© 2026
मौसम विज्ञान विभागले शनिवार र आइतबार देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपालमा मनसुनको सक्रियताकै कारण देशका अधिकांश स्थानमा भारी वर्षा हुने क्रम सुरु भैसकेको छ । भारी वर्षाका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरोले निम्त्याउने जोखिमको खतरा पनि बढ्दो छ ।
यही वर्षाको बेला बेला दुर्घटना बढेको छ । खास गरी प्रकोपजन्य दुर्घटनाका कारण जनधनको क्षति हुन थालेको छ । प्रदेश ट्राफिक कार्यालयका बुटवलका अनुसार वर्षाले निम्त्याउने प्राकृतिक प्रकोप र चाडपर्वकै बेला सवारी दुर्घटना बढी हुने गरेका छन् ।
साउन लागिसकेकोले साउने सक्रान्तिदेखि यो बर्षको नेपालीहरूको चाडपर्व सुरु भैसकेका छन् । चाडपर्वको बेला हुने दुर्घटनाहरूलाई हेर्ने हो भने देशभर यो तथ्याङक कैयौ गुणाले बढी हुनसक्छ । सवारी दुर्घटनाको अवस्थालाई हेर्ने हो भने अधिकांश दुर्घटना हलुका सवारी साधनबाट भएको देखिन्छ ।
ठूला सवारी साधनभन्दा पनि हलुका सवारी साधनमा मोटरसाइकल चालकको दुर्घटना बढी रहेको र क्षतिसमेत यस्ता सवारीसाधन दुर्घटनामा बढी भएको पाइन्छ । बदलिँदो समय अनुसार सुविधा प्रयोग गर्नु त्यसलाई स्वाभाविकै मान्नुपर्छ तर सही तरिकाले सदुपयोग गर्न नसक्दा यस्ता दुर्घटनाको संख्यामा बृद्धि भएको देखिएको छ । दुर्घटना बढिरहँदा सवारी चालक अझै जिम्मेवार बन्नु जरुरी छ ।
हरेक बर्ष वर्षाको समयमा हुने दुर्घटनाले ठूलो क्षति पु¥याउने गरेको विगतका उदाहरण काफी छन् । बाटो चिप्लो हुने, पहाडी क्षेत्रमा पहिरो जाँदा सवारीका साधनमाथि खस्ने, खाल्डाखुल्डीमा जमेको पानी नदेखेर बढी दुर्घटना हुने गरेको छ । पानी परेकै अवस्थामा गाडीको ब्रेक समेत कम लाग्ने गरेको गुनासो बढि सुनिन्छ ।
खासगरि सवारी साधन चलाउँदा चालकको लापरवाही, मादक पदार्थ सेवन गरेर सवारी हाँक्नु, ट्राफिक नियम कानुनको अधिकांशले जानीजानी दुरूपयोग गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु जस्ता कारणले बर्षामासमा दुर्घटना बढेको छ । यसर्थ चाडपर्वको समयमा हुने सवारी दुर्घटना रोक्न आगामी दिनमा सवारी संचालक, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट दुर्घटना न्यूनीकरण गर्नेतर्फ जिम्मेवार ढंगले लाग्न अति जरुरी छ ।
त्यसैले सवारी दुर्घटनाका यस्ता विभत्स घटना न्यूनीकरण गर्न हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार हुनु जरुरी छ । दुर्घटनाको बढ्दो जोखिमलाई कम गर्नैपर्दछ । सडकसंग हरेक नागरिक जोडिएका छन् । तसर्थ सवै नागरिकको दायित्व हुन्छ कि सडक दुर्घटनाबाट जोगिन सावधानी जरुरी छ । सम्वन्धित सवैले यस विषयमा चनाखो भएर दुर्घटना न्यूनिकरणमा सचेत वन्नुपर्दछ ।
खास गरी प्राकृतिक प्रकोपको अहिलेको अवस्थामा खासगरि पहाडी क्षेत्रमा चल्ने सवारी साधनमा चनाखो बन्नु जरुरी छ । भारी वर्षा भैरहेको यो बेला प्राकृतिक प्रकोपको विषयमा पूर्व सावधानी अपनाउनु जरुरुी छ । देशका विभिन्न स्थानमा बाढी पहिरो र त्यसले पु¥याएको बिस्थापनको खतरा पनि बढ्दो छ । यो बर्षको प्रकोपजन्य घटना बाढी, पहिरो र चट्याङका कारण अहिलेसम्म ४० बढीको मृत्यु भएको विपद जोखिम न्यूनिकरण विभागले जनाएको छ ।
असारको पहिलो साताबाटै उन्पन्न प्राकृतिक प्रकोपले पहाड र तराईमा पहिरो र डुवान तथा बाढीको समस्या देखिएपछि फेरी एकपटक प्रभावितहरूको व्यवस्थापनमा राज्यको ध्यान पुगोस् । बाढी र पहिरो हरेक वर्षायामको नियमित प्रकृया हो । तर, यो नियमित प्रकृयालाई आकस्मिक वनाउने काम गरिनुहुँदैन । प्राकृतिक प्रकोपको जोखिमबाट बच्न र यो बेला हुने दुर्घटनामा सतर्कता अपनाउनु पर्दछ ।
हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट यसमा होस्टेमा हैंसे गर्नु जरुरी छ । वर्षाको बेला हुने दुर्घटनालाई स्वभाविक नठानौं । जिम्मेवार हुनुपर्ने पक्षले बेलैमा ध्यान पु¥याओस् ।