Butwal Today

यू–१९ एसिया कप क्रिकेट : भारतसँग नेपाल १० विकेटले पराजित

२६ मंसिर २०८०, मंगलवार
अ+
अ-

बुटवल,२६ मंसिर । यू–१९ एसिया कप क्रिकेटमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ ।

मंगलबार समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग फराकिलो हार ब्यहोरेको हो ।

नेपालले प्रस्तुत गरेको ५३ रनको झिनो लक्ष्य भारतले ७ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

ओपनरद्धय अर्सिन कुलकर्नीले ४३ र आर्दश सिंहले १३ रन बनाउँदै भारतलाई शानदार जित दिलाए ।

कुलकर्नीले ३० बलमा ५ छक्का र १ चौकाको मदतले ४३ रन बनाएका थिए । १३ रन प्रहार गरेका सिंहले २ चौका प्रहार गरेका थिए ।

यूएईमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २२ ओभरमा अलआउट हुँदै ५२ रन मात्र बनाएको थियो ।

ओपनर दिपक बोहोरालाई १ रनमा गुमाएको नेपालका भरपर्दा ब्याट्सम्यान अर्जुन कुमाल ७ रनमा पेविलियन फर्किएका थिए ।

उत्तम मगर शुन्य रनमा आउट हुदाँ कप्तान देव खनाल २, गुलसन झा ४, दिपक डुम्रे शुन्य, दिपक बोहोरा ७, दिपेश कँडेल ४, सुबास भण्डारी २ र हेमन्त धामी ८ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

भारतविरुद्ध नेपालको कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिएका थिए । आरध्या सुक्लाले २ तथा आर्शिन कुलकर्नीले एक विकेट झारेका थिए ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले र अगफानिस्तानसँग ७३ रनको पराजित बनेको थियो ।

नेपाल समूह चरणका तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट घर फर्कने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?