© 2026
बुटवल । पछिल्ला केही वर्षयता नेपालमा नसर्ने रोगको समस्या तीव्र रूपमा बढिरहेको छ । मधुमेह, उच्च रक्तचाप, मुटु रोगसँगै अहिले पेट, कलेजो, आन्द्रा तथा पाचन प्रणाली सम्बन्धी रोग पनि व्यापक बन्दै गएका छन् ।
बदलिँदो जीवनशैली, असन्तुलित खानपान, अत्यधिक मदिरा सेवन, धूम्रपान, तनाव, अनियमित दिनचर्या र जंकफुड संस्कृतिका कारण विशेष गरी युवापुस्तामै पेट तथा कलेजो सम्बन्धी समस्या बढ्दो क्रममा रहेको चिकित्सकहरू बताउँछन् ।
पहिले सामान्य ग्यास्ट्रिक, अपच वा पेट दुखाइका रूपमा लिइने समस्या अहिले जटिल कलेजो रोग, फ्याटी लिभर, सिरोसिस, हेपाटाइटिस र क्यान्सरसम्म पुग्न थालेका छन् । तर समस्या गम्भीर हुँदासम्म धेरै बिरामीलाई आफ्नो शरीरभित्र रोग बढिरहेको जानकारी नै हुँदैन । यही कारण समयमै परीक्षण र विशेषज्ञ उपचारको आवश्यकता झन् महत्त्वपूर्ण बन्दै गएको छ ।
यस्तो अवस्थामा लुम्बिनी प्रदेशमै पहिलो पटक अत्याधुनिक ‘फाइब्रोस्क्यान’ सेवा सञ्चालनमा ल्याएको ग्यास्ट्रो सेन्टर बुटवल प्रालिले पेट तथा कलेजो रोग उपचारमा नयाँ आशा थपेको छ । बुटवल–६ मा सञ्चालनमा रहेको यस केन्द्रले आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवा मार्फत छोटो समयमै बिरामीको विश्वास जित्न सफल भएको छ ।
विशेषज्ञ चिकित्सकको नेतृत्व केन्द्रमा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसालको नेतृत्वमा सेवा सञ्चालन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस तथा काठमाडौँ विश्वविद्यालयबाट आन्तरिक चिकित्सा विषयमा एमडी गरेका डा. भुसालले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जबाट ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजीमा डीएम गरेका छन् ।
उनले लामो समयदेखि पेट तथा कलेजो रोगसम्बन्धी उपचार क्षेत्रमा काम गर्दै आएका छन् । बिरामीसँगको व्यवहार, रोगको सूक्ष्म अध्ययन र आधुनिक उपचार पद्धतिका कारण उनी अहिले लुम्बिनी क्षेत्रका बिरामीमाझ भरोसायोग्य चिकित्सकका रूपमा परिचित बन्दै गएका छन् ।
डा. भुसालका अनुसार धेरै नेपालीले कलेजो रोगलाई सामान्य रूपमा लिने गरेका छन् । “कलेजो ७०–८० प्रतिशतसम्म बिग्रिए पनि बिरामीलाई सुरुवाती अवस्थामा खासै लक्षण देखिँदैन,” उनी भन्छन्, “त्यसैले धेरै बिरामी ढिलो गरी अस्पताल पुग्ने गरेका छन् । कतिपय अवस्थामा रगत परीक्षण र सामान्य भिडियो एक्स–रे गर्दा पनि रिपोर्ट सामान्य देखिन सक्छ ।”
उनका अनुसार समयमै परीक्षण नगर्दा सामान्य फ्याटी लिभर नै पछि गएर सिरोसिस वा क्यान्सरमा परिणत हुने जोखिम बढ्ने गर्दछ ।
फाइब्रोस्क्यानः कलेजो परीक्षणमा आधुनिक प्रविधि ग्यास्ट्रो सेन्टर बुटवलको मुख्य विशेषता भनेकै ‘फाइब्रोस्क्यान’ सेवा हो । यो प्रविधिले कलेजोको बायोप्सी नगरी कलेजोको अवस्था परीक्षण गर्न सकिन्छ ।
पहिले कलेजो कति बिग्रिएको छ भन्ने थाहा पाउन ‘लिभर बायोप्सी’ गर्नुपर्ने अवस्था थियो, जुन बिरामीका लागि केही जटिल र जोखिमयुक्त मानिन्थ्यो । तर फाइब्रोस्क्यानमार्फत केही मिनेटमै कलेजोको अवस्था पत्ता लगाउन सकिने भएकाले अहिले यो प्रविधि विश्वभर प्रभावकारी मानिन्छ ।
फ्याटी लिभर, सिरोसिस, मदिराजन्य कलेजो रोग, हेपाटाइटिस ‘बी’ र ‘सी’, दीर्घकालीन कलेजो समस्या भएका बिरामीका लागि यो परीक्षण अत्यन्त उपयोगी हुने चिकित्सकहरू बताउँछन् । विशेष गरी नेपालमा पछिल्लो समय फ्याटी लिभरको समस्या तीव्र रूपमा बढिरहेको छ । धेरै मानिसमा मोटोपन, मधुमेह, उच्च कोलेस्ट्रोल र शारीरिक श्रमको कमीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
पेट रोगका बिरामी बढ्दै केवल कलेजो मात्र होइन, पेट तथा पाचन प्रणाली सम्बन्धी बिरामीको संख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । लगातार पेट पोल्ने, खाना नपच्ने, घाँटीमा खाना अड्किने, दिसामा रगत आउने, कब्जियत, वान्ता हुने, तौल घट्ने जस्ता समस्या अहिले धेरैमा देखिन थालेका छन् ।
यस्ता रोगको परीक्षण र उपचारका लागि केन्द्रमा एन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सञ्चालनमा छ । एन्डोस्कोपी मार्फत घाँटी, पेट र सानो आन्द्राभित्रको अवस्था प्रत्यक्ष हेर्न सकिन्छ । लगातार ग्यास्ट्रिक, पेट दुख्ने, खाना निल्न समस्या हुने, रगत बान्ता हुने वा अल्सरको आशङ्का भएका बिरामीका लागि यो परीक्षण महत्त्वपूर्ण मानिन्छ ।
त्यस्तै कोलोनोस्कोपी मार्फत ठुलो आन्द्राको परीक्षण गरिन्छ । लामो समयदेखि दिसा सम्बन्धी समस्या, कब्जियत, पेट फुल्ने, दिसामा रगत आउने वा आन्द्राको क्यान्सरको आशङ्का भएका बिरामीमा यो परीक्षण प्रभावकारी हुने गरेको चिकित्सकहरू बताउँछन् ।
अत्याधुनिक उपकरण र सेवाकेन्द्रमा भिडियो एक्स–रे, डप्लर स्क्यान, थाइराइड परीक्षण, स्तन परीक्षण, एनामोली स्क्यान, डीभीटी स्क्यान लगायत सेवा पनि उपलब्ध छन् ।
आधुनिक उपकरण र दक्ष जनशक्तिका कारण धेरै बिरामीले बुटवलमै गुणस्तरीय सेवा पाउन थालेका छन् । यसअघि यस्ता परीक्षणका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो । अहिले भने लुम्बिनी प्रदेशमै अत्याधुनिक सेवा उपलब्ध हुँदा बिरामीलाई समय र खर्च दुवै बचत भएको छ ।
रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, दाङ, बाँके लगायत जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउने गरेका छन् । कतिपय बिरामी छिमेकी प्रदेशबाट समेत बुटवल आउने गरेको केन्द्रले जनाएको छ ।
चेतनामूलक अभियान पनि ग्यास्ट्रो सेन्टर बुटवलले उपचारसँगै स्वास्थ्य सचेतनामा पनि जोड दिएको छ । नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, मदिरा र धुम्रपानबाट टाढा रहने बानी तथा दैनिक शारीरिक व्यायामले धेरै रोगबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ ।
विशेष गरी फास्टफुड, अत्यधिक तेलयुक्त खाना, राति अबेर खाने बानी र तनावपूर्ण जीवनशैलीका कारण अहिले युवामै पेट रोग बढिरहेको डा. भुसाल बताउँछन् । “रोग लागेपछि मात्रै अस्पताल जाने प्रवृत्ति बदल्नुपर्छ,” उनी भन्छन्, “समयमै परीक्षण गरे धेरै जटिल रोग सुरुवाती अवस्थामै नियन्त्रण गर्न सकिन्छ ।”
स्वास्थ्य सेवामा नयाँ भरोसा पछिल्ला वर्षहरूमा नेपालमा निजी स्वास्थ्य संस्थाहरू बढिरहेका भए पनि सबै ठाउँमा विशेषज्ञ सेवा र अत्याधुनिक प्रविधि उपलब्ध छैन । यस्तो अवस्थामा ग्यास्ट्रो सेन्टर बुटवलले विशेषज्ञ सेवा, आधुनिक प्रविधि र बिरामी मैत्री उपचार प्रणाली मार्फत आफूलाई फरक रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।
विशेष गरी पेट, आन्द्रा र कलेजो रोगको उपचारका लागि प्रदेश बाहिर धाउनुपर्ने बाध्यता कम गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन् ।
समयमै रोग पहिचान, विशेषज्ञ परामर्श र आधुनिक उपचार सेवा उपलब्ध गराउँदै ग्यास्ट्रो सेन्टर बुटवल अहिले लुम्बिनी प्रदेशमै पेट तथा कलेजो रोग उपचारको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।