© 2026
दोहा (कतार) । नेपाली राजदूतावास कतारको आयोजना तथा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) एनसिसी कतारको सह–आयोजनामा २५७० औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइएको छ ।
नेपाली राजदूतावास कतारको सभा हलमा सम्पन्न कार्यक्रममा लामा गुरु रोशन लो तामाङले शान्तिका दूत भगवान् गौतम बुद्धका उपदेश र विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै प्रवचन दिएका थिए। कार्यक्रममा सहभागीहरूले बुद्धको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा पुष्प अर्पण गरी श्रद्धापूर्वक बुद्ध जयन्ती मनाइएको हो ।
नेपाली राजदूतावास कतारले तोकेको समय अनुसार बिहान ९ बजे समयमै सुरु गरिएको कार्यक्रममा सीमित वक्ताहरूको सहभागिता रहे पनि कतारमा रहेका विभिन्न नेपाली सङ्घ संस्थाका प्रतिनिधि तथा कतारमा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा विशेष गरी बुद्धका शान्ति, करुणा र अहिंसाका सन्देशबारे चर्चा गरिएको थियो ।
एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले बुद्ध पूर्णिमाको अवसरमा विदेशमा रहँदा पनि नेपाली संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे। उनले कार्यक्रम समयमै सुरु गरी छोटो र सान्दर्भिक बनाइएकोमा सन्तुष्टि व्यक्त गरे।
साथै, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कतारलाई कर्मथलो बनाएका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै समुदायलाई एकताबद्ध बनाउन योगदान गरेकोमा नेपाली राजदूतावासलाई धन्यवाद दिएका थिए ।
कार्यवाहक राजदूत कुमार राईले कार्यक्रमको समापन गर्दै भगवान् बुद्धका उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको बताए । उनले समाजमा सद्भाव, सहिष्णुता र मानवताको विकासका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरे । साथै, यस्ता कार्यक्रमले नेपाली समुदाय र राजदूतावासबिचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
बुद्ध जयन्ती प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन मनाइन्छ, जसले बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाणलाई स्मरण गर्दछ । लुम्बिनीमा जन्मिएका गौतम बुद्धले विश्वलाई शान्ति, मध्यम मार्ग र दुःखबाट मुक्ति पाउने मार्ग देखाएका थिए ।


