© २०२३
बुटवल, २२ बैशाख ।
बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयकको कामले तिव्रता पाएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको हो । आगामी १५ असारभित्र ऐन जारी गर्ने गरी सरकारले शिक्षक महासंघसँग सहमति भइसकेको छ । सोही अनुसार विधेयकको दफावार द्रुत गतिमा छलफल भएको हो ।
उपसमितिको समय र दफावार छलफल पनि सकिएको र उपसमितिले प्रतिवेदन लेखिरहेको समितिको सचिवालयले जनाएको छ । प्रतिवेदनसँगै उपसमितिले पास गर्ने सचिवालयको भनाइ छ । प्रतिवेदन लेख्नका लागि केही समय आवश्यक पर्ने भएकाले थप गर्ने तयारी छ । सोमबार समितिको बैठक बोलाइएको छ । सो बैठकमा प्रतिवेदन लेख्नका लागि केही समय माग गर्ने उपसमितिको तयारी छ ।
समितिका अनुसार विधेयकको दफा दफामा धेरै हेरफेर भएको छ । दफालाई हेरेर प्रतिवेदन बनाउन र पास गर्न केही समय माग गर्ने तयारी छ । सोमबारको समिति बैठकमा उपसमितिले अहिलेसम्म भएको प्रगति विवरण पेस गर्ने तयारी छ । विधेयकमा १६३ दफा छ । १ हजार ७५८ वटा संशोधन थियो । समितिले ७ प्रदेशको प्रतिवेदन पनि तयार पारेको थियो । विधेयक, संशोधन, प्रतिवेदन र विज्ञहरूको सुझावलाई एकीकृत गरेर उपसमितिले दवाफार छलफल गरेको हो ।