© २०२३
काठमाडौं ,२६ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पाकिस्तानमा उत्पन्न अस्थिर परिस्थितिका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै तिनको तत्काल उद्धारको माग गरेकी छन्। परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयलाई पत्र लेख्दै श्रेष्ठले पाकिस्तानका लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवललगायत सहरहरूमा एमबीबीएस अध्ययनरत ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका र उनीहरू हालको अवस्थाले त्रसित भएर नेपाल फर्कन चाहेको जानकारी दिएकी छन्।
श्रेष्ठको भनाइमा, विद्यार्थीहरूले ज्यानको सुरक्षाका लागि सहयोग माग्दै आफूलाई पत्र लेखेका छन्। ती विद्यार्थीहरूको अवस्थालाई गम्भीरतापूर्वक लिँदै उनले सम्बन्धित मन्त्रालयहरूले उद्धारको लागि अहिलेसम्म के योजना बनाएका छन् भन्नेबारे जानकारी माग गरेकी छन्। उनले इजरायलमा गरिएको जस्तै चार्टर्ड फ्लाइटमार्फत उद्धार गर्नुपर्ने भए कुन अवस्थामा गरिने, र यदि नेपाल फर्काउन नसकिने अवस्था भएमा उनीहरूलाई सुरक्षित क्षेत्रमा राख्ने व्यवस्था कस्तो बनाइनेछ भन्ने प्रश्नहरू पनि उठाएकी छन्।
उक्त पत्रमा सांसद श्रेष्ठले उद्धारको पहल तत्काल सुरु गर्न र त्यससम्बन्धी तयारीबारे पारदर्शी जानकारी दिन आग्रह गरेकी छन्, ताकि असहाय अवस्थामा परेका विद्यार्थीहरूलाई समयमै सहयोग गर्न सकियोस्।