काठमाडौं, ३१ वैशाख ।
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संघीय सरकारलाई विकास निर्माणका कामहरू प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले विकासको जिम्मेवारी केन्द्र सरकारको होइन भन्ने तर्क गरे। राउतले सडक, ढलानजस्ता स्थानीयस्तरका विकास कार्यहरू संघीय सरकारले गर्ने होइन, बरु प्रदेश र स्थानीय तहलाई जिम्मा दिई समन्वय मात्र गर्नुपर्ने बताए।

उनले भने, “अब विकासकारी हस्तान्तरणको सिद्धान्त लिनुपर्छ। फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन।” अध्यक्ष राउतले आगामी बजेटमा ‘लोभ नगरी’ सम्पूर्ण विकास कार्य प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने नीति लिनुपर्नेमा जोड दिए।
त्यसैगरी, उनले ‘जनता आवास कार्यक्रम’ प्रति पनि प्रश्न उठाउँदै यो कार्यक्रमले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए। सिंहदरबारबाट नागरिकमैत्री सेवा दिन नसकिने कुरा व्यवहारमै पुष्टि भइसकेको उल्लेख गर्दै उनले बजेट जनताको वास्तविक समस्या समाधानमुखी हुनुपर्ने धारणा राखे।



