Butwal Today

महिलाको शक्ति बनेकी बडिबिल्डर ‘रविना’

१९ बैशाख २०८३, शनिबार
अ+
अ-

बुटवल । रंगीन बत्तीहरूले झिलिमिली बनेको स्टेज, दर्शकहरूको हर्ष ध्वनि र बिचमा आत्मविश्वासले भरिएको एक महिला ।

शरीरभरि पसिनाका सुनौलो कणहरू चम्किरहेका छन्, जसले केवल शारीरिक मेहनत मात्र होइन, वर्षौँको सङ्घर्ष, अस्वीकृति र आत्म निर्माणको कथा बोकेको छ ।

यही दृश्यमा उभिएकी छन् नवलपरासी सुनवलकी     २९ वर्षीया रविना कुँवर, जसले आफ्नो जीवनलाई सामान्य सीमाबाट बाहिर निकाल्दै एक प्रेरणादायी यात्रामा रूपान्तरण गरेकी छन् ।

बुवा कल्पुनाथ कुँवर र आमा भूमिका कुँवरकी छोरी रविना निम्न वर्गीय परिवारमा हुर्किएकी साधारण युवती हुन् । बाल्यकालदेखि नै अध्ययनमा सामान्य प्रगति गरेकी उनी १२ कक्षा पूरा गरेपछि परम्परागत जीवनशैलीमै सीमित हुन सक्थिन् । तर उनले त्यो बाटोलाई स्विकारिनन् । उनको मनमा लगातार एउटा प्रश्न गुन्जिरह्यो, “म किन आफ्नै सीमाभित्र बाँधिएर बस्ने ?” यही प्रश्नले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो ।

सुरुमा उनले केवल फिटनेसका लागि जिम जान थालिन् । शारीरिक तन्दुरुस्ती सुधार्ने उद्देश्यले सुरु गरिएको त्यो अभ्यास बिस्तारै गहिरो रुचिमा बदलियो । समयसँगै उनी वेट लिफ्टिङ र शारीरिक सुगठन (बडिबिल्डिङ) तर्फ आकर्षित भइन् ।

५ फिट ५ इन्च उचाइ र ७७ केजी तौलको शरीरलाई उनले अनुशासन, कठोर अभ्यास र सन्तुलित आहारको माध्यमबाट पूर्ण रूपमा रूपान्तरण गरिन् । तर उनको वास्तविक चुनौती शरीर होइन, समाजको सोच थियो ।

रविनाको यात्रा सुरु हुँदै गर्दा समाजका प्रश्नहरू पनि बढ्दै गए । “केटी भएर यस्तो खेल खेल्ने ?”, “बिकिनी लगाएर स्टेजमा उभिने ?”, “यति धेरै मेहनत किन गर्ने ?” जस्ता प्रश्नहरूले उनलाई निरन्तर घेरिरहे । तर यी प्रश्नहरूले उनलाई रोक्न सकेनन्, बरु अझ बलियो बनायो । उनी भन्छिन्, समाजले मलाई कमजोर बनाउन खोज्यो, तर मैले त्यही सोचलाई आफ्नो शक्ति बनाइदिएँ ।

तीन वर्षको निरन्तर मेहनतपछि रविना आज शारीरिक सुगठनको स्टेजमा आत्मविश्वासका साथ उभिन्छिन् । उनले हालसम्म ११–१२ वटा प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा दुई पटक उपाधि जित्दै उनले आफूलाई प्रमाणित गरिसकेकी छन् । राष्ट्रिय स्तरमा पनि उनले दोस्रो र तेस्रो स्थान हासिल गर्दै आफ्नो क्षमता देखाइसकेकी छन् । लुम्बिनी प्रदेशमा उनी पहिलो महिला बडिबिल्डरमध्ये एक हुन्, जहाँ अझै पनि महिलाको सङ्ख्या अत्यन्त न्यून छ ।

उनको सफलताभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको उनको मानसिक परिवर्तन हो । उनी भन्छिन्, फिटनेस केवल शरीर बनाउने कुरा होइन, यो आत्मविश्वास निर्माण गर्ने प्रक्रिया हो ।

फिटनेसले मलाई केवल राम्रो देखिन मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । उनले महिलाहरूमा देखिने थाइराइड, ढाड दुख्ने, हार्मोनल असन्तुलन जस्ता समस्यालाई नियमित अभ्यासले नियन्त्रण गर्न सकिने अनुभव पनि साझा गर्छिन् ।

तर यो यात्रा सजिलो भने छैन । शारीरिक सुगठन खेल आर्थिक रूपमा अत्यन्त महँगो मानिन्छ । दैनिक आहार, सप्लिमेन्ट, जिम शुल्क र अन्य तयारी खर्च मिलाएर एउटा प्रतियोगितामा करिब ५० देखि ६० हजार रुपैयाँसम्म खर्च हुन्छ ।

तर पुरस्कार वितरणमा भने ठुलो असमानता देखिन्छ । पुरुष खेलाडीहरूले लाखौँ रुपैयाँ पुरस्कार पाउँदा महिलाले निकै कम रकममा सन्तोष गर्नुपर्ने अवस्था अझै कायम छ । यो असमानताप्रति रविना खुलेर प्रश्न गर्छिन् । हामी पनि उस्तै मेहनत गर्छौँ, उस्तै पसिना बगाउँछौँ, तर हाम्रो मूल्य किन कम हुन्छ भन्ने उनको प्रश्न अझै अनुत्तरित छ ।

हाल उनी दाङमा हुने लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताको तयारीमा छिन् । ६० केजीबाट ५५ केजीमा तौल झार्ने लक्ष्यका साथ उनी कठोर डाइट र अभ्यासमा जुटेकी छन् ।

उनी १५ देखि २० दिनसम्म नुन नखाने र अन्तिम दिनहरूमा पानी समेत सीमित गर्ने अत्यन्त अनुशासित तयारीमा छिन् । तर उनको उद्देश्य केवल पदक जित्नु मात्र होइन । उनी चाहन्छिन् कि अरू महिलाहरूले पनि आफूलाई सीमित नगरी आफ्ना सपना पछ्याउन सकुन् ।

उनको मुस्कान केवल स्टेजको पोज होइन, त्यो एउटा सन्देश हो । उनले भनिन्, तपाईँलाई कसैले रोकिरहेको छैन, तपाईँ आफैँ डराइरहनुभएको छ । तपाईँको शरीर कमजोर होइन, तपाईँको आत्मविश्वास मात्र सुतिरहेको छ ।

उठ्नुहोस्, सुरु गर्नुहोस्, किनकि एक दिन तपाईँ पनि त्यही स्टेजमा उभिन सक्नुहुन्छ जहाँ तपाईँको पसिना सुनजस्तै चम्किनेछ । नेपालमा शारीरिक सुगठन खेल लामो समयदेखि अभ्यास हुँदै आए पनि अझै यो पुरुष प्रधान खेलका रूपमा लिइन्छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठका अनुसार पछिल्ला वर्षहरूमा महिलाहरूको आकर्षण बढ्दै गएको छ, तर सङ्ख्या अझै न्यून छ ।

उनका अनुसार महिलाहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत पदक जितेर देशको नाम उज्ज्वल बनाइरहेका छन् । तर सामाजिक सोच र संरचनागत सीमाका कारण अझै धेरै महिलाहरू यस क्षेत्रमा आउन सकेका छैनन् ।

रविना कुँवरको सङ्घर्ष केवल व्यक्तिगत सफलता होइन, यो सामाजिक परिवर्तनको सङ्केत पनि हो । महिलाहरू केवल परम्परागत भूमिकामा सीमित हुनु पर्दैन, उनीहरू पनि स्टेजमा उभिएर इतिहास लेख्न सक्छन् भन्ने कुरा उनले प्रमाणित गरेकी छन् ।

उनको यात्रा अझै जारी छ, र यो यात्रा केवल खेलकुदको होइन, आत्मविश्वास, समानता र परिवर्तनको यात्रा मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?