© २०२३
बुटवल, ०५ जेठ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाँण चयन भएकी छन् । खाँण नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणकी कान्छी श्रीमती हुन । यस अघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए । भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए । त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाँणलाई संयोजक तोकिएको हो । उपसमितिको आइतबारकै बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए । सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए । त्यसपछि भट्टराईले मन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु हुँदैन भनेर प्रश्न उठेकाले समितिमा नरहने जानकारी गराएका थिए । उपसमितिको नयाँ संयोजक चयन गर्ने बैठकमा एमाले सांसद भट्टराई र रास्वपा सांसद झा भने अनुपस्थित थिए ।