Butwal Today

आगामी बजेट १९ खर्बको हाराहारीमा, कर दर घटाउने सरकारको तयारी

१८ बैशाख २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब १९ खर्ब रुपैयाँको यथार्थपरक बजेट ल्याउने तयारी गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई नयाँ दिशामा मोड्ने लक्ष्यसहित बजेट तयार पारिँदै रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ रहेको र आगामी वर्ष ७० खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए। उनका अनुसार राष्ट्रिय योजना आयोगले २२ खर्ब रुपैयाँसम्मको बजेट सीमा दिए पनि विगतमा ठूलो बजेट ल्याएर खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्न यथार्थपरक आकारको बजेट ल्याइनेछ। “बजेट ठूलो बनाउने होइन, कार्यान्वयनयोग्य बनाउने हाम्रो लक्ष्य हो,” उनले भने। अर्थमन्त्री वाग्लेले सरकारको अनिवार्य खर्च करिब १३ खर्ब ३० अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै आगामी वर्ष १८ खर्ब ९० अर्बदेखि १९ खर्ब रुपैयाँको सीमाभित्र बजेट आउने स्पष्ट पारे।

चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइए पनि खर्च हुन नसक्ने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत करिब २ खर्ब ७५ अर्ब रुपैयाँ घटाइएको थियो। संशोधित बजेट अनुसार अब करिब १६ खर्ब ८८ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको छ। सरकारले आगामी बजेटमा कर दर घटाउँदै राजस्वको दायरा विस्तार गर्ने रणनीति लिएको छ। अर्थमन्त्रीका अनुसार अहिले व्यक्तिगत आयकर अधिकतम ३९ प्रतिशतसम्म रहेको छ, जसलाई पुनर्संरचना गर्दै धेरै नागरिकलाई कर प्रणालीमा समेट्ने योजना बनाइएको छ।

“एउटै व्यक्तिबाट धेरै कर उठाउनेभन्दा धेरै व्यक्तिलाई करको दायरामा ल्याउँदा समग्र राजस्व बढ्छ,” उनले भने। सरकारले निजी क्षेत्रको पुँजी परिचालन बढाउने, अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्ने तथा सरल र जनअपेक्षाअनुसारको बजेट ल्याउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?