© २०२३
काठमाडौं ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउने तयारी भइरहेको भन्दै त्यसको पछाडि जातीय विभेद रहेको दाबी गरे। सिंहका अनुसार रानामगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने योजनामा सत्तारुढ दलहरू लागिपरेका छन्।
सांसद सिंहले रानामगर जनजाति महिला भएकै कारण हटाउने तयारी गरिएको बताए। उनले यसअघि पनि जनजाति र मधेसी पहिचान भएकै कारण थुप्रै पात्रहरू अन्यायमा परेको उदाहरण प्रस्तुत गरे। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु, कान्छाराम तामाङलाई ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीबाट हटाउनु, र मधेसी समुदायकी डा. सङ्गीता कौशललाई सिनियर भए पनि स्वास्थ्य सचिव नबनाउनु जातीय विभेदकै उपज भएको उनको तर्क छ।
सिंहले कांग्रेसलाई “जनजाति, मधेसी र थारु विरोधी” भएको आरोपसमेत लगाउँदै सत्ता संरचनामा समावेशीता र न्याय सुनिश्चित नगरेसम्म लोकतन्त्रको सार्थकता नहुने चेतावनी दिए।