© 2026
काठमान्डौँ ।
जल तथा मौसम विज्ञान विभागले मंगलबारका लागि मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । प्राप्त विवरणअनुसार आज देशभरको मौसम मिश्रित रहनेछ ।
तराईका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी हुने सम्भावना रहेको छ भने पहाडी तथा हिमाली भेगका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।
विभागका अनुसार पश्चिम तथा मध्य तराईका सहरहरूमा दिउँसो अत्यधिक गर्मी महसुस हुनेछ । धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । त्यस्तै भैरहवाको तापक्रम ३७ देखि ३९ डिग्री र सिमराको ३५ देखि ३७ डिग्री सेल्सियसको बीचमा रहनेछ । यी क्षेत्रमा वर्षाको सम्भावना नरहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
यता, पहाडी भेगका सहरहरूमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । पोखरा र ताप्लेजुङमा मध्यम वर्षाको सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ । पोखराको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस रहने अनुमान छ ।
सङ्घीय राजधानी काठमाडौंमा दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ । यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यसैगरी विराटनगर र जिरीमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ । डडेल्धुरा, दिपायल, जुम्ला, ओखलढुङ्गा, धनकुटा, जोमसोम र धरानमा भने मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यी स्थानमा वर्षाको सम्भावना २० देखि ४० प्रतिशतसम्म रहनेछ ।
वीरेन्द्रनगर, घोराही र जनकपुरमा भने आज पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । यी सहरमा आंशिक बदली रहनेछ भने अधिकतम तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियसको आसपास रहने अनुमान छ ।
रातिको समयमा पनि विभिन्न स्थानको मौसम फरक–फरक रहनेछ । धनगढी, नेपालगञ्ज, वीरेन्द्रनगर र भैरहवाको आकाश मुख्यतया सफा रहने तथा वर्षा नहुने सम्भावना छ । तर पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना ३० देखि ४० प्रतिशतसम्म रहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति चिसो बढ्ने अनुमान गरिएको छ । जोमसोममा न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको छ भने जुम्लामा ११ देखि १३ डिग्री र जिरीमा १२ देखि १४ डिग्री सेल्सियस रहने अनुमान छ । काठमाडौंको न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने विभागले जनाएको छ ।