© २०२३
काठमाडौं, २९ वैशाख ।
वसन्त ऋतुको सगरमाथा आरोहण सिजन जारी रहे पनि प्रतिकूल मौसमले ठूला हिमाल चढ्ने तयारीमा रहेका आरोहीहरू बाध्यतापूर्वक पर्खनु परेको छ। तीव्र हावाहुरी र खराब मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घालगायतका हिमालहरूमा आरोहण रोकिएको छ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार, सगरमाथामा आज हुने भनिएको आरोहण तीव्र गतिको हावाले प्रभावित भयो। “चौथो शिविरसम्म पुगेका आरोहीहरू अहिले आधार शिविरतर्फ झरिरहेका छन्,” गौतमले बताए।
सगरमाथाको आधार शिविरमा रहेको विभागको फिल्ड प्रतिनिधि पासाङ भोटेले मे १४ र १५ तारिखका लागि तय भएका आरोहण योजना रद्द गरिएको जानकारी दिए। मौसममा सुधार नभए आगामी तीनदेखि चार दिनसम्म सगरमाथा आरोहण नहुने निश्चितजस्तै भएको छ। विभागका अनुसार यदि मौसमले साथ दियो भने मे १८ बाट पुनः आरोहण सुरु हुन सक्छ।
एटके एक्सपिडिसन कम्पनीका अनुसार, यो सिजनमा सर्वाधिक आरोही मे ११ देखि १४ बीच सगरमाथाको चुचुरोमा पुग्ने अनुमान गरिएको थियो। ‘समिट विन्डो’ भनिने सो अवधिमा मौसम सहुलियत हुने अपेक्षा गरिएको थियो, तर पाँच दिन अघिदेखि नै मौसम प्रतिकूल भएपछि धेरै योजनाहरू प्रभावित भएका छन्।
हालसम्म सगरमाथाको डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सकिएसँगै चार समूहले मात्र सफलतापूर्वक सगरमाथा चढेका छन्। मे १० मा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले, र मे ११ मा बेलायतका मिचेल लियोनार्ड डाक्रे, नेपाली ग्याल्जे शेर्पा, फुरी शेर्पा, आङ पेम्बा शेर्पा र इक्वेडरका पेट्रिसियो एरेभालोले सफल आरोहण गरेका थिए। दावा फुञ्जोले सोही दिन लोहत्से हिमाल पनि चढेका छन्।
यस सिजनको सगरमाथा आरोहण वैशाख २६ गतेबाट सुरु भएको हो। एटके एक्सपिडिसनको सात सदस्यीय शेर्पा टोलीले त्यस दिन साँझ सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको बाटो खोलेका थिए।
पर्यटन विभागका अनुसार वसन्त सिजनका लागि हालसम्म १,१२७ जनाले २६ वटा हिमालका लागि आरोहण अनुमति लिएका छन्। तीमध्ये सबैभन्दा धेरै ४५६ जना सगरमाथा आरोहणमा सहभागी छन्।