© २०२३
लुम्बिनी, २४ बैशाख ।
पाँच अंकको पाँच दुर्लभ संयोगमा परेको मिति र समयमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पूजाआजा र प्रार्थना गरिएको छ । पाँच वटा पाँच अर्थात सन् २०२५ मे महिना (पंच), ५ तारिख, विहान ५ बजेर ५ मिनेटको पवित्र संयोग जुराएर बुद्धको जन्मस्थल मायादेवी मन्दिर र अशोक स्तम्भअघि विषेश पूजाआजा गरिएको हो ।
थाई ह्यून डिउ पिस फाउण्डेशनद्वारा आयोजित पूजाआजामा विहान साढे ४ बजे लुम्बिनी स्थित भियतनाम विहारबाट बुद्ध प्रतिमालाई डोलीमा सजाएर चार जनाले बोकेर मायादेवी मन्दिर लगिएको थियो । त्यहाँ बिहान ५ बजेर पुगेर ५ बजेर ५ मिनेटमा पूजाआजा सुरु गरिएको थियो । टिएचडी पिस फाउण्डेशनका संस्थापक भियतनामी प्रतिष्ठित बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) पूजाआजा गराएका थिए । पूजाआजा गर्दा म्यानमारमा शान्ति बहाली र विश्व शान्तिको कामना गरेको बताए । यो ५ अंकको संयोगमा पूजाआजा गर्न भियतनामबाट ५० जना उपासक उपासिका आएका थिए ।
उक्त अवसरमा टिएचडी पिस फाउण्डेशनद्वारा लुम्बिनी स्थित भियतनाम फुओक तु विहारमा विश्व शान्तिः नेपालको शान्ति प्रक्रियाबाट प्रेरित विषयमा शान्ति सम्मेलन गरिएको थियो । उक्त अवसरमा भियतनामी प्रतिष्ठित बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) ले कुनै बेला हिंसा र द्वण्द्वमा फसेको नेपालबाट विश्वले नै शान्तिको शिक्षा लिन सक्ने सन्देश सहित शान्ति सम्मेलन गरिएको बताए ।