© 2026
बुटवल । विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित २०३७ सालमा स्थापना भएको दीप बोर्डिङ हाई स्कुल आज लुम्बिनी प्रदेशकै अग्रणी र विश्वासिलो शैक्षिक संस्थाका रूपमा परिचित बनेको छ ।
झण्डै साढे चार दशक लामो आफ्नो गौरवपूर्ण यात्रामा विद्यालयले हजारौँ विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र होइन, उज्यालो भविष्यको मार्गसमेत प्रदान गर्न सफल भएको छ । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, संस्कारयुक्त शिक्षण सिकाइ र व्यवहारिक ज्ञानका कारण विद्यालय अहिले पनि विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ ।
रूपन्देहीको मुख्य व्यापारिक तथा शैक्षिक केन्द्र बुटवलको सुख्खानगरमा अवस्थित यो विद्यालयले हाल आफ्नो ४५औँ वार्षिकोत्सवसमेत सम्पन्न गरिसकेको छ । समयअनुसार आधुनिक शिक्षण पद्दतिलाई आत्मसात गर्दै आएको विद्यालयले यस क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
विद्यालय अहिले केवल पढाइको केन्द्र मात्र नभई हजारौँ विद्यार्थीको सपना, भविष्य र सफलताको आधारका रूपमा स्थापित भएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, नैतिक शिक्षा, नेतृत्व क्षमता, प्रविधिमैत्री सीप र आत्मविश्वास विकासमा समेत विशेष ध्यान दिइन्छ ।
यस शैक्षिक सत्रमा विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म गरी करिब दुई हजार छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा मात्रै करिब ५ सय ६० विद्यार्थी अध्ययन गरिरहेका छन् । विज्ञान संकायतर्फ बायोलोजी र कम्प्युटर साइन्स तथा व्यवस्थापन संकायतर्फ फाइनान्स र होटल म्यानेजमेन्ट विषयको अध्यापन भइरहेको विद्यालयले जनाएको छ ।
विद्यालयमा आधुनिक तथा आकर्षक प्रयोगशाला, व्यवस्थित कक्षाकोठा, सुविधा सम्पन्न ल्याब, पुस्तकालय र दक्ष तथा अनुभवी शिक्षक–कर्मचारीको व्यवस्था रहेको छ । विद्यार्थीमैत्री वातावरण र गुणस्तरीय शिक्षण पद्दतिका कारण दीप बोर्डिङले छोटो समयमै प्लस टु तहमा समेत उल्लेखनीय सफलता हासिल गर्न सफल भएको छ ।
समयको मागअनुसार विद्यार्थीलाई प्रविधिमैत्री, व्यवहारिक र सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालयले गत वर्षदेखि प्बतजmबलमग ग्लष्खभचकष्तथ सँग तीन वर्षे सहकार्य सुरु गरेको छ । उक्त सहकार्यमार्फत विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षकको क्षमता विकास र आधुनिक शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ ।
विद्यालयले काठमाडौं विश्वविद्यालयको समन्वयमा शैक्षिक प्रमुख नियुक्त गरी गुणस्तरीय शिक्षण गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाएको जनाएको छ । विद्यार्थीलाई केवल परीक्षामुखी होइन, भविष्यमा सक्षम, आत्मनिर्भर र प्रतिस्पर्धी नागरिक बनाउने उद्देश्यका साथ विद्यालय अघि बढिरहेको छ ।
स्थापनाकालदेखि नै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता कायम राख्दै आएको विद्यालयले २०४४ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागिता गराउन सुरु गरेको थियो । त्यसयता विद्यालयले एसएलसी तथा हालको एसईई परीक्षामा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ ।
विद्यालयबाट अध्ययन पूरा गरेका हजारौँ विद्यार्थी आज देश तथा विदेशका विभिन्न प्रतिष्ठित क्षेत्रमा सफलतापूर्वक कार्यरत छन् । चिकित्सक, इन्जिनियर, प्राध्यापक, प्रशासक, बैंकर, उद्यमी लगायतका विभिन्न क्षेत्रमा विद्यालयका पूर्वविद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेका छन् ।
२०७२ सालदेखि कक्षा ११ र १२ को अध्यापन सुरु गरेको विद्यालयले छोटो समयमै उत्कृष्ट नतिजा हासिल गर्दै आफूलाई अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ । विद्यालयले २०८० सालमा प्लस टु तहमा २ सय ३२ जना विद्यार्थीलाई उत्कृष्ट नतिजासहित उत्तीर्ण गराएको थियो भने २०८१ सालमा १ सय ८० जना विद्यार्थी सफल भएका थिए ।
त्यसैगरी २०८२ सालको प्लस टु परीक्षामा विद्यालयका विद्यार्थी सञ्जोग राजभण्डारीले ३ दशमलव ९६ जीपीए ल्याएर नेपाल प्रथम बन्न सफल भएका थिए भने उत्सवराज भट्टराईले ३ दशमलव ९५ जीपीए प्राप्त गरी नेपाल द्वितीय स्थान हासिल गरेका थिए ।
एसईई परीक्षामा पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ । २०८२ सालको एसईई परीक्षामा विद्यालयका सात जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका थिए । आशिका पाण्डे, बृशिका थापा क्षेत्री, दिम्पी केशरी, साहिल मण्डल, साम्पारन केसी, सोमिन पिया र रिजन पोखरेलले उत्कृष्ट नतिजा ल्याउँदै विद्यालयको गौरव बढाएका हुन् ।
उक्त वर्ष विद्यालयले १ सय ३४ जना विद्यार्थीलाई एसईई परीक्षामा सहभागी गराई सतप्रतिशत नतिजा हासिल गरेको थियो । निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयबाट अध्ययन गरेका धेरै विद्यार्थीले आईओएम, आईओई लगायतका प्राविधिक विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् ।
विद्यालयका पूर्वविद्यार्थी अहिले नेपाल सरकारका विभिन्न उच्च पद, निजी क्षेत्र, बैंकिङ, शिक्षा, स्वास्थ्य तथा प्रशासनिक क्षेत्रमा महŒवपूर्ण जिम्मेवारीमा कार्यरत छन् । यसले विद्यालयको शैक्षिक स्तर, अध्यापन पद्धति र गुणस्तरीय शिक्षाको प्रमाण प्रस्तुत गर्ने विद्यालय प्रशासनको दाबी छ ।
गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार, आधुनिक प्रविधिमैत्री शिक्षण पद्धति र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको दीप बोर्डिङ हाई स्कुल आज पनि हजारौँ अभिभावकको विश्वास र विद्यार्थीको उज्ज्वल भविष्यको आधारका रूपमा स्थापित हुँदै गएको छ ।
संस्कार र गुणस्तरमा केन्द्रित छौंः प्राचार्य न्यौपाने
विद्यालयका प्राचार्य न्यौपानेका अनुसार अहिलेको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन नहुने भन्दै विद्यार्थीलाई सिक्ने मात्र नभई भविष्यमा “बिक्न र टिक्न सक्ने” बनाउने उद्देश्यका साथ अध्यापन गराइँदै आएको छ । उनले गुणस्तरीय शिक्षासँगै संस्कार, व्यवहार र आत्मनिर्भरता विकासमा विद्यालयले विशेष ध्यान दिएको बताए ।
उनका अनुसार विद्यालयले पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्मको योजना बनाएर अघि बढिरहेको छ । “हामीकहाँ पूर्वप्राथमिक तहमा भर्ना भएका विद्यार्थीले भविष्यमा स्नातक तहसम्म अध्ययन गर्न बाहिर जान नपरोस् भन्ने लक्ष्य राखेका छौँ,” उनले भने, “आगामी वर्षदेखि स्नातक तह सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।”
विद्यालयले केवल कक्षाकोठाभित्रको पढाइलाई मात्र प्राथमिकता नदिई विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत ध्यान केन्द्रित गरेको प्राचार्य न्यौपानेको भनाइ छ । विषयगत ज्ञान, आत्मविश्वास, नेतृत्व क्षमता र आफैँ सिक्न सक्ने बानीको विकास गर्न विभिन्न अतिरिक्त गतिविधिमा विद्यार्थीलाई सहभागी गराइने गरिएको उनले बताए ।
उनले विद्यालयलाई शैक्षिक गुणस्तरको ‘हव’ का रूपमा विकास गर्ने लक्ष्यसहित शिक्षकको क्षमता अभिवृद्धि र विद्यार्थीलाई सीपसँग जोड्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । “भोलिका दिनमा विद्यार्थी जहाँ गए पनि प्रतिस्पर्धा गर्न सक्ने बनाउन हामी योजनाबद्ध रूपमा लागिरहेका छौँ,” उनले भने ।
विद्यालयले आधुनिक शिक्षण पद्धतिलाई आत्मसात गर्दै काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर मावि तहमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । प्राचार्य न्यौपानेका अनुसार काठमाडौं विश्वविद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ ।
शिक्षकलाई समयसापेक्ष तालिम, क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि कसरी बढाउन सकिन्छ भन्ने विषयमा विश्वविद्यालयसँग सहकार्य भइरहेको उनले बताए । “विद्यार्थीलाई केवल जान्ने होइन, भविष्यमा केही गर्न सक्ने बनाउने अभियानमा हामी अघि बढिरहेका छौँ,” उनले भने ।
विद्यार्थीको चाहना अनुसार दीपमा पढाइ: वसन्तकुमार जोशी
विद्यालय व्यवस्थापनसँग आवद्ध बसन्तकुमार जोशीले पनि अहिलेको शिक्षा प्रणाली विद्यार्थीको चाहना र रुचिअनुसार हुनुपर्ने बताए । उनले आफूले २०४६ सालमा यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै समयसँगै शिक्षण शैली पनि परिवर्तन हुनुपर्ने धारणा राखे ।
“हाम्रो समयमा एसएलसी पास गर्नु नै संसार जिते जस्तो लाग्थ्यो,” उनले भने, “तर अहिलेका विद्यार्थी फरक सोच र क्षमताका छन् । उनीहरूलाई उनीहरूको रुचिअनुसार विषय छनोट गर्न र पढ्न दिने हो भने अझ राम्रो सिकाइ हुन्छ ।”
उनले विद्यालयले यही अवधारणालाई आत्मसात गर्दै विद्यार्थीमैत्री शिक्षण प्रणाली सञ्चालन गरिरहेको बताए । गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, संस्कार, अनुशासन र असल आचरणलाई विद्यालयले विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।
दवाबमा होईन रुचीका आधारमा पढाइन्छ: प्लस टु संयोजक
विद्यालयका प्लस टु संयोजक कमल नेपालले पनि विद्यार्थीलाई दबाबमा नभई रुचिका आधारमा पढाउनुपर्नेमा जोड दिए । उनका अनुसार एसइई उत्तीर्ण गरेका धेरै विद्यार्थी अझै परिपक्व भइसकेका हुँदैनन् । त्यसैले उनीहरूलाई सही मार्गनिर्देशन, सकारात्मक वातावरण र आत्मविश्वास आवश्यक पर्छ ।
“सरकारले १२ कक्षासम्मलाई विद्यालय तहका रूपमा परिभाषित गरेको छ,” उनले भने, “त्यसैले विद्यार्थीलाई राम्रो वातावरणमा राखेर उनीहरूको क्षमता पहिचान गर्दै सही दिशा दिन आवश्यक हुन्छ ।”
उनले विद्यालयले विद्यार्थीको रुचि र क्षमता अनुसार विषय छनोटदेखि करियर मार्गदर्शनसम्मका कार्यक्रम सञ्चालन गरिरहेको बताए । “विद्यार्थीले हामीलाई प्रत्यक्ष रूपमा ‘यहाँ दबाबभन्दा पनि रुचिअनुसार पढ्न पाइन्छ’ भनेर प्रतिक्रिया दिने गरेका छन्,” उनले भने, “त्यसले हामीलाई अझ उत्साहित बनाएको छ ।”
शैक्षिक गतिविधिमा उत्कृष्ट छ: डा. लक्ष्मण पौडेल
विद्यालयका पूर्वविद्यार्थी तथा हाल बालरोग विशेषज्ञका रूपमा कार्यरत डा. लक्ष्मण पौडेलले दीप बोर्डिङलाई आफ्नो सफलताको आधार भएको बताएका छन् ।
उनले विद्यालयलाई यस क्षेत्रकै पुरानो र अग्रणी शैक्षिक संस्था भन्दै यहाँ प्राप्त शिक्षाले नै आफूलाई आजको स्थानसम्म पु¥याएको बताए । “३० वर्षअघि मैले पढेको विद्यालय आज पनि उत्तिकै अब्बल देख्दा खुशी लाग्छ,” उनले भने, “विद्यार्थीको उज्वल भविष्य निर्माणमा दीपको महŒवपूर्ण भूमिका छ ।”
उनले विद्यालयले दिएको बलियो शैक्षिक आधारकै कारण आफू चिकित्सक बन्न सफल भएको बताए । “जग बलियो भए घर बलियो हुन्छ भनेझैँ विद्यालयले दिएको शिक्षाले नै मलाई आज यो स्थानमा पु¥याएको हो,” उनले भने ।
दीपकै कारण म यो स्थानमा छु: इन्जिनियर कुशलता न्यौपाने
विद्यालयकी पूर्वविद्यार्थी तथा इन्जिनियर कुशलता न्यौपानेले पनि आफ्नो सफलताको श्रेय दीप बोर्डिङलाई दिएकी छन् । उनले विद्यालयले दिएको शिक्षा, संस्कार र शिक्षकको माया–स्नेहले जीवनमा अघि बढ्न ठूलो प्रेरणा दिएको बताइन् ।
“दीपले दिएको उज्यालोले मलाई आजको स्थानमा पु¥याएको हो,” उनले भनिन्, “यहाँका शिक्षक र कर्मचारीको व्यवहार, पढाउने शैली र हेरचाहले सधैँ पढाइमा अग्रसर बनाइरह्यो ।”
हाल नेपाल सरकारको उपसचिवका रूपमा कार्यरत उनले विद्यालयको शिक्षण शैली अत्यन्त सहज र प्रभावकारी रहेको बताइन् । “मेरो भविष्य निर्माणमा दीपको भूमिका अत्यन्त महत्वपूर्ण छ,” उनले भनिन्, “यहाँ सिकेको शिक्षा र संस्कारले जीवनभर मार्गदर्शन गर्नेछ ।”
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि दीप बोर्डिङलाई आफूहरूको दोस्रो घरका रूपमा लिने गरेका छन् । उनीहरूका अनुसार विद्यालयले केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा विशेष ध्यान दिने गरेको छ ।
एक विद्यार्थीले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र शिक्षकको सहयोगी भूमिकाका कारण आफूमा जिम्मेवारीबोध र आत्मविश्वास बढेको बताए । “यहाँको पढाइले मलाई केवल परीक्षा पास गर्न मात्र होइन, जीवनमा सफल बन्न सिकाएको छ,” उनले भने ।
विद्यार्थीको चौतर्फि विकासमा ध्यान दिन्छ: विद्यार्थी
त्यस्तै विद्यार्थी सक्रीना कुँवरले दीप बोर्डिङलाई आफ्नै घरजस्तो महसुस हुने बताइन् । कक्षा १ देखि अध्ययन गर्दै आएकी उनले एसइईपछि काठमाडौंको केएमसीमा अध्ययन गर्न गए पनि त्यहाँको वातावरण आफूअनुकूल नभएपछि पुनः दीपमै फर्किएको अनुभव सुनाइन् ।
“दीपको वातावरण, शिक्षकको माया र यहाँको अपनत्वले मलाई फेरि यहीँ फर्कायो,” उनले भनिन्, “मलाई यो विद्यालय आफ्नै गाउँ र घरजस्तो लाग्छ ।”
उनले विद्यालयको पुस्तकालय, प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र सचेत शिक्षकहरूको हेरचाह आफूलाई अत्यन्त मनपर्ने बताइन् । “यहाँका शिक्षक–कर्मचारीले आफन्तले जस्तै व्यवहार गर्नुहुन्छ,” उनले भनिन्, “त्यसैले दीप मेरो लागि विद्यालय मात्र होइन, परिवारजस्तै बनेको छ ।”
समयअनुसार आधुनिक शिक्षण पद्धति, व्यवहारिक शिक्षा, संस्कारयुक्त सिकाइ, अनुभवी शिक्षक र विद्यार्थीमैत्री वातावरणका कारण दीप बोर्डिङ हाई स्कूल अहिले पनि गुणस्तरीय शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
विद्यार्थीको भविष्य निर्माणलाई केन्द्रमा राखेर अघि बढिरहेको विद्यालयले आगामी दिनमा अझ नयाँ योजना र कार्यक्रममार्फत शैक्षिक क्षेत्रमा थप उचाइ हासिल गर्ने विश्वास लिइएको छ ।