Butwal Today

शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिंदै सामाजिक विकास मन्त्रालय

२६ बैशाख २०८२, शुक्रबार
अ+
अ-

दाङ-

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर सुधारलाई प्रमुख प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नीति तथा कार्यक्रम संग जाेडिएकाे बिषयमा नेपाल शिक्षक महासंघ, विभिन्न शिक्षक संघसंगठन, विश्वविद्यालयका प्रमुख तथा प्रतिनिधिहरू, र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला पक्षसँग शुक्रबार राप्ती उपत्यका(देउखुरी)मा विस्तृत छलफल गरेका हुन ।

मन्त्री तिमिल्सिनाले गुणस्तरीय शिक्षा प्रदान गर्न नीतिगत स्पष्टता आवश्यक भएकाले सरकारले त्यसमा विशेष ध्यान दिने बताए । उनले सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्ने लक्ष्यसमेत नीति तथा कार्यक्रममा राखिने जानकारी दिए । उक्त छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव वसन्त प्रसाद कोइराला, लुम्बिनी प्रदेशका पेशागत शिक्षक संघ, संगठन तथा पब्लिक क्याम्पसका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

छलफलको क्रममा २०८२/०८३ को नीति तथा कार्यक्रमसम्बन्धी विषयमा सुझावहरू संकलन गरिएको थियाे ।