© 2026
नेपालमा सुकुम्वासी मुद्दा नयाँ मुद्दा हैन । सुकुम्वासी समस्या भूमि र आवाससँग सम्बन्धित भएको र भूमि तथा आवास राज्यका प्रमुख स्रोत भएकोले राज्यको उत्पत्ति देखि नै कुनै न कुनै रूपमा यो मुद्दा समाजसँग जोडिएको थियो ।
नेपालमा सांस्कृतिक तथा सामाजिक कारणले पैत्रिक थलोमै बस्ने परम्परा अनि तराईमा मलेरियाको डरले गर्दा अन्तर जिल्ला र अन्तः जिल्ला बसाइसराई कम हुँदाको अवस्थासम्म अर्थात् २०२० को दशकसम्म सुकुम्वासी समस्या नगन्य मात्रामा थियो ।
दलित र विपन्नहरू भूमिविहीन अवस्थामा अरूको खेतबारीमा बस्ने गरे पनि राज्यका सम्पत्ति अतिक्रमण गरेर बस्ने हिम्मत कमैलाई मात्र थियो । तराईमा मलेरियाको नियन्त्रण, पहाड र तराई जोड्ने सडक निर्माणमा तीव्रता, तराईमा बसोबास गराउने राज्यको नीति जस्ता कारण ठुलो मात्रामा पहाड तराई बसाइसराइ सुरु भएको थियो । यस्तो बसाइँसराइँले सुकुम्वासीलाई जन्मायो ।
३ दशक अघिसम्म वन जंगल अतिक्रमण गरेर घर बनाउने, खेतीपाती गर्ने सुकुम्बासीहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षहरूमा सहरी सुविधाको लालच, व्यवसाय संचालन र सहज बसाईको लागि वन क्षेत्र बाहेकका सार्वजनिक स्थान अतिक्रमण गर्ने प्रवृति बढेको छ । यसले विगतको भन्दा फरक अव्यवस्थित बसोबासिहरू सुकुम्बासीको नाममा बढिरहेका छन् ।
शहर नजिकका जंगल अतिक्रमण गरेर सुकुम्वासी वस्ती बस्ने काम पंचायतकालमा नै सुरु भएको भएपनि शहर र शहर नजिकका खोला किनार, कुलो/नहर र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरेर सुकुम्वासी बस्ने क्रममा तीव्रता आएको भने माओबादी संघर्ष सुरु भएपछी मात्र हो । २०४६– २०५२ मा राजनैतिक दलको आडमा शहर नजिकका सार्वजनिक जग्गा अतिक्रमण सुरु भएको थियो ।
तर माओबादी द्वन्दको बेलामा विभिन्न ठाउँबाट विस्थापित भएर शहर पसेकाहरू अन्यत्र जाँदा आफूलाई असुरक्षित ठानेको र जीविकोपार्जन गर्न समेत कठिन हुने भएकोले शहर छेउछाउका खाली जग्गा कब्जा गरेर वा पहिले नै जग्गा कब्जा गरेर बसेकाहरूसंग सस्तोमा किनेर सुकुम्बासीको रूपमा बस्न थालिएको थियो । शहर नजिकका सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने काममा शहरकै धनीमानी र चल्तापुर्जा मान्छेहरूको पनि बाक्लै संलग्नता भएको देखिन्छ ।

शहर र सुकुम्वासी
बसाइसराई र जीविकोपार्जनको नयाँ विकल्पहरूको खोजीले गर्दा सहरी क्षेत्रमा सुकुम्वासी परिवारको संख्या बढिरहेको छ । विगतमा खेतीपातीको लागि वन क्षेत्रको जग्गा ओगटेर सुकुम्वासी बनेर बस्ने गरे पनि पछिल्लो पुस्ताले ब्यापार, व्यवसाय गरेर जीविकोपार्जन गर्न खोज्ने भएकोले उनीहरूको रोजाइमा सहरी बसाई परेको छ ।
शहरमा थोरै आम्दानि गरिरहेकाहरू निरन्तर कोठा भाडामा लिएर बस्दा खर्च धेरै हुने र शहरदेखि टाढा बस्दा शहरमा काम गर्न आउन, सन्तान पढाउन गाह्रो हुने भएकोले उनीहरूले शहर नजिकैका सार्वजनिक जग्गा, नदि उकास जग्गा, जंगलमा सस्तोमा जग्गा किनेर, ओगटेर बस्न थालेको पाइन्छ । अहिले शहरमा बसोबास गरिरहेका अधिकांश सुकुम्बासीहरू आफैले जग्गा अतिक्रमण गरेको नभएर दोश्रो, तेश्रो पक्षबाट जग्गा जमिन लिएको देखिन्छ ।
शहरमा हुने सार्वजनिक जग्गा अतिक्रमण गरि शुरुमा वस्ती बसाल्नेहरू स्थानीय चल्तापुर्जाका मान्छेहरू, दलका नेता कार्यकर्ताहरू, भूमाफियाहरू र डनहरूले प्रमुख भूमिका खेलेका हुन्छन् । उनीहरूले भूमिविहीन, गरिबलाई जग्गाको आशा देखाएर ओगट्न लगाउछन र त्यसको आडमा आफुले अझ धेरै जग्गा हडप्ने गर्छन् ।
शहरमा मुख्य बजार केन्द्रदेखि नजिक, सुरक्षित र सुविधायुक्त क्षेत्रमा सार्वजनिक जग्गा ओगटेर बस्नेहरू धेरैजसो आर्थिक हैसियत र सामाजिक पहुँच राम्रै भएका र आफ्नो पुख्र्यौलो थलोमा समेत जग्गा जमिन भएकाहरू देखिन्छन् ।
यिनीहरू भूमिहीन सुकुम्वासी नभएर अव्यवस्थित बसोबासी हुन् । शहरदेखि केहि ओझेलमा परेको ठाउँ वा मुख्य सहरको नजिकका असुरक्षित, जोखिमयुक्त ठाउँमा टहरा बनाएर बस्नेहरूमा अधिकांश अन्यत्र जग्गाजमिन नभएका भूमिहीन दलित, विपन्न समुदायका मानिसहरू पर्छन. जग्गा ओगटेको हिसाबमा हेर्दा अव्यवस्थित बसोबासीहरूको संख्या कम भएपनि उनीहरूले धेरै जग्गा ओगट्ने र भूमिहीनहरूले थोरै जग्गा ओगट्ने भएपनि उनीहरूको संख्या धेरै भएको पाइन्छ ।
शहरमा सुकुम्वासीको भूमिका भने फरक फरक भएको पाइन्छ । सहर विस्तारित र विकसित भइ सकेपछि शहरमा आउने सुकुम्वासी मात्र नेपालमा छैनन्, सुकुम्बासिकै कारण बनेका बजार र शहरहरू पनि नेपालमा धेरै छन् ।
बुटवल, काठमाण्डौ जस्ता ठुला शहरमा शहर फैलिने क्रममा सुकुम्वासी आएका हुन भने नयाँ नगरपालिकाहरू जस्तै कावासोती, देवदह, सैनामैना भालुवांग शहर भने सुकुम्बासीहरू भरिदै जाँदा घना बजार भएर बनेका शहर हुन् । दुवै किसिमका शहरलाई घना र चलायमान बनाउन त्यहाँका सुकुम्बासीहरूको ठुलो भूमिका रहने गरेको छ ।
सुकुम्वासी सिर्जित समस्या
ग्रामिण क्षेत्रमा सुकुम्बासीको कारण वन अतिक्रमण हुने समस्या भएपनि सहरी क्षेत्रमा भने सुकुम्बासीको कारण बहुआयामिक समस्याहरू देखिने गरेका छन् । विपन्न, दलित र शुद्ध भूमिहीनहरू नदि उकास क्षेत्र ( कतिपय अवस्थामा नदीले बनाएका साना टापु भित्र समेत) बस्ने गर्दछन् । बाढी, पहिरोको जोखिम हुने क्षेत्रमा बस्ने अधिकांश यस्ता सुकुम्बासीहरूले बारम्बार धनजनको क्षति भोग्नुपर्छ र पटकपटक सुकुम्बासीको रूपमा ठाउँ सार्नुपर्ने बाध्यतामा समेत हुन्छन् ।
यस्ता सुकुम्बासीको कारण नदि क्षेत्रमा हरियालीमा ह्रास, नदीको बहाव क्षेत्र परिवर्तन, प्रदुषण, पहिरोको जोखिम वृद्धि, विपद व्यवस्थापनमा चुनौती जस्ता समस्याहरू उत्पन्न भैरहेका छन् । अव्यवस्थित बसोबासिहरू प्रायजसो धनि र पहुँचवाला मान्छेहरू भएको देखिन्छन् । यिनीहरूले सार्वजनिक महत्वका जमिन, सडक किनारा, पोखरी, नहर छेउमा बसेर पछी यी क्षेत्रलाई नै आफ्नो कब्जामा परेका हुन्छन् ।
यिनीहरूको कारण हरियाली ह्रास, सिचाईमा असुविधा, ढल निकासमा समस्या, आवतजावतमा समस्या जस्ता असरहरू समुदायले भोगिरहेका हुन्छन् । कतिपय यस्ता सुकुम्बासीले त सार्वजनिक महत्वका सम्पदा, मठ मन्दिर समेत आफ्नो घर कम्पाउण्ड भित्र पारेर आफुले सिमित उपयोग समेत गरेको देखिन्छ ।
व्यवस्थापनका उपाय
शहरीकरणमा सुकुम्बासीहरूको योगदान भएपनि सुकुम्वासी व्यवस्थापन कार्य सधै चुनौतिपूर्ण बनिरहेको छ । सहरी सुकुम्बासीको कारण शहरको सौन्दर्य, प्राकृतिक चक्रको निरन्तरता र भौतिक–सामाजिक समस्याहरू समेत देखिने गरेको भन्दै सरकारी तबरबाट उनीहरूलाई हटाउने प्रयास गरिएको छ । काठमाण्डौं उपत्यकामा यो काममा सरकारले सम्पूर्ण शक्ति लागेर सफलता समेत हासिल गरेको छ ।
संघीय सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय पालिकाहरू समेतले अतिक्रमित जग्गा खालि गर्ने सूचना गर्न थालेका छन् । तर सुकुम्बासीहरूले शहरमा आफ्नो तन, मन र धन लगानी गरिसकेकोले शहरबाट सजिलैसंग सुकुम्वासीलाई हटाउन भने कदापि सकिने छैन ।
सुकुम्बासीहरू शहरको अंग बनिसकेको र उनीहरूलाई जथाभावी बस्न दिदा सहरी सभ्यतामै चुनौती हुने भएकोले सहरी सौन्दर्य, प्राकृतिक सन्तुलन, भौतिक पूर्वाधारको विस्तार र सुकुम्बासीहरू प्रति न्याय जस्ता कुरालाई आधार बनाएर सुकुम्बासीको व्यवस्थापन गर्नु जरुरि छ ।
बाढी र पहिरोको जोखिमयुक्त क्षेत्र, नदी प्रवाहमा अवरोध गराइएका क्षेत्र, नहर/ कुलो अतिक्रमण गरेर बनाइएका वस्तीलाइ राज्यकै लगानी साझेदारीमा अन्य स्थानमा स्थानातरण गर्नुपर्छ । ग्रामिण क्षेत्रजस्तो सहरी क्षेत्रमा सुकुम्बासीले कृषिको लागि जमिन कब्जा गर्ने नभएर बसोबासको लागि मात्र जमिन उपभोग गर्ने भएकोले राज्यले शहर नजिकका अनुत्पादक जग्गा, हदबन्दी बाहिरको जग्गा वा नयाँ जग्गा अधिग्रहण गरेर एकीकृत बस्ति बनाएमा थोरै जग्गामा पनि धेरै सुकुम्वासीलाई राख्न सकिन्छ ।
पहाडी क्षेत्रमा धेरै जग्गा जमिन खालि रहेकोले अहिले सुकुम्वासी धेरै रहेका तराईका शहरहरूको नजिक पर्ने पहाडी क्षेत्रमा नयाँ शहर निर्माण गरेर पनि त्यहाँ सुकुम्वासीलाई सार्न सकिन्छ ।
हुलाकी राजमार्गको छेउछाउ सहरी पूर्वाधार विस्तार गरेर पनि सहरी सुकुम्वासीलाई राख्न सकिन्छ । पहाडी क्षेत्रमा शिक्षा, स्वरोजगार र उत्पादनको बजारको ग्यारेन्टी गरिदिने हो भने शहरमा कठिन जिन्दगी गुजारिरहेका धेरै सुकुम्बासीहरू आफ्नै थातथलोमा फर्कन प्रेरित हुनेछन् ।
यी कार्यहरू गर्नको लागि सुकुम्बासीको अभिलेखीकरण, छानबिन र न्यायोचित छनौटको अवसर प्रदान गर्ने काम सबैभन्दा पहिले गर्नुपर्छ । सहरी सुकुम्वासीलाई तर्साउने, असम्भव आस्वासन दिने, प्रयोग गर्ने र उक्साउने काम गर्ने जबसम्म भैरहन्छ, तबसम्म सहरी सुकुम्वासी समस्या बल्झिरहनेछ ।
सहरी सुकुम्बासीको योगदान र लगानीको सम्मान गर्दै उनीहरूलाई सुरक्षित र पहुँचयोग्य आवासको व्यवस्था गर्दै सुकुम्वासी व्यवस्थापन गर्ने असल नियतका साथ् राज्य अग्रसर हुने हो भने शहर वास्तवमै बस्न योग्य, सुन्दर र हराभरा बन्न सक्नेछन् ।