© 2026
बुटवल । हरेक वर्ष जेठको अन्तिम सातादेखि नेपाली आकाशमा एउटा प्रतीक्षा सुरु हुन्छ-मनसुनको। किसान खेत जोत्न तयार हुन्छन्, रोपाइँका लागि बीउबिजन जुटाइन्छ। खोलानाला र नदीको बहाव बढ्ने अनुमान गरिन्छ र मौसमविद्हरूको ध्यान बंगालको खाडीबाट उत्तरतिर सर्दै गरेको मनसुनी प्रणालीमा केन्द्रित हुन्छ। विगतमा यतिबेला नेपालमा मनसुन भित्रिसकेको हुन्थ्यो। तर यस वर्ष त्यो प्रतीक्षा केही लम्बिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपालमा मनसुन सरदर मितिभन्दा ढिलो भित्रने संकेत देखिएको छ। यसको प्रमुख कारण हो-प्रशान्त महासागरमा विकसित भएको ‘एलनिनो’ प्रणाली।
नेपालमा सामान्यतया जुन १३ (जेठ ३०) तिर मनसुन भित्रिने गर्छ। तर यसपालि मौसमविद्हरूले अर्को सातातिर मात्र मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखेका छन्। केही मौसमीय मोडलहरूले पश्चिम नेपालसम्म मनसुन पुग्न असार १६-१७ गतेसम्म लाग्न सक्ने संकेत गरेका छन्।
यो केवल केही दिनको ढिलाइको विषय मात्र होइन। यसले कृषि, पानीका स्रोत, खाद्य सुरक्षा र समग्र अर्थतन्त्रसम्म असर पार्न सक्छ।
सामान्य अवस्थामा प्रशान्त महासागरको पश्चिमी भाग (एसिया र अस्ट्रेलियातिर) को पानी तुलनात्मक रूपमा बढी तातो हुन्छ भने दक्षिण अमेरिकातिरको पूर्वी भाग चिसो हुन्छ। यही तापक्रमको अन्तरले विश्वव्यापी वायुमण्डलीय चक्रलाई सन्तुलनमा राख्ने काम गर्छ।
तर एलनिनो सक्रिय हुँदा यो सन्तुलन खल्बलिन्छ। समुद्रको तातो पानी पूर्वतिर सर्छ। त्यससँगै बादल बन्ने, वर्षा गराउने र हावा चलाउने विश्वव्यापी प्रणालीहरू पनि स्थानान्तरण हुन्छन्। परिणामस्वरूप, कतै असाधारण वर्षा हुन्छ भने कतै खडेरी पर्छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव मनसुनी प्रणालीमा देखिन्छ।
नेपाल र दक्षिण एसियामा वर्षा गराउने मुख्य शक्ति हिन्द महासागरबाट आउने मनसुनी वायु हो। यो हावा समुद्रबाट जलवाष्प बोकेर भारतीय उपमहाद्वीप हुँदै नेपालसम्म आइपुग्छ।
तर एलनिनो सक्रिय हुँदा दक्षिण एसियामा बन्ने न्यूनचापीय प्रणाली कमजोर हुन्छ। समुद्रबाट आउने ओसिलो हावा पर्याप्त रूपमा तानिन सक्दैन। मनसुनी बादलको यात्रा सुस्त हुन्छ र वर्षा गराउने प्रणाली कमजोर बन्छ।
मौसमविद्हरूका अनुसार मनसुन बलियो हुन जमिन धेरै तातो र समुद्र तुलनात्मक रूपमा चिसो हुनुपर्छ। त्यसले समुद्रको ओसिलो हावालाई जमिनतर्फ आकर्षित गर्छ। तर एलनिनोले समुद्रको तापक्रम पनि बढाइदिने भएकाले यो प्राकृतिक सन्तुलन बिग्रन्छ। यही कारण मनसुन ढिलो भित्रने र भित्रिएपछि पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना बढ्छ।
जल तथा मौसम विज्ञान विभागले मनसुन याममा सरदरभन्दा कम वर्षा हुने सम्भावना करिब ६५ प्रतिशत रहेको जनाएको छ। रोचक पक्ष के छ भने मनसुन ढिलो भए पनि प्रिमनसुन याममा भने नेपालले अपेक्षाभन्दा बढी वर्षा पाइसकेको छ।
चैतको पहिलो सातादेखि नै पश्चिमी वायु सक्रिय रहेकाले यस वर्ष प्रिमनसुन अवधिमा सरदरभन्दा करिब २५ प्रतिशत बढी वर्षा भएको विभागको तथ्यांक छ। तर प्रिमनसुनको वर्षाले मनसुनको कमी पूर्ति गर्दैन। नेपालको कृषि प्रणाली अझै पनि मुख्यतः मनसुनी वर्षामै निर्भर छ।
मौसमविद् विनोद पोखरेलका अनुसार एलनिनो सक्रिय भएका अधिकांश वर्षहरूमा नेपालमा मनसुन ढिलो भित्रिएको तथ्यांक छ। सन् १९८२ मा मनसुन नेपाल भित्रिन जुन २७ अर्थात् असार १३ गतेसम्म कुर्नुपरेको थियो, जुन पछिल्ला दशकहरूमा सबैभन्दा ढिलो आगमनमध्ये एक हो।
विभागका अभिलेख हेर्दा एलनिनो प्रभाव भएका वर्षहरूमा मनसुन प्रायः सरदर मितिभन्दा पछि आएको देखिन्छ।
गत वर्ष २९ मेमा नेपाल प्रवेश गरेर अक्टोबर १० मा बाहिरिएको मनसुन नेपालमा रेकर्ड गरिएको सबैभन्दा लामो १३५ दिनको थियो। सन् २०१२ यताका तथ्याङ्क केलाउँदा सन् २०१४ र सन् २०१९ मा सबैभन्दा ढिलो जुन २० मा मनसुन भित्रिएको पाइन्छ।
विभागका अनुसार एलनिनो भएका वर्ष मनसुन भित्रिएको मिति
१९७२, १८ जुन– २०२९ असार ४ गते
१९८२, २७ जुन- २०३९ असार १३ गते
१९८३, २४ जुन- २०४० असार १० गते
१९८७, १४ जुन- २०४४ जेठ ३१ गते
१९९२, २१ जुन- २०४९ असार ७ गते
१९९७, १४ जुन- २०५४ जेठ ३१ गते
२००२, १५ जुन- २०५९ असार १ गते
२००९, २३ जुन- २०६६ असार ९ गते
२०१६, १५ जुन- २०७३ असार १ गते
नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अझै पनि कृषि उत्पादनसँग जोडिएको छ। असारको सुरुवातसँगै देशभर रोपाइँको तयारी सुरु हुन्छ। मनसुन केही दिन ढिलो हुँदा पनि रोपाइँको तालिका प्रभावित हुन सक्छ। यदि वर्षा कम भयो भने त्यसको असर धान उत्पादन, सिँचाइ प्रणाली, खानेपानी स्रोत र जलविद्युत् उत्पादनसम्म पुग्न सक्छ।
तर, मौसमविद्हरूले अहिले नै ठूलो निष्कर्षमा पुग्न नहुने बताउँछन्। मनसुन भित्रिएपछि त्यसको सक्रियता, वितरण र वर्षाको स्वरूपले अन्तिम प्रभाव निर्धारण गर्नेछ।
तर यति निश्चित छ, यस वर्ष नेपालको आकाशमा देखिएको मनसुनको ढिलाइ केवल स्थानीय मौसमको घटना होइन। यो प्रक्रिया हजारौं किलोमिटर टाढा प्रशान्त महासागरको तातो पानीबाट सुरु भएको छ।
मौसमविद्हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘एल निन्यो’ र ‘ला निन्या’ हो।
समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।
कैयन् देशका मौसम निकायहरूले गरेको प्रक्षेपणअनुसार यो वर्षको एल निन्यो हालसम्मकै शक्तिशाली हुन सक्छ-जसलाई सुपर एल निन्यो पनि भनिएको छ। मनसुनमा एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्हरू बताउँछन्।
प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम केही तात्तिँदा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।