© २०२३
पाल्पा, ०६ जेठ ।
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरूले पूर्णखोप लगाएको सुनिश्चित भएसंगै नगरपालिकालाई आइतबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । रामपुरलाई घोषणा गरेसँगै जिल्लाका आठ वटा पालिका पूर्णखोप दीगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भौतिक पूर्वाधारको विकासले मात्र विकासको सुचक पुरा नहुने बताए । खनालले विकासको सूचकमा याहाँका जनताको स्वस्थ्य र औषत आयुको महत्वपूर्ण भूमिका रहने भन्दै यसका लागि पूर्ण मात्राको खोप अपरिहार्य रहेको बताए । राज्यले स्वास्थ्यमा ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै यसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दिर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको बताए । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले स्वास्थ्यका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि जोड दिने बताए । पूर्ण खोप सुनिश्चितताको लागि जिम्मेवारीको रूपमा लिएर निरन्तर रूपमा लाग्न स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरे । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघियता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्ष सम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताए ।
यस वर्ष रामपुर नगरपालिका संगै ८ पालिका पूर्ण खोप सुनिश्चित पालिका भैसकेको बताउँदै जेठ ६ गते भित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिने जानकारी दिए । उनले पाल्पामा चालु आर्थिक वर्ष भित्र कुनै पनि महिला घरमा प्रसुति हुनु नपरेको तथ्याङ्क प्रस्तुत गर्दै पाल्पालाई पहिलो संस्थागत सुत्केरी युक्त जिल्ला घोषणाको तयारी भैरहेको बताए । गाँडाकोट स्वस्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले शिशु मृत्युदर न्यूनिकरणका लागि नेपालमा १४ वटा खोप लगाइँदै आएको जानकारी दिदै खोपमा सक्रिय स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए ।
साथै खोपकेन्द्रको भौतिक संरचना निर्माण गर्नु आवश्यक रहेको बताए । महिला स्वास्थ्य स्वंय सेविका कमला घर्तीले आफ्नो भनाई राखेका थिए । रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिना सम्मका ५ सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार ९७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताए । महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू परिचालन गरी सबै वडामा खोज र खोप अहिभाया सञ्चालन गरिएकोमा कुनै पनि बालबालिका नियमित खोप लगाउन छुटेको नभेटिएको घिमिरेले बताए । कार्यक्रमको अवसरमा नगरभित्रका १० वडालाई पूर्णखोप सुनिश्चितता घोषणा र वडा नं. १ लाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको छ ।