© 2026
‘नियमित रक्तचाप नापौँ, मौन हत्यारालाई पराजित गरौँ’ भन्ने नाराका साथ आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । पछिल्लो समय मानिसको ज्यानै लिने सबैभन्दा खतरनाक ‘साईलेन्ट किलर’ को रूपमा रक्तचाप देखिएको छ ।
रक्तचाप नियमित जाँचमा लापरबाही गर्दा यसले ठुलो जोखिम निम्त्याएको छ । त्यही भएर यो दिवस मनाउँदै गर्दा यसको विषयमा धेरै भन्दा धेरै नागरिकसम्म सूचना तथा जानकारी पु¥याउनु पर्ने आवश्यकता छ ।
हरेक बर्ष स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यकर्मीहरूले यो दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएका छन् । यो बर्षपनि विभिन्न चेतनामूलक कार्यक्रम गर्ने घोषणा गरेका छन् । तर, अव यो दिवस मनाएर मात्रै हुँदैन, दिवसको विषयमा जानकारीमूलक चेतना वा सन्देश प्रवाह गर्नु जरुरी छ ।
त्यसो त औपचारिकताकै लागि भएपनि हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइने गरिन्छ । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेट तथा डिब्बाका खानेकुरा, प्रशोधित तेल, रातो मासु र उच्च मरमसलाको प्रयोगले उच्च रक्तचापका विरामीको संख्या बढिरहेको छ ।
यसैबीच अर्को चिन्ता के छ भने सन् २०२४ मा गरिएको नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सकहरू बताउँछन् ।
नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा ३५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । नेपालमा सन् २००५ बाट यो दिवस मनाउन शुरु गरिएको हो ।
रक्तचाप अहिलेको मौन तर डरलाग्दो स्वास्थ्य समस्या हो । यसको नियन्त्रणमा ध्यान पु¥याउन नसक्ने हो भने कुनैपनि बेला र अवस्थामा मानिसको ज्यान नै जान सक्छ ।
तसर्थ विश्व रक्तचाप दिवको अवसरमा कुनै एक दिनमात्रै होइन नियमित रक्तचाप जाँच गरेर आफ्नो स्वास्थ्यमा ध्यान पु¥याउँ । अनि धुम्रपान र मद्यपान तथा अनावश्यक तनाव र ब्यस्त दैनिकीलाई सन्तुलित बनाउने प्रयास हामी सवैको प्राथकितामा पर्नु जरुरी छ ।
नेपाली समाजमा अझैपनि उच्च रक्तचापलाई सामान्य जस्तै मान्ने प्रचलन छ । तर, यो प्रवृत्ति मानव स्वास्थ्यकै लागि हानीकारक छ भन्ने कुरा नजरअन्दाज गर्नु हुँदैन । हाम्रो खानपानमा बिषादीको प्रयोग बढ्दो छ, त्यसले पनि रक्तचाप बढाउने गरेको छ ।
रक्तचाप सामान्य भन्दाभन्दै यसले बिकराल स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकोले सवैको सचेतता जरुरी छ । रक्तचापले धेरै अप्रत्यक्ष रोगको शिकार बनाउन सक्छ, जसका कारण भविष्यमा ठुलो समस्या निम्त्याउन सक्छ ।
अर्को कुरा के महत्वपूर्ण छ भने रक्तचाप मोटो पातलो जुनसुकै र जुनकुनै उमेरका मानिसलाई पनि हुनसक्छ । तसर्थ यसलाई ख्यालठट्टा गरेर लापरबाही गरियो भने यसले ज्यान समेत लिनसक्छ । यसको नियन्त्रणको एउटै उपाय भनेको नियमित जाँच हो ।
साथै हाम्रो खानपिन र आहारविहारमा परिवर्तन हो । यसको नियन्त्रण अव हाम्रो लागि चुनौति देखिएको अवस्थामा अभियानका साथ भोलिको दिनमा काम गर्नु जरुरी छ । उच्च रक्तचाप नियन्त्रणको माध्यम हामी आफैभित्र पनि छ । अतः यसको नियन्त्रणमा आफै सचेत बन्नु जरुरी छ ।
पछिल्लो स्वास्थ्य रिपोर्टका अनुसार ४० वर्ष उमेर कटेका बयस्कहरूमा यो रोगको खतरा ८० प्रतिशत बढी हुने भएकोले यसको रोकथामका लागि बाटो विराउनु हुँदैन । उच्च रक्तचापको पहिलो रोकथाम र प्राथमिक उपचार सचेतना नै हो ।
अतः बढ्दो चुनौति र जोखिम बन्दै गएको यो रोग नियन्त्रण आफैबाट सुरु गर्नु जरुरी छ । सवैले रक्तचाप नियमित जाँच गर्ने अभ्यास आजैदेखि सुरु गरौँ ।