© 2026
बुटवल, ४ जेठ । श्री सैनिक उच्चशिखर शिक्षालय, कैसाड्गले आफ्नो ५० औं वार्षिकोत्सवको अवसरमा वातावरण संरक्षणको अभियानका साथ दिने गरि थोराङ्ग पास क्षेत्रको सफाइ गरेको छ । शिक्षालयमा सञ्चालन भईरहेको सि.सं. ६३ हाई अल्टिच्युड तथा माउण्टेन वारफेयर आधारभूत तालिमका शिक्षक, शिक्षार्थी तथा बन्दोवस्ती टोलीले तालिमको अन्तिम बाहिरी अभ्यासका क्रममा थोराङ्ग फेदीदेखि मुक्तिनाथसम्मको यात्रामा थोराङ्ग पास ईलाकामा छरिएर रहेका करिब ३५० के.जी. (३७ बोरा) फोहोर संकलन गरेका हुन् ।
एक औपचारिक समारोहका बीच शिक्षालयका शिक्षाधिकृत महासेनानी खेमराज शर्माले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एसिएपी) जोमसोम, मुस्ताङ्गका कार्यालय प्रमुख राजेश गुप्तालाई सङ्कलित फोहोर हस्तान्तरण गरेका छन ।
कार्यक्रममा महासेनानी शर्माले सैनिक शिक्षालयले शारीरिक, मानसिक र सैनिक तालिमसँगै प्रकृति संरक्षण र सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले देशको दुर्गम भेगमा पुगेर अभ्याससंगै ती क्षेत्रहरूलाई सफा र सुरक्षित राख्नु सबैको कर्तव्य भएको बताए । शिक्षालयबाट आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एसिएपी) का कार्यालय प्रमुख राजेश गुप्ताले सफाइ अभियानप्रति आभार व्यक्त गर्दै यस्ता प्रयासहरूले पर्यावरणीय सन्तुलन कायम राख्न र पर्वतीय पर्यटनलाई टिकाउ बनाइराख्न ठुलो योगदान दिने बताए । ५० औं वार्षिकोत्सवको अवसरमा गरिएको यस प्रकारको कार्यक्रमले सैनिक उच्चशिखर शिक्षालयको समाजप्रतिको संवेदनशीलता, अनुशासन र नेतृत्व क्षमताको स्पष्ट झलक दिएको छ ।