमा र दक्षिणतर्फ बगे वाणगंगा नदीमा पुग्नु हो । सुपा देउराली, स्वर्गद्वारी, रेसुंगा तथा रुरु क्षेत्रको नजिकै रहेको यो भूभाग धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने प्रशस्त सम्भावना बोकेको छ ।

पाणिनि तपोभूमि संरक्षण समितिका अध्यक्ष पुष्करराज पोख्रेलका अनुसार स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले लेख्नुभएका विभिन्न धार्मिक ग्रन्थमा महर्षि पाणिनिले यही क्षेत्रमा तपस्या गरेको उल्लेख गरिएको छ ।

तक्षशिला विश्वविद्यालयमा अध्ययन गरेपछि अझ गहिरो ज्ञान प्राप्त गर्न उपयुक्त तपोभूमिको खोजी गर्दै आएका पाणिनिले अन्ततः घनघोर जंगलले घेरिएको यस समशीतोष्ण क्षेत्रमा कठोर तपस्या गरेको धार्मिक व्याख्या पाइन्छ ।

धार्मिक ग्रन्थअनुसार पाणिनिले सुरुमा रुखका पात, त्यसपछि पानी र अन्त्यमा हावा मात्र ग्रहण गरेर भगवान् शिवको आराधना गरेका थिए । उनको तपस्याबाट प्रसन्न भएर भगवान् शिवले डमरु बजाउँदै प्रकट भई १४ माहेश्वर सूत्र प्रदान गरेको र त्यही सूत्रका आधारमा संस्कृत व्याकरणको निर्माण भएको विश्वास गरिन्छ ।

संस्कृतका विद्वान् पण्डित केशवानन्द मरासिनीका अनुसार महर्षि पाणिनिका १४ माहेश्वर सूत्रकै आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त, सिद्धान्तकौमुदी लगायतका व्याकरण ग्रन्थहरूको विकास भएको हो । पाणिनिपछि कात्यायनी र पतञ्जलिजस्ता विद्वान्ले पनि यही व्याकरण परम्परालाई अघि बढाएका थिए । विश्वप्रसिद्ध विद्वान् म्याक्समुलरले समेत हिन्दुहरूको व्याकरण प्रणाली संसारकै उत्कृष्टमध्ये एक भएको उल्लेख गरेका छन् ।

शिवजी प्रशन्न भएर प्रतिपादन गरेको १४ सूत्रलाई अहिले माहेश्वर सूत्राणी पनि भन्ने गरिएको छ । सोही सूत्रका आधारमा संस्कृत व्याकरणको रचना गरिएको हो । १४ सूत्र भन्नाले अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयबरट्, लण्, यमङणनम्र, झभय्, घढधस्, जवगडदश्, खफछठथचटतप्, कपय्, शषसर् र हल बुझिन्छ । १४ सूत्रको अन्तिमका अक्षरको महत्व हुँदैन ।

अघिल्ला अक्षरबाट संस्कृत र नेपाली भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण बनेका छन् । यिनै सूत्रको आधारमा संहिता, गुण, वद्धि, एकवचन, बहुवचन, प्रत्यय आदि बनेका छन् । संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका मेकसमुलरले भनेका छन्, ‘हिन्दुहरूको व्याकरण र अन्वयको योग्यता विश्वमा भएका जातिहरूको व्याकरणभन्दा अत्यन्तै श्रेष्ठ छ ।’

पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो । अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम पनि रहन गएका छन् । सन्धिखर्कमा रहेको पाणिनि बहुमुखी क्याम्पस, पाणिनि वेद विद्याश्रम आदि उदाहरण हुन् ।

यति ठूलो भाषिक र सांस्कृतिक महत्त्व बोकेको भए पनि पाणिनि तपोभूमि अझै अपेक्षाअनुसार विश्वसामु चिनिन सकेको छैन । विश्वका विभिन्न देशमा संस्कृत, भाषा विज्ञान तथा व्याकरण अध्ययन गर्ने विद्वान्हरू महर्षि पाणिनिबारे अध्ययन गर्छन्, तर उनको तपस्यास्थलका रूपमा रहेको अर्घाखाँचीको यस ऐतिहासिक भूमि भने अझै व्यापक प्रचारप्रसारको पर्खाइमा छ ।

२०७६ सालमा नेपाल सरकारले देशका एक सय प्रमुख पर्यटकीय गन्तव्यभित्र पाणिनि तपोभूमिलाई समावेश गरेपछि यसको विकासप्रति आशा बढेको छ । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा यस क्षेत्रलाई विकास गर्न गाउँपालिका सक्रिय रूपमा लागिरहेको छ । लुम्बिनी, सुपा देउराली, रुरु क्षेत्र, स्वर्गद्वारी लगायतका धार्मिक गन्तव्यसँग पाणिनि तपोभूमिलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने योजना अघि बढाइएको उनले बताए ।

श्रावणी मेला धार्मिक आस्थाको पर्व मात्र नभई ओझेलमा परेको विश्व सम्पदालाई पुनः चिनाउने अवसर पनि हो । एक महिनासम्म चल्ने मेला, रुद्री पूजा, बोलबम यात्रा, वेदपाठ, भजन–कीर्तन र वैदिक अनुष्ठानले पाणिनि तपोभूमिलाई फेरि एक पटक राष्ट्रिय चर्चाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको संरक्षण समितिका सचिव हरिप्रसाद पोख्रेलले जानकारी दिए ।

विश्व भाषाको उत्पत्तिसँग जोडिएको इतिहास, भगवान् शिवसँग सम्बन्धित धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य र भाषिक सभ्यताको अद्वितीय गौरव बोकेको पाणिनि तपोभूमि नेपालको मात्र होइन, सम्पूर्ण विश्वकै साझा सांस्कृतिक सम्पदा हो ।

यसको संरक्षण, अनुसन्धान, प्रवर्द्धन र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सकिएमा अर्घाखाँचीको यो पवित्र भूमि विश्व धार्मिक तथा भाषिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुनेमा स्थानीयवासी, धार्मिक अगुवा र सरोकारवालाहरू विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?