Butwal Today

बिस बिघामा कृषि पर्यटनको सपना

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

नवलपरासी । वर्षौंदेखि बाँझो र बगरका रूपमा रहेको तुरिया खोला किनारको जमिनलाई उत्पादनशील बनाउने अभियानमा रामग्रामका युवा देवेन्द्र चौधरी जुटेका छन् । नदीले थुपारेको बालुवा र गेग्रानले भरिएको बगरलाई खेतीयोग्य जमिनमा रूपान्तरण गर्दै कृषि उत्पादन र पर्यटनलाई जोड्ने उद्देश्यले उनले कोलिय एग्रो टुरिज्म पार्क निर्माणको पहल गरेका हुन् ।

रामग्राम नगरपालिका–१८ डिघवलस्थित तुरिया खोलाको बगरलाई हरियाली, कृषि उत्पादन र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उनको योजना छ । यसका लागि उनले विद्यालयको प्रयोगविहीन जग्गा भाडामा लिएर फूलखेती र तरकारीखेती सुरु गरेका छन् । विद्यालयको उपयोगविहीन जग्गालाई उत्पादनसँग जोड्ने उद्देश्यले सुरु गरिएको उनको प्रयास अहिले तुरिया खोला किनारको करिब २० बिघा बगरसम्म विस्तार भएको छ ।

चौधरीले प्रतिकट्ठा एक हजार रूपैयाँ भाडा तिर्ने गरी जग्गा लिएर कृषि गतिविधि अघि बढाइरहेका छन् । बगरमा खेती गर्न सहज छैन । खोलाले बगाएर ल्याएको बालुवा र गेग्रानका कारण माटो व्यवस्थापन, सिँचाइ र खेतीयोग्य जमिन तयार पार्न ठूलो मेहनत र लगानी आवश्यक पर्छ । तर यही चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यसहित उनी बगरलाई उत्पादनको केन्द्र बनाउने प्रयासमा छन् ।

उनको योजना कृषि उत्पादनमा मात्र सीमित छैन । फूलखेती, तरकारीखेती, वृक्षारोपण र प्राकृतिक वातावरणको संरक्षणलाई एकीकृत गर्दै कृषि पर्यटनको गन्तव्य बनाउने उनको लक्ष्य छ । यसबाट स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र क्षेत्रको पर्यटकीय सम्भावना उजागर हुने अपेक्षा गरिएको छ ।

पार्कलाई हरियाली र आकर्षक बनाउने उद्देश्यले परिसरमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको छ । वृक्षारोपणमार्फत वातावरण संरक्षणसँगै पार्कको सौन्दर्य बढाउने र भविष्यमा पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको चौधरीले बताए ।

यस अभियानमा लुम्बिनी प्रदेश सरकारले समेत केही सहयोग गरेको उनले जानकारी दिए । सरकारी सहयोगले प्रारम्भिक काम अघि बढाउन सहज भए पनि बगरलाई पूर्ण रूपमा खेतीयोग्य जमिनमा रूपान्तरण गर्न अझै ठूलो लगानी र प्राविधिक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

“बगरलाई खेतीयोग्य जमिन बनाउने काम सजिलो छैन । यसका लागि निरन्तर मेहनत, लगानी र प्राविधिक सहयोग चाहिन्छ,” चौधरीले भने, “अहिले तत्काल केही राहत र सहयोग प्राप्त भयो भने एग्रो टुरिज्म पार्कलाई विस्तारै आफैँ आत्मनिर्भर बनाउन सक्छौँ ।”

उनका अनुसार सुरुवाती चरणमा आवश्यक पूर्वाधार निर्माण, माटो व्यवस्थापन, सिँचाइ र खेतीका लागि उपयुक्त वातावरण तयार गर्न सके पार्कलाई दीर्घकालीन रूपमा आफ्नै आम्दानीबाट सञ्चालन गर्न सकिने सम्भावना छ । कृषि उत्पादनसँगै पर्यटकीय गतिविधि विस्तार गर्न सके स्थानीय युवाले गाउँमै रोजगारी पाउने र स्थानीय उत्पादनले बजारसमेत पाउने उनको अपेक्षा छ ।

चौधरीको प्रयासलाई स्थानीय उद्यमी नरेश जैसवालले पनि सकारात्मक रूपमा लिएका छन् । उनका अनुसार यस अभियानले विद्यालयको जग्गाको उपयोग, वातावरण संरक्षण र कोलिय क्षेत्रको ऐतिहासिक पहिचान संरक्षणमा समेत योगदान पु¥याउन सक्छ ।

“यस्ता काममा तीनै तहका सरकारले सहयोग गर्नुपर्छ । स्थानीयले पनि यस्ता युवालाई प्रोत्साहित गर्नुपर्छ,” जैसवालले भने, “कोलिय एग्रो पार्कको उदाहरण अन्य क्षेत्रमा पनि विस्तार गर्न सके बाँझो तथा उपयोगविहीन जमिनको सदुपयोगलाई बढावा दिन सकिन्छ ।”

कोलिय क्षेत्रको ऐतिहासिक पहिचानसँग जोडिएको डिघवललाई कृषि तथा प्राकृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना पनि यस अभियानसँग जोडिएको छ । कृषि उत्पादन, हरियाली र स्थानीय इतिहासलाई एकै ठाउँमा जोड्न सके यस क्षेत्रको पहिचान विस्तार गर्न सकिने स्थानीयको अपेक्षा छ ।

तर करिब २० बिघा बगरलाई पूर्ण रूपमा खेतीयोग्य र व्यवस्थित पर्यटकीय क्षेत्रमा रूपान्तरण गर्न व्यक्तिगत प्रयास मात्र पर्याप्त देखिँदैन । यसका लागि स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित निकायबाट आवश्यक पूर्वाधार, प्राविधिक ज्ञान, सिँचाइ सुविधा तथा आर्थिक सहयोग आवश्यक छ ।

बगरमा खेती सम्भव छैन भन्ने परम्परागत सोचलाई चुनौती दिँदै चौधरीले थालेको प्रयास सफल भए नदी किनारका उपयोगविहीन जमिनलाई उत्पादनसँग जोड्ने एउटा नमुना बन्न सक्छ । कृषि, वातावरण संरक्षण र पर्यटनलाई एकीकृत गर्ने उनको योजनाले डिघवल क्षेत्रको आर्थिक तथा पर्यटकीय सम्भावनालाई समेत उजागर गर्न सक्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?