Butwal Today

सन्त स्वामी विवेकानन्द, अब सम्झनामा मात्र

२४ जेष्ठ २०८३, आइतबार
अ+
अ-

प्रकृति अर्थात् ईश्वरले सृष्टिको क्रम मिलाउने सम्बन्धमा विभिन्न विषयहरूमा आफ्नै किसिमले व्यवस्थापन गर्ने काम गर्दो रहेछ । बढी गर्मी भयो भने पानी पार्ने काम । बढी पानी पर्‍यो भने फेरि नदीका माध्यमले त्यसलाई बगाउने काम ।

धेरै दुःखको अनुभूति भयो भने सुख दिने काम त त्यस्तै सुखले मात्तिने अवस्था आयो भने फेरि दुःख दिएर चेतना दिने काम । तर हामी मानव भनिएकाले ईश्वरको यस किसिमको व्यवस्थापनका विषयमा हस्तक्षेप गरेर बिगार्न खोजेता पनि आफ्नो स्थानबाट ईश्वरले पुनः लय मिलाइदिने काम चाहिँ गर्दो रहेछ । यस्तै अनुपम ईश्वरीय कार्यको हामीले वातावरण, समाज एवम् राष्ट्रमा अनुभव गर्न सकिँदो रहेछ ।

यसै प्रसङ्ग अनुसार हिरण्यकश्युपुको अत्याचार सहन गर्न नसकेर प्रकृतिले प्रह्लाद जन्मायो । कंशको अत्याचारको पराकाष्टा भएका समयमा कृष्णको जन्म गरायो । रावणको अत्याचार बढी भएपछि रामको जन्म हुन पुग्यो ।

यस किसिमको व्यवस्थापन घामपछि जुन उदाउने, जुनपछि घाम उदाउने जस्तै गरी प्रकृति अर्थात् ईश्वरले पनि मिलाउँदै जाँदो रहेछ । तर यस कार्यमा अझ विशिष्ट तरिकाले मिलाउनका लागि सम्बन्धित क्षेत्रका जीवात्माहरूको पनि परमात्मासँग माग हुन चाहिँ पर्दोरहेछ ।

बुटवल नगरी एक प्राचीन पुण्य क्षेत्र हो । यहाँबाट बग्ने तिनाऊ नदीलाई कालीगण्डकीबाट रसाएर आएको मानिन्छ । यही क्षेत्रको नजिकै पूर्वपट्टि रोहिणी नाम गरेकी नदी पनि छिन् । ज्यौतिषशास्त्रअनुसार महान् गणितज्ञ श्रीपतिको जन्म पनि यहि रोहिणी नामको नदीको किनारमा भएको भनी इतिहासविद् नयराज पन्तले लेख्नुभएको छ । लुम्बिनी त झन् भन्नै परेन ।

त्यस्तै कपिलवस्तुको किनाराबाट बग्ने वाणगङ्गा नदी पनि पुण्यदायी नै छिन् । धर्मका नाममा उम्रेका झारपातहरूले खास असली धर्मलाई ढाक्नाले मानिसहरू भ्रममा परी अधर्मलाई पनि धर्म भन्दै हिँडेकाले गौतम बुद्धको जन्म पनि, धर्म भनेको यो हो भन्ने चिनाएर चलाचल प्राणीहरूको रक्षा गर्नुमा केन्द्रित भएको थियो ।

यसपछि पनि ईश्वरांश पुरुषहरूको धराधाम आगमन यस्तै गरी अधर्मको नाश गरी धर्म पालनार्थ नै हुने गरेको रहेछ । यसै सिलसिलामा बुटवल पुण्य क्षेत्रमा कालान्तरमा आउने समस्याको समाधानका लागि भगवान्ले बाग्लुङ्को गल्कोट तोरिखोलामा २०१२।०५।१४ गतेका दिन श्रवण नक्षत्रको पहिलो पाउ अन्तर्गतको आद्य भागमा अर्थात् अभिजित् नक्षत्रमा एक बालकको जन्म गराउनुभयो ।

काशीराम गैरे र हिरादेवी गैरेका सुपुत्रका रूपमा जन्मिएका ती बालकको सानैदेखि भएको ईश्वरप्रतिको प्रेमले बुबा आमा लगायत इष्टमित्रहरू अचम्ममा पर्ने गर्थे । यसैले गर्दा पनि कर्मनिष्ठ र तपोनिष्ठ गृहस्थाश्रमी काशीराम गैरेले धर्मपत्नी हिरादेवी गेरेको पनि इच्छाअनुसार आफ्नो पुत्रले पौरस्त्य परम्पराअनुसार नै अध्ययन गरी विशिष्ट विद्वान् बनूस् भन्ने उद्देश्यले पुत्रलाई राष्ट्रसन्त परमानन्द सरस्वतीज्यूद्वारा गुल्मीको दिबरूङ्मा स्थापित संस्कृत गुरुकुलमा लगी राखिदिनुभयो ।

आश्रका प्रथम विद्यार्थीका रूपमा रहने सौभाग्य प्राप्त गरेका बालक गुरुले पनि वेद, व्याकरण इत्यादिको अध्ययन गर्नुभयो । त्यसपछिको अध्ययनका लागि भारतमा स्वामी सत्यप्रकाशानन्द सरस्वतीज्यूको अभिभावकत्वमा रही उत्तरोत्तर अध्ययन र साधना गर्दै जानुभयो । यसै सिलसिलामा उहाँको सौभाग्यले वेदान्तका विद्वान् स्वामी अखण्डानन्द सरस्वतीज्यूको सान्निध्यता गरायो ।

अनि उहाँकै साथमा बसी वेदान्त दर्शनको विशिष्ट अध्ययन गर्नुभयो । त्यसपछि आफ्ना ब्रह्मचर्य दीक्षागुरु जसको दीक्षाबाट उहाँ खिमानन्द गेरैबाट खिमानन्द ब्रह्मचारी हुनुभएको थियो उनै गुरु राष्ट्रसन्त स्वामी परमानन्दको आज्ञाअनुसार बाग्लुङ्को शिवधुरीमा केही समयको साधनापछि रामकोटमा अध्यापन र आश्रम व्यवस्थापनको कार्य समेत गर्नुभयो ।

राष्ट्रसन्तले २०५३ मा ब्रह्मपद प्राप्त गरिसकेपछि विशेषत अनेकौँ स्थानमा रहेका आश्रमहरूका रेखदेख गर्ने काम हरिहर सन्न्यास आश्रमका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वतीज्यू र उहाँमा पर्न गयो ।

स्वामी ज्ञानानन्द सरस्वतीज्यूलाई स्वामी सत्यप्रकाशानन्दज्यूद्वारा हरिहर सन्न्यास आश्रममा पीठाधीशका रूपमा अभिसिक्त गरियो भने बाग्लुङ् गुल्मी इत्यादि स्थानमा रहेका आश्रमको रेखदेख गर्ने जिम्मा खिमानन्द ब्रह्मचारीज्यूमा आयो ।

तर पनि उहाँको रुचि र स्वभावसँग सानैदेखि नै परिचित स्वामी ज्ञानान्द सरस्वतीज्यूले उहाँलाई ती ती स्थानको व्यवस्थापकीय काम पनि आफै लिएर उहाँलाई भक्तहरूको कल्याणका लागि कथा प्रवचनमा नै दत्तचित्त हुन आग्रह गर्नुभयो ।

त्यसपछि २०५६ सालको जेठ महिनामा स्वामी सत्यप्रकाशानन्द सरस्वतीज्यूबाट कृष्णगण्डकी र रुद्रवती नदीको सङ्गम रुद्रवेणीमा सन्न्यास ग्रहण गरी स्वामी विवेकानन्द सरस्वतीका रूपमा भक्तहरू माझ परिचित हुनुभयो ।

स्वामी सत्यप्रकाशानन्द सरस्वती जसले ब्रह्मलीन स्वामी राष्ट्रसन्त परमानन्द सरस्वती बाहेक जसलाई पनि सन्न्यास दिँदा चाहिँ ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीकै नाममा दिनुहुने रहेछ र गुरुको पनि यसै अनुसार नै कर्म भयो । त्यसपछिका समय स्वामी विवेकानन्द सरस्वतीज्यू गुल्मीको रूपाकोटमा रहनुभयो ।

माथिको प्रसङ्गअनुसार यी गुल्मी, बाग्लुङ्, म्याग्दी इत्यादिका स्थान त दिव्य नै थिए तर उहाँको माग भित्री रूपमा बुटवल क्षेत्रले गर्यो । त्यसैले शितल तपस्थलीबाट उहाँको बढी समय उष्ण कर्मस्थलीतिर वित्न लाग्यो ।

अर्थात् नयाँमिल स्थित गुरुकुल जसको स्थापनामा ब्रह्मलीन स्वामी राष्ट्रसन्त परमानन्द सरस्वतीज्यूको आज्ञाअनुसार नै स्वामी जगन्नाथाचार्यज्यू र वैदिक धर्म परिषद् नेपालको भूमिका अविष्मरणीय छ त्यसै स्थानमा रहेको आश्रम परिसरमा नै स्वामीज्यूको समय वित्न थाल्यो ।

२०६२–०६३ पछिको परिवर्तनपछि वैदिक सत्य सनातन धर्ममाथि धावा बोल्ने विधर्मीहरू त आफ्नै रूपमा आएका थिए । उनीहरूको उद्देश्य केका लागि रहेछ भन्ने त अब बल्ल थाहा भएको छ । आखिरी जसरी एकदशक नेपाललाई माओवादीका नाममा अशान्त गराइयो त्यसगरी धर्मका नाममा अशान्त फैलाउने उद्देश्यले नै धर्मनिरपेक्षता ल्याइएको रहेछ ।

त्यसको असर त तराई र पहाडमा राम्ररी नै देखिएको छ । रूप देखाएरै आउने विधर्मी त आए आए तर अचम्म चाहिँ के भयो भने हिन्दूका नाममा पनि विधर्मीहरूको प्रवेश भयो ।

उनीहरूको उद्देश्य धर्मोपदेशद्वारा भक्तहरूलाई मार्गनिर्देशन भन्दा पनि भक्तहरूको पैसोद्वारा मोजमस्तीमा रम्ने नै देखियो । सनातन वैदिक धर्मका धमिराहरूले यसरी गुप्त रूपमा दुःख दिन लागे । एउटा आउँछ र लौ ब्रह्मा त यिनी हुन् उनी हैनन् भन्छ, अर्को आउँछ र च अर्जुनलाई सन्धि गरेर लेख्दा भएको चार्जुनलाई लौ हाम्रा गुरु चार जुनमा जन्मिएको त गीतामा लेखिएको रहेछ भन्दछ फेरि अर्को आउँछ र हाम्रो सनातन परम्परा अनुसारको कर्मकाण्ड गर्न पर्दैन भन्दछ ।

के के हो के के धर्म भन्दा बढी रमिता देखाउने गुरौहरूको भिड पुण्यभूमि बटौलीतिर लाग्न थाल्छ । यस्तो अवस्थामा धर्म के हो भन्ने विषयको शिक्षाका लागि स्वामी विवेकानन्दलाई पनि ईश्वरले बुटवल क्षेत्रमा आउने प्रेरणा दिनुभयो । अर्थात् झारपातलाई नै रुख भनेर माने पनि खास रुख चिनाउनका लागि स्वामीजीको त्यस क्षेत्रमा आगमन भएको देखिन्छ ।

केही व्यक्तिहरू त अझै पनि त्यस्तै दारी मिलाएर, जुँगा मिलाएर यात हातैभरि एवम् ज्यानैभरि माला भिरेर गुरू रूपमा देखिएकामाथि नै धनदौलत लगेर त्वं शरणम् गरिरहेकै छन् तर स्वामीजी आएपछि धेरै ज्ञानपिपासुहरू उहाँका अमृत ज्ञानबाट तृप्त भए ।

जसरी महापुरुषहरूले आफ्नो जन्मस्थानमा मात्र नभएर विश्वमैँ धर्म संस्थापनाका लागि काम गर्नुभयो त्यसरी नै स्वामीजीले पनि बाग्लुङ्ग मात्र हैन गुल्मी, रूपन्देही लगायत नेपाल र भारतका धेरै स्थानमा धर्मोपदेशद्वारा मानिसहरूलाई धर्मपालनाका लागि प्रेरणा दिनुभयो ।

राष्ट्रसन्त परमानन्दबाटै विशेष दीक्षित भएर होला उहाँको संगत गर्नेहरूले उहाँमा भएको त्यो ज्ञानगङ्गाबाट धेरै नै शितलता प्राप्त गर्ने सौभाग्य प्राप्त गरे । अरू बेला खासै धेरै नबोली भित्रै रमाउने आदरणीय स्वामीजी जब धर्मोपदेशका लागि मञ्चमा प्रवेश गर्नुहुन्थ्यो अनि उहाँका ती वेदोक्त वाणीहरूद्वारा आस्तिक नास्तिक सबैको कल्याण हुन्थ्यो ।

भारतमा जन्म भई विदेशतिर सनातन धर्मको प्रचारमा लागेका स्वामी विवेकानन्दको जस्तो प्रखर वाणी थियो । दिव्य चेहरा थियो । के गर्ने पृथ्वीलोकमा जन्मिसकेपछि जसरी पनि यो शरीर त्यागेर जाने पर्ने ।

त्यसैले पनि स्वामीज्यूको पनि शरीरले केही निहु खोज्यो र भक्तहरूलाई ज्ञानका उपहार यतै छोडेर ब्रह्मलीन हुनपर्यो । आदरणीय स्वामीजीलाई यही सानो लेखका साथ स्वामी जगन्नाथाचार्यज्यूका पद्य सापटीका माध्यमले हार्दिक श्रद्धा पुष्पाञ्जली –

मिठा वाणी त्यस्ता सरल मनका भुल्न नसकी
रुँदै बाँच्छौं हामी हजुरकन भन्दै जुनिभरी।

अझै राख्नु हाम्रो अलि–अलि त क्यै ख्याल दिलमा
यहाँ के हो हामी अझ पनि छदै छौं हजुरमा ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?