© 2026
बुटवल । नेपाली साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा सङ्ग्रह ‘नासो’ मा समेटिएको कथा ‘परालको आगो’ लाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘परालको आगो’ अहिले देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ । “परालको आगो” भन्ने उखानलाई सार्थक बनाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले पति–पत्नीबिचको झगडा र त्यसले निम्त्याउने पारिवारिक तनावलाई मुख्य विषयवस्तु बनाएको छ ।
चलचित्रले घरेलु हिंसा र वैवाहिक सम्बन्धभित्रका तिक्तता देखाउने प्रयास गरेको छ । तर प्रस्तुत गरिएको कथा वर्तमान समयको सामाजिक यथार्थसँग पूर्ण रूपमा मेल नखाने देखिन्छ ।
अहिलेको समाजमा महिलामाथि हुने हिंसा र व्यवहार त्यति उग्र र पुरानो शैलीको नहुन सक्छ भन्ने तर्क पनि उठ्न सक्छ । चलचित्रमा देखाइएको जस्तो श्रीमानले श्रीमतीलाई घुच्चुक समाएर लछारपछार गर्ने, घैलो बोकिरहेको अवस्थामा लात्तीले हानेर प्रहार गर्ने र घरबाट निकाल्ने जस्ता दृश्यहरू हेर्दा कहाली लाग्दा लाग्छन् ।
यस्ता घटनाले तत्कालीन समाजको कठोर यथार्थ झल्काए पनि वर्तमान पुस्ताका लागि अस्वाभाविक लाग्न सक्छ ।
कथाअनुसार “परालको आगो” क्षणिक रिस–राग र झगडालाई जनाउने प्रतीक हो, जुन चाँडै बल्छ र चाँडै निभ्छ ।
यही भावलाई आधार मानेर श्रीमान्–श्रीमतीबिचको सम्बन्धलाई चित्रण गरिएको छ । तर चलचित्रले देखाएको घरेलु हिंसाको गहिराइले दर्शकलाई भावनात्मक रूपमा पूर्ण रूपमा जोड्न नसकेको महसुस हुन्छ ।
तथापि, चलचित्रको सबल पक्ष यसको अभिनय, गाउँको सुन्दर परिवेश र गीत–सङ्गीत नै हो, जसले दर्शकलाई हलमै बाँधेर राख्न सफल भएको देखिन्छ ।
चलचित्रमा अभिनेता प्रकाश सपुतले “चामे” नामक मुख्य पात्रको भूमिका निर्वाह गरेका छन् । उनी एक मेहनती किसान भए पनि अत्यन्तै क्रोधी र आवेगमा आउने स्वभावका रूपमा प्रस्तुत भएका छन् ।
सामान्य विवादमै श्रीमतीमाथि हात हाल्ने, रिसमा निर्णय गर्ने उनको चरित्रले तत्कालीन ग्रामीण समाजको एउटा कठोर पक्षलाई प्रतिनिधित्व गर्छ । वास्तविक जीवनमा शान्त स्वभावका रूपमा चिनिने प्रकाश सपुतलाई यस्तो फरक अवतारमा देख्दा दर्शकले नयाँ अनुभव पाएका छन् ।
यस्तै, सुहाना थापाले “गौथली” नामक पात्रमार्फत ग्रामीण श्रीमती र बुहारीको भूमिकालाई निकै प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन् । उनको अभिनयले दर्शकलाई अनुभवी कलाकारको झल्को दिन्छ ।
विशेष गरी माइती र घरबिचको द्वन्द्व, सामाजिक दबाब र महिलाको भावनात्मक सङ्घर्षलाई उनले निकै सशक्त रूपमा देखाएकी छन् । “माइतीसँग छोरीको साइनो विवाहपछि सकिए पनि रगत तिम्रै बग्छ” भन्ने संवादले धेरै दर्शकको मन छोएको देखिन्छ ।
तर चलचित्रमा गौथली र चामेबिचको प्रेम र सम्बन्ध विकासलाई पर्याप्त रूपमा गहिरो रूपमा देखाउन नसकिएको कमजोरी पनि देखिन्छ । यसको तुलनामा जुठे (सौगात मल्ल) र उनकी पत्नी सुन्तली (सिर्जना अधिकारी) बिचको सम्बन्धलाई बढी प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । उनीहरूको संवाद र जीवनदृष्टिले चलचित्रलाई केही हदसम्म सन्तुलन दिएको देखिन्छ ।
चलचित्रको अन्त्यतिर सुन्तलीको संवाद “त्यही भएर त भन्या नि, बूढाबूढीको झगडा परालको आगो” ले कथा निष्कर्षतर्फ लैजान्छ । लामो झगडा र तनावपछि पनि अन्ततः पति–पत्नीबिच मेलमिलाप हुन्छ, जसले पारिवारिक सम्बन्धलाई पुनः जोड्ने सन्देश दिन खोजेको छ ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
गुरुप्रसाद मैनालीको मूल कथालाई आधुनिक सिनेमा भाषामा प्रस्तुत गर्ने प्रयास गरिएको भए पनि यसको सामाजिक सन्देश भने केही विवादास्पद देखिन्छ ।
चलचित्रले घरेलु हिंसालाई गम्भीर रूपमा प्रस्तुत गरे पनि कतिपय स्थानमा त्यसलाई सामान्यीकरण गरिएको जस्तो अनुभूति हुन्छ । वर्तमान समाजमा महिलाहरू अब यस्ता हिंसा सहेर बस्ने अवस्थामा छैनन् भन्ने यथार्थलाई पनि ध्यान दिन आवश्यक देखिन्छ । अहिलेका धेरै महिलाहरू आत्मनिर्भर बन्ने, एक्लै जीवन जिउन सक्ने र आफ्ना अधिकारका लागि सङ्घर्ष गर्ने अवस्थामा पुगेका छन् ।
समग्रमा “परालको आगो” चलचित्र कथाभन्दा अभिनय, दृश्य र प्रस्तुतीकरणका कारण बढी प्रभावशाली देखिन्छ । कथाको सामाजिक सन्देश बलियो भए पनि यसको प्रस्तुतीकरण र चरित्र विकासमा अझ सुधारको आवश्यकता देखिन्छ ।
तथापि, नेपाली साहित्यिक कथालाई पर्दामा उतार्ने प्रयासका रूपमा यो चलचित्रले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।