© 2026
‘जीवनको दिगो सुरुवातका लागि स्तनपान: प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह आइतबारदेखि मनाइँदै छ ।
यो अभियानले स्तनपान प्रवर्द्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
निश्चित रूपमा स्तनपानको महत्त्व बढ्दै गएको छ तर धेरै आमाले शिशुलाई स्तनपान गराउन भने अनिच्छुक हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यद्यपि विश्वका विभिन्न मुलुकमा अझैपनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउन आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन् । स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो ।
यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँछ भन्ने कुरामा कुनै शंका छैन । तर, अहिले पनि नवजात शिशुका लागि आमाको दूध कति पोषणयुक्त हुन्छ भन्ने नजान्दा विश्वमा धेरै नाबालक वालबालिकाको मृत्यु हुने गरेको देखिएको छ ।
नेपालकै सन्दर्भमा समेत स्तनपानको महत्त्व नवुझ्दा धेरै शिशुहरू आमाको दूध पिउन पाउने अधिकारबाट बञ्चित हुँदै आएका छन् । जसका कारण शिशुहरूमा कुपोषण लगायतका समस्या देखापर्दै आएको छ ।
पछिल्लोसमय आधुनिकताका नाममा बच्चालाई स्तनपान गराए कुरूप भईन्छ भन्ने महिलामा सिर्जित अन्धविश्वासका कारण स्तनपान नगराउने आमाको संख्या बढ्दै गएको छ । यो चिन्ताको कुरा हो ।
यसरी नवजात शिशुको आमाको दूध पिउन पाउने अधिकारको जानेर वा नजानेर हनन् भैरहेको छ । जसका कारण धेरै शिशु अकालमा मृत्युको मुखमा पुग्न बाध्य हुनुपरेको छ । स्तनपान अमृत समान हुने गरेको वैज्ञानिक पुष्टी भैसकेको सन्दर्भमा यसको महत्वका विषयमा जानकारी दिनु जरुरी छ ।
अर्कोतर्फ नवजात शिशुलाई पोषणको नाममा विभिन्न किसिमका बजारीय दूध खुवाउने क्रम बढ्दो छ । शिशुलाई आमाको दूध नै सर्वोत्तम हुने भएपनि त्यसको विषयमा धेरै जानकारी नहुँदा आधुनिकताका नाममा आमाहरूले शिशुहरूलाई रोगी र कमजोर वनाउँदै लगेका छन् ।
जन्मिँदा वित्तिकै जतिसक्दो छिटो स्तनपान गराएमा त्यो अमृत समान हुने स्वास्थ्यकर्मीहरूले पुष्टी गरेका छन । साथै ६ महिनासम्म बच्चालाई सहि तरिकाले स्तनपान गराउँदा पनि त्यो अमृत समान हुन्छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दूध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने हुनसक्छ ।
स्तनपान सप्ताहकै अवसरमा नवजात शिशुलाई क्याल्सियमयुक्त खानेकुराहरू पनि दिनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । जेहोस स्तनपान सप्ताहको यो अवसरमा नेपालमा पनि आमाहरूले आफ्ना शिशुहरूलाई सहीरूपमा स्तनपान गराएर शिशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ ।
त्यसका लागि फेरिपनि स्तनपानको महत्वका विषयमा ग्रामिण क्षेत्रदेखि शहरसम्मका महिलाहरूमा सचेतना बढाउनु आवश्यक छ । स्तनपानलाई औपचारिक बनाउनेभन्दा पनि व्यवहारिक बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । एक सातासम्म मनाईने स्तनपान दिवसको महत्त्व सुत्केरी र गर्भवती आमाहरूसम्म बुझाउन सकियो भनेमात्र त्यसको सार्थकता हुनेछ ।
अझ स्तनपान दिवसको महत्त्व सुत्केरी र गर्भवतीलाई सुनाउनु पर्नेमा सरोकार नै नभएकाहरूलाई कार्यक्रममा बोलाएर कार्यक्रम सफल भएको दावी गरिदै आएको छ । अवको दिनमा सरकार, सामाजिक संघ संस्था र अन्तर्राष्ट्रिय संस्था दातृ निकायहरूले समेत स्तनपान दिवस मनाउँदा गर्भवती, सुत्केरी र सिमान्तकृत समुदायको बीचमा गएर उनीहरूलाई स्तनपानको महत्वको विषयमा बुझाउनु अत्यावश्यक छ ।