© 2026
अहिले देशै भरी भारीदेखि अति भारी वर्षा भएका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
धेरै राजमार्गमा वैकल्पिक सडकको व्यवस्था नहुँदा यात्रु अलपत्र पर्ने अवस्था आएको छ । सरकारले यात्रु र सवारी साधनलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था भन्दा पनि पहिलेदेखि नै वैकल्पिक सडकको व्यवस्था गरिएको भए अहिले बाढी, पहिरोको जोखिममा कष्टकर यात्रा गर्नुपर्ने थिएन । तर, यो विषयमा कुनै पनि सरकारले ध्यान नदिँदा अहिले वैकल्पिक सडकको आवश्यकता महसुस भएको छ ।
निश्चित रूपमा सडक विकासको एक आधार हो । तर, त्यही सडकको आधार कहिलेकाहीँ क्षतविक्षत हुँदा आम नागरिकले दुःख पाउने अवस्था आउँछ । नेपालको संविधानको धारा १७ (२) (ङ) ले स्वतन्त्रताको हक अन्तर्गत नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रताको पनि ग्यारेन्टी गरेको छ । तर, सडक निर्माण, विस्तार, स्तरोन्नतिमा ढिलासुस्ती तथा लापरबाहीका कारण समस्या हुने गरेको छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माण सुरु भएका वैकल्पिक सडक समेत अलपत्र अवस्थामा छन् । बाटोको विकल्प बाटो नै हो । अर्को विकल्प नै नहेरी जथाभाबी स्थानबाट सडक निकाल्दा समेत सडक अवरुद्ध हुने गरेको देखिएको छ । वैकल्पिक सडक निर्माण गर्न सकिने ठाउँमा तदारुकताका साथ ध्यान दिने हो भने नागरिकले सास्ती पाउने अवस्था नआउन सक्छ ।
त्यसतर्फ अव ध्यान दिनु जरुरी छ । विदेशमा सडक निर्माण तथा विस्तार गर्दा एउटा रूख वा एउटा घर जोगाउन पनि धेरै मेहनत गरिएका उदाहरण छन् । कतिपय अवस्थामा वैकल्पिक उपायसमेत अपनाइन्छ । तर, नेपालमा वैकल्पिक सडक निर्माणमा समेत यति धेरै ढिलाइ हुने गरेको छ जसले यात्रुलाई ठुलो सास्ती हुने गरेको अवस्था छ ।
त्यही भएर पनि सडक निर्माण, विस्तार तथा स्तरोन्नति सम्बन्धी छुट्टै कानुनको आवश्यकता महसुस भइरहेको छ । यो विषयमा अध्ययन गरी समाधानको उपाय पहिल्याउनेतर्फ राज्यको ध्यान जाओस् । बर्षाको बेला पहिरो जाँदा वा राजमार्ग अवरुद्ध हुँदा धेरैजसो यात्रुका लागि हवाई मार्ग आकासको फल आँखा तरी मर जस्तै हो ।
त्यसैले सरकारले सक्दो छिटो सहज वैकल्पिक स्थलमार्गको पहिचान गर्नुपर्दछ । जति सक्दो चाँडो यस्ता वैकल्पिक मार्गको पहिचान गर्नु नितान्त जरुरी भइसकेको छ । पहिचान भएका मार्गको तुरुन्तै सुदृढीकरण गरी त्यहाँ चल्ने सवारीसाधनलाई समेत व्यवस्थित गर्नुपर्नेछ ।
उदाहरणकै लागि लुम्बिनी प्रदेश सरकारले आठ वर्षअघि बुटवल पाल्पा सडक खण्डको सिद्धबाबाको साटो वैकल्पिक सडक निर्माणको काम सुरु गरे पनि अहिलेसम्म उक्त सडक पूरा भएको छैन् । बुटवलको धागो कारखाना, चरंगे र पाल्पाको चौकीभन्ज्याङ हुँदै झुम्सा जोड्ने मार्ग निर्माणमा अहिलेसम्म सरकारको करोडौं खर्च भैसकेको छ तर वैकल्पिक यो सडकलाई अधुरै बनाउने काम भएको छ ।
सात किलोमिटर सडकको पहिरो छल्न विकल्पमा बनाइएको सडकको रूपन्देही क्षेत्रमा १३ र पाल्पामा साढे ८ गरी साढे २१ किलोमिटर लम्बाईको काम पूरा नहुनुले नेपालको निर्माण क्षेत्रको वास्तविक चित्र झल्किन्छ । त्यसैगरी मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध भई नियमितरूपमा यातायात सञ्चालन हुन नसक्दा सो मार्ग भएर आवतजावत गर्ने यात्रुहरूका लागि अर्को वैकल्पिक सडकको माग गरिएको थियो तर त्यो सडक पनि बहसमै रोकिएको छ ।
काठमाडौंबाट जाने आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि चितवन पुग्ने अन्य वैकल्पिक मार्गहरू त्यति सहज नहुँदा हजारौं यात्रु प्रभावित भइरहेको अवस्था छ । चितवन मुग्लिङ सडक अवरुद्ध हुँदा सवैभन्दा बढी यात्रु जोखिममा पर्ने गरेका छन ।
तसर्थ यो सडक खण्डको विकल्पमा सरकारले अन्य मार्गको पहिचान एवं सुदृढीकरण गर्नुपर्नेतर्फ ध्षन दिनु आवश्यक छ । यात्रुहरूलाई सुलभ र सहज यात्रा गराउने सरकारको कर्तव्य मात्र नभएर दायित्व पनि हो । त्यो दायित्व पूरा गर्नेतर्फ सरकारको ध्यान जाओस् ।