© २०२३
काठमाडौं, २८ वैशाख ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले विभिन्न सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए, जसमा सबै प्रस्ताव अस्वीकृत भएपछि मूल नीति तथा कार्यक्रमलाई ध्वनी मतका आधारमा पारित गरिएको हो।
यो नीति तथा कार्यक्रम गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए। त्यसपछि २२ वैशाखदेखि प्रतिनिधिसभामा यसमाथि औपचारिक छलफल सुरु भएको थियो, जुन शुक्रबार सम्पन्न भएको थियो।
बैठककै अर्को सत्रमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) संसद्मा प्रस्तुत गरेका छन्। अब वैशाख ३० गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा औपचारिक छलफल सुरु हुनेछ।
नेपालको संविधानअनुसार, प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने प्रावधान छ।